भूकम्पीय सुरक्षामा ध्यान देऊ «

भूकम्पीय सुरक्षामा ध्यान देऊ

नेपाल भूकम्पीय जोखिमका दृष्टिले विश्वकै सर्वाधिक संवेदनशील राष्ट्रहरूमा पर्ने तथ्य विश्वका भूगर्भविदहरूले पटक–पटक औंल्याउँदै आएका छन् । २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका असरहरू आमनेपालीले अझै बिर्सेका छैनन् । भूकम्पले क्षति पुर्याएका साढे ८ लाख आवासमध्ये अहिलेसम्म एकतिहाइ पनि निर्माण भएका छैनन् । सार्वजनिक सम्पदाहरू त कहिले निर्माण हुने हो कुनै ठेगान छैन । पुनर्निर्माणकै उद्देश्यले गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफ्नै राजनीतिमा अलमलिएको छ । विनियोजित बजेटमध्ये ठूलो अंश प्रशासनिक खर्चमै सकेको प्राधिकरणले वास्तविक पुनर्निर्माणका लागि प्रभावकारी भूमिका निर्वाह नै गर्न सकेको छैन । यदि अन्तर्राष्ट्रिय प्रक्षेपणहरूलाई विश्वास गर्ने हो भने चार वर्षका लागि भनेर गठन भएको पुनर्निर्माण प्राधिकरणको कार्यवधि सम्पन्न नहुँदै नेपालमा अर्को भयावह भूकम्प जाने जोखिम छ । भारतीय र युरोएसियन टेक्नोनिक प्लेटका बीचमा रहेको नेपालको सतहमुनि भइरहेका दुई जमिनी घर्षण न रोकिएको छ, न त रोकिने कुनै सम्भावना नै छ । सोही कारण नेपालमा औसतमा चार रेक्टर स्केलमुनिका भूकम्पहरू गइ नै रहन्छन् भन्ने भूगर्भविदहरूको भनाइ छ । दुई टेक्टोनिक प्लेटमध्ये युरो–एसियन प्लेट स्थिर रहेको र भारतीय प्लेट उत्तरतिर सर्ने क्रम जारी रहेसँगै जमिनमुनि सञ्चित हुने ऊर्जा बाहिरिनका लागि पनि ससानो भूकम्प गइरहनुपर्ने वैज्ञानिकहरूको भनाइ छ, त्यो ऊर्जाको अधिक सञ्चिति हुँदा एकै पटक बाहिरिने क्रममा नै ठूलो भूकम्प जाने हो ।
नेपालको पोखरापश्चिम र देहरादूनपूर्वको भूभागमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले त्यस क्षेत्रमा ठूलो भूकम्पीय ऊर्जा जम्मा रहेको वैज्ञानिकहरूले पटक–पटक बताइरहेका छन् । अर्को एक अध्ययनले दुई वर्षअघि नेपालमा गएको भूकम्पका क्रममा सञ्चित ऊर्जा पूरै बाहिरिइ नसकेका कारण अझै ठूलो भूकम्पको जोखिम रहेको देखाएको छ । चाहे जुनसुकै कारणले होस्, नेपाल सदैव भूकम्पीय जोखिमभित्रै रहेको छ । ०७२ वैशाखको भूकम्प गएको केही समय नेपालमा भूकम्पीय जोखिमबारे केही समय छलफल भएजस्तो देखिए पनि अहिले पुनः यसबारेका चर्चा–परिचर्चा कम भएका छन् । सरकारले समेत तत्कालै अब बन्ने नयाँ भवनहरूका लागि नयाँ मापदण्ड तोकेजस्तो गरे पनि त्यसको पालना भए–नभएको बारे अनुगमन नहुँदा रातारात कमजोर भवनहरू निर्माण गरेर बिक्री गर्ने क्रम बढेको छ । टुँडिखेल, खुलामञ्चजस्ता खुला क्षेत्र मासेर भौतिक पूर्वाधार निर्माण गर्ने क्रम तीव्र भएको छ ।
ताजा अध्ययनले काठमाडौंमा ७.८ रेक्टर स्केलको भूकम्प गए व्यापक जनधनको क्षति हुने देखाएको छ । भूकम्पीय क्षतिलाई रकममा मात्र आकलन गर्न सकिँदैन, मानवीय क्षतिले पार्ने असर निकै गम्भीर रहने गरेको दुई वर्षअघिको भूकम्पको अनुभवले नै देखाइसकेको छ । भूकम्पीय कारणले उत्पन्न हुने सबै किसिमका जोखिमबाट बच्नका लागि पूर्वसावधानी अपनाउनैपर्छ । तत्काल चोट लागेपछि गरिने उपचारभन्दा चोट लाग्न नदिने विधि नै सबैभन्दा प्रभावकारी उपाय हो । भूकम्प कहिले र कसरी जान्छ भनेर पूर्वप्रक्षेपण गर्ने विधि अहिलेसम्म विकसित भइनसकेको अवस्थामा भूकम्पबाट हुने क्षतिबाट बच्नका लागि खुला स्थानको प्रबन्ध गर्नेदेखि तत्कालीन उद्धारका लागि गर्नुपर्ने व्यवस्था र निकासका लागि अहिले नै पहल गरिहाल्नु अत्यावश्यक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्