Logo

साउदी अरब र कतारसँग श्रम सम्झौताको तयारी

काठमाडौं– नेपालको प्रमुख श्रम गन्तव्य साउदी अरब र कतारसँग विश्वको पछिल्लो श्रम आप्रवासन चक्रलाई आधार बनाएर श्रम सम्झौता गरिने भएको छ । आइतबार दुबईमा सम्पन्न अबुदाबी संवादका क्रममा दुई देशसँग परिस्कृत श्रम सम्झौता गर्ने विषयमा छलफल भएको हो ।

कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले कतार र साउदी अरबका समकक्षीसँग छलफल गरेपछि श्रम सम्झौता गर्ने विषय टुंगो लागेको हो । कार्यक्रममा श्रममन्त्री भण्डारी र कतारका श्रममन्त्री डा. अलि बिन समिख अल मारीबीच साइडलाइन मिटिङका क्रममा सम्झौता गर्ने विषयमा छलफल भएको हो ।

भेटका क्रममा कतारका अमिरको नेपाल भ्रमणको समयमा हस्ताक्षर हुने गरी श्रम समझदारीपत्र तयार गर्ने एवं सन् २००३ को द्विपक्षीय श्रम सम्झौतामा सीप साझेदारी तथा श्रमिकहरुको हकहित र सुरक्षाका विषयवस्तु थप गर्न दुवै देशले अनलाइन कन्सल्टेसन गरी छिट्टै टुंगो लगाउने विषयमा छलफल भएको छ ।

यसैगरी, कतारी पक्षबाट घरेलु कामदारका लागि पर्याप्त सुरक्षाका व्यवस्था रहेको जनाउँदै भाषा र सीप सिकाएर सम्मानित रुपमा मात्र पठाउन तालिम प्रदान गर्ने कार्यमा सहकार्य गर्ने आश्वासन दिएको श्रम मन्त्रालयका सहायक प्रवक्ता दीपक ढकालले जानकारी दिए ।

यसैगरी श्रममन्त्री भण्डारी र साउदी अरेबियाका मानव संशाधन तथा सामाजिक विकास मन्त्री ई. अहेमद बिन सुलाइमान अल राझीबीचको छलफलमा नेपाल र साउदी अरेबियाबीच प्रस्तावित श्रम सम्झौतापत्रलाई अन्तिम रुप दिई एक महिनाभित्र हस्ताक्षर गर्ने अवस्थामा पुर्‍याउने छलफल भएको छ । साउदी अरेबियाबाट सीपमुलक जनशक्ति उत्पादनका लागि तालिम केन्द्र स्थापना गर्न हालै प्राप्त सहयोगलाई निरन्तरता दिने एवं भाषा र सीप जानेका श्रमिक उत्पादनमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

कफाला प्रणाली निरुत्साहन, विभिन्न कारणले मृत्यु भएका श्रमिकको शव छिट्टै नेपाल फिर्ता पठाउने, सप्लाई कम्पनीमा गएर काम नपाउने अवस्था निरुत्साहित गर्नेलगायतका विषयमा छलफल भएको छ । सो अवसरमा श्रममन्त्री भण्डारी तथा फिलिपिन्सका श्रम मन्त्रीबीच एक अर्काका वैदेशिक रोजगार प्रणालीका असल अभ्यास, सिकाई तथा अनुभव साटासाट गरेका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै श्रममन्त्री भण्डारीले युवा लक्षित उपयुक्त कार्यक्रममार्फत सीपमुलक रोजगारमा जोड दिने बताए । लचिलो श्रम नीतिमार्फत श्रम बजारमा लैंगिक समता प्रवर्द्धन गर्न जरुरी रहेको भन्दै उनले श्रम बजार सूचना प्रणाली स्थापनामार्फत सूचना आदान प्रदान गर्ने व्यवस्था मिलाउन सहभागी सबै मुलुकलाई आह्वान गरे ।

रोजगारदाता तथा श्रमिक दुवै पक्षका आवश्यकता सम्बोधन गर्ने गरी विद्यमान नेपालको श्रम नीति पुनरावलोकन गर्ने कार्य भइरहेको विषयमा जानकारी दिँदै श्रम बजारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेका सरकारी तथा गैरसरकारी संस्थाबीच विश्वासिलो वातावरण सिर्जना गरी सुमधुर सम्बन्ध स्थापना गर्न आवश्यक रहेको बताए । श्रमिकको न्यूनतम ज्यालाको प्रत्याभूति दिनेतर्फ अबुदाबी डाइलगले प्रतिबद्धता जनाउनु पर्ने उनले धारणा राखे ।

डाइलगमा नेपालले सदस्य राष्ट्रहरुबीच नेटवर्किङ कायम गर्ने र साझा सिकाई प्रवर्द्धन गर्दै श्रम बजार बढी दक्ष र उत्पादनमुलक बनाउँदै भविष्यमा प्राप्त हुनसक्ने सम्भावना एवं आधुनिक प्रविधिलाई आत्मसात गर्नसक्ने गरी दक्ष जनशक्ति तयार गर्न निश्चित कार्ययोजना तयार गरी फोरममार्फत सदस्य राष्ट्रहरुलाई आह्वान गरेको छ ।

अबुधावी संवाद श्रम बजार प्रवृत्ति, सीप प्रोफाइल, कामदार र रेमिट्यान्स नीति र प्रवाह, र विकासको सम्बन्धमा ज्ञानको विकास र साझेदारी, श्रम आपूर्ति र मागको थप प्रभावकारी बनाउन क्षमता निर्माण गर्ने लक्ष्य आयोजना गरिँदै आएको छ । यसैगरी अबुधावी संवादमा अवैध भर्ना रोक्ने र करारमा काम गर्ने कामदारको कल्याण र सुरक्षा उपाय प्रवर्द्धन गर्ने विषयमा छलफल गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्