मुगुका किसानलाई स्याउ बगैंचा काँटछाँटको चटारो

मुगु– मुगुका स्याउ किसान अहिले बिरुवा काँटछाँट गर्ने चटारोमा छन् । माघ–फागुन स्याउका बिरुवा काँटछाँट गर्ने उपयुक्त समय हो । अहिले बिरुवा काँटछाँट नगरे पछि स्याउ धेरै फल्ने, साना दाना लाग्ने र धेरै फल झर्ने भएको हुनाले मुगुका किसान बगैंचामा बिरुवा काँटछाँटमा व्यस्त देखिन्छन् ।
फागुन महिनाको दोस्रो सातापछि स्याउका बिरुवामा पालुवा र कोपिला लाग्न थाल्छ । त्यसघि नै बोटमा निस्किएका बाक्ला हाँगा, अनावश्यक देखिएका हाँगा काट्नुपर्ने हुन्छ । मुगुको स्याउ पकेट क्षेत्र मानिएका ताल्चा, पिना, कालापाल्त, मैथु, पाथरखोला, तुम, घट्टलेख, शोभा, रोवा, बाम, सोरुकोट, खमाले लमेरा तथा सेरीजामका किसानलाई अहिले धमाधम छ । उनीहरु बिहानदेखि बेलुका साँझसम्मै स्याउ बगैंचामा बिरुवा काँटछँट, निलोतुथो, चुना लगाउनमा व्यस्त देखिन्छन् ।
‘पहिला कोदो, जै, गहुँ, तरकारी खेती गरियो तर बालबच्चा र घर चलाउन निकै समस्या भएपछि स्याउतिर लागियो । पछिल्लो समय सडक सञ्जाल जोडिएपछि स्याउको माग बढेको छ । त्यसैले पुरानो सबै खेती छोडेर स्याउमा व्यस्त छौं । घर खर्च र छोराहरुको पढाईलेखाई यही स्याउ खेतीले धानेको छ,’ छायानाथ रारा नगरपालिका–४ ताल्चाकी कृषक मायादेवी भामले भनिन्, ‘बगैंचामा ३ सयभन्दा बढी स्याउ फल्ने बिरुवा रहेका छन् । बिहान बेलुका बिरुवालाई सुरक्षा दिने, काँटछाँट गर्ने, निलोतुथो र चुना लगाउने काममा व्यस्त छौं ।’
अर्की किसान बिस्नुमाया रोकायाले आफ्नो बगैंचामा ५ हजार स्याउका बिरुवा रहेको र आफू त्यसकै काँटछाँटमा व्यस्त रहेको बताइन् । ‘घरमा अन्य सबै खेती छोडीसकेका छौं । यही स्याउ खेतीमा १३–१४ वर्ष बितीसक्यो । छोराछोरी भनेका पनि यही स्याउका बिरुवा हुन् । बिरुवाले फल दिएपछि हामीले खाना खानु छ । फल नदिए जीवन जिउन समस्या आउँछ,’ उनले भनिन्, ‘गत वर्ष धेरै हिउँ पर्नाले स्याउका बिरुवालाई सिँचाइमा कुनै समस्या परेको थिएन । यो वर्ष हिउँ कम आउनाले सिँचाइमा समस्या भएको छ । सबैभन्दा बढी समय स्याउका बिरुवा सुरक्षामा नै बित्ने गरेको छ ।’
छायानाथ रारा नगरपालिका–६ का कुसलाल कुलालले धेरै वर्ष भारतको हिमाचल प्रदेशमा स्याउ सम्बन्धि काम गरेर अहिले आफ्नै देशमा खेती गरिरहेको बताए । ‘अर्काको देशमा कुनै हक अधिकार नहुने भएको हुँदा भारतमा सिकेको सिप आफ्नै जिल्ला गाउँघरमा गर्नुपर्छ भन्ने हिसाबले अहिले स्याउ खेतीतिर लागेको छु,’ उनले भने । पछिल्लो समय मुगुमा धेरै कृषकहरुले स्याउ खेती गरे पनि प्राविधिक ज्ञान नहुनाले निकै समस्या भएको देखिन्छ ।
जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख चन्द्रबहादुर शाहीले भने, ‘बगैंचामा हामीले प्रत्येक वर्ष बिरुवा काँटछाँट गर्नुपर्ने हुन्छ । बिरुवालाई पहिलादेखि मलजल र गोडमेल गर्नुको साथै विभिन्न प्रजातिका किरा रोग लाग्ने भएको हँुदा यसबाट बच्नुपर्ने हुन्छ । स्याउका बिरुवा काँटछाँट गर्दा कुन बिरुवाको हाँगो कसरी काट्ने भन्ने तरिका सिकाइरहेका छौं ।’
प्रधानमन्धी कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुगुका प्रमुख तजबिक्रम मल्लले नराम्रो धेरै फल लाग्नुभन्दा राम्रो थोरै फलले राम्रो आम्दानी दिन सक्ने भएकोले स्याउको सुरक्षाको लागी कृषकहरुले निकै ध्यान दिनुपर्ने बताए ।
अनुदानले लाभान्वित
सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन् । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकताभन्दा बढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको थियो ।
छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँ पालिकामा कम्तीमा ३० बोटदेखि तीनसय बोट स्याउ लगाउनेसम्मका किसान छन् । स्याउ उत्पादनमा क्षति भए पनि किसानले बीमाबापतको रकम भुक्तानी पाएपछि राहत महसुस गरेका हुन् । पछिल्लो समय स्याउ उत्पादन गर्नेदेखि अन्य किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको छ । स्याउ फुल्ने समयमा छाँयानाथ रारा नगरपालिकाभित्रका ताल्च, कालापाल्त, पिना, बाम, तुम, शोभा, रोवा, घट्टलेख, छैला, चिमाथलगायत विभिन्न क्षेत्रका किसानले स्याउको बीमा गराइसकेका छन् ।
बीमा गराउनेमा उक्त क्षेत्रका पाँच सय ४७ किसान रहेका तथ्यांक छ । स्याउखेती बीमाअन्तर्गत सरकारले किसानलाई ८० प्रतिशत अनुदान दिँदै आएको छ । बीमाको अवधि एकवर्ष हुन्छ किसानले आफ्नो स्याउका बोटको बीमा अवधि सकिएपछि पुनः बीमा गर्नुपर्ने हुन्छ ।