३ महिनादेखि विद्युत् सेवा अवरुद्ध «

३ महिनादेखि विद्युत् सेवा अवरुद्ध

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३ महिनादेखि विद्युत् आपूर्ति सेवा बन्द भएको छ । नगरको वडा नम्बर ७ मा रहेको लापुरीखोला लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा समस्या भएपछि विद्युत् आपूर्ति सेवा बन्द भएको हो ।
८५ वाट विद्युत् उत्पादन क्षमता रहेको हाइड्रोपावरले कम्पनीसँग पटकपटक मर्मतका लागि आग्रह गर्दासमेत मर्मतको काम नभएको वडाध्यक्ष इन्द्रलाल शर्माले जानकारी दिए । एचए कम्पनीले उपभोक्ता समितिलाई विद्युत् हस्तान्तरण नगरेका कारण अन्य कम्पनीबाट बिग्रेको सामान किन्न र मर्मतका लागि जनशक्ति बोलाउन आफूहरूलाई कठिन भएको उनको भनाइ छ । नेपालीहरूको महान चाड विजयादशमी तथा शुभदीपावली नजिकिँदै गर्दा समेत विद्युत् आपूर्ति सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । ७ सय ग्राहक संख्या रहेको लघुजलविद्युत् आयोजनाबाट नगरको वडा नम्बर ६ घर्तीकाँडा, वडा नम्बर ७ को नार्जी खत्रीगाउँ कुमाईगाउँ, वडा नम्बर ८ को वसीगाउँ सोतीखोला, गेस्मा र वडा नम्बर ९ को कोटजहारी गुर्तालगाउँमा विद्युत् आपूर्ति हुँदै आइरहेको थियो ।
विद्युत् आपूर्ति सेवा अवरुद्ध भएसँगै यस क्षेत्रका व्यापार व्यवसायी एवं सर्वसाधारणलाई मोबाइल चार्ज गर्नदेखि सञ्चारका माध्यम प्रयोग गर्न र उद्योगधन्दा चलाउन समस्या भएको छ । हाइड्रोपावरमा बिग्रेको उक्त सामान किन्न साढे २ लाख रकम लाग्ने उपभोक्ता समितिले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्