नयाँ श्रमिक संख्या २१ प्रतिशतले घट्यो «
Logo

नयाँ श्रमिक संख्या २१ प्रतिशतले घट्यो

फाइल तस्बिर ।

काठमाडौं– नयाँ श्रमिक संख्या २१ प्रतिशतले घटेका छन् । पुरान श्रम गन्तव्यबाट माग कम हुन थालेपछि नयाँ श्रमिक संख्या घटेको हो । वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रमिकको संख्या वृद्धि हुन नसक्दा रेमिटेन्स आयमा असर पर्ने सम्भावना बढेको छ । सरकारी तथ्यांकमा वैदेशिक रोजगारीमा जानेमध्ये ६५ प्रतिशत श्रमिक मात्र नयाँ श्रम स्वीकृति लिएर जाने गरेको पाइएको छ ।

वैदेशिक रोजगारीमा जानेमध्ये ३५ प्रतिशत पुराना श्रमिक रहने गरेका छन् । चालु आवको ६ महिनामा ३ लाख ४३ हजार युवाले श्रम स्वीकृति लिएकोमा २ लाख ९ हजार मात्र नयाँ श्रमिक रहेको पाइएको हो । विगत ६ महिनामा १ लाख ३४ हजार श्रमिक बिदा मनाएर पुनः प्रवेश गरेका थिए । गत आवको पहिलो ६ महिनामा २ लाख ६६ हजार नयाँ श्रमिक वैदेशिक रोजगारी गएका थिए । यो संख्या चालु आवमा आउँदा ५७ हजारले घटेको छ ।

पुराना श्रमिकको रेमिटेन्स प्रवाहमा भूमिका हुने भए पनि वृद्धिदरमा योगदान हुँदैन । नयाँ श्रमिकको संख्या जति बढ्यो रेमिटेन्स वृृद्धि दर त्यती नै बढी हुने गर्छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढी देखिए पनि रेमिटेन्स सो अनुसार वृद्धि हुन सकेको छैन । वैदेशिक रोजगार विभाग ताहचल कार्यालयका निर्देशक लोकनाथ भुसालले वैदेशिक रोजगारी जाने श्रमिकमध्ये पुनः श्रम स्वीकृति लिनेको संख्या बढ्दो रहेको जानकारी दिए ।

पछिल्लो समय पुराना श्रम गन्तव्यबाट नयाँ श्रमिकको माग घटन थालेपछि विदेश जाने नयाँको संख्या घट्दो क्रम रहेको छ । कोभिडपछिको विश्वव्यापी आर्थिक मन्दीले नेपाल वैदेशिक रोजगारीको नयाँ माग बढन सकेको छैन । मेनपावर व्यवसायीहरूले समेत पछिल्लो समय नयाँ माग कम आउने गरेको गुनासो गर्दैं आएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङ कोभिडपछि उकालो लागेको वैदेशिक रोजगारको माग हाल आएर घट्दै गएको बताउछन् ।

उनका अनुसार नयाँ श्रम गन्तव्यको खोजी गरेर खाडी तथा मलेसिया केन्द्रित नेपालको वैदेशिक रोजगार युरोप केन्द्रित बनाउनु पर्ने समय आएको छ । नेपालबाट जाने अधिकांश नयाँ श्रमिक मेन पावरमार्फत जाने गरेका छन् । मेनपावरले लिने सेवा शुल्कमा देखिएको विवादका कारण मेनपावरले नयाँ माग ल्याउन सकिरहेका छैनन् । मेनपावर कम्पनीलाई नयाँ माग ल्याउन सेवा शुल्कको विवाद मिलाउने पर्ने देखिएको छ ।

गत आवको ६ महिनामा मेन पावरमार्फत २ लाख ३२ हजार युवा वैदेशिक रोजगारीमा गएकोमा चालु आवको सो अवधिमा १ लाख ५८ हजार नयाँ युवाले मात्र वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका थिए । विदेश जाने नयाँ श्रमिकको संख्या घटेर पुराना श्रमिको संख्या बढ्दा यसको असर रेमिटेन्स वृद्धिमा देखिने गरेको छ । विगत २ आवको तथ्यांकले वर्षेनी ७ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगार गएको देखिए पनि सो संख्याको आधारमा रेमिटेन्स नआउनुले नयाँ श्रमिकको संख्या घटदै गईरहेको आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्