स्थानीय तह विरुद्ध ५१ प्रतिशत उजुरी «
Logo

स्थानीय तह विरुद्ध ५१ प्रतिशत उजुरी

बुटवल– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा स्थानीय तह विरुद्ध ५१ प्रतिशत उजुरी परेको छ । आर्थिक अनियमितताको नाममा ती उजुरी परेका हुन् । गत आर्थिक वर्ष २०७९/८० मा देशभरबाट आयोगमा २८ हजार ७० उजुरी दर्ता भएका थियो ।

त्यसमध्ये ५१.४२ प्रतिशत स्थानीय तह विरुद्धका उजुरी रहेको अख्तियारको ३३ औं स्थापना दिवसको बताइएको हो । अख्तियारका बुटवल प्रमुख राजेन्द्रकुमार पौडेलले आयोगमा स्थानीय तह विरुद्धका उजुरी बढी आउने गरेको बताए । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा ३ हजार २५८ उजरी परेको थियो । लुम्बिनीको बुटवल र नेपालगन्जमा अख्तियारको कार्यालय रहेको छ ।

बुटवल कार्यालयमा गत आर्थिक वर्षमा कुल १ हजार ५३३ उजुरी रहेकोमा ६९.१४ प्रतिशत अर्थात् १ हजार ५१ उजुरी फस्र्योट भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जनप्रतिधि र राष्ट्रसेवक सबैले शुद्ध मनका साथ काम गर्नुपर्ने बताए । भ्रष्टाचार शून्य बनाउने सबैको प्रतिबद्धता हुनुपर्ने उनको भनाइ थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अख्तियारमा कतिपय उजुरी दुख दिने र रिसिबी साध्ने गरी पर्ने गरेको बताए ।

चौधरीले अख्तियारमा काम रोक्ने र दुख दिने नियतले पनि उजुरी पर्ने गरेको जानकारी दिए । ‘बदनाम गर्नको लागि उजुरी हाल्छन्,’ उनले भने,‘उजुरी पर्ने बित्तिकै काम रोक्नुभन्दा अघि जाँचबुझ गर्न म आग्रह गर्छु ।’ चौधरीले समय समयमा सरकार र प्रशासनको नेतृत्वकर्तासँग छलफल गर्न पनि आग्रह गरे ।

प्रदेश सभाका सभामुख तुलाराम घर्तीले अख्तियारले कतिपय निकायको छानबिन गर्न नसक्ने भन्दै यसको क्षेत्राधिकार विस्तार हुनुपर्ने धारणा राखे । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले कतिपय जनप्रतिनिधिले राम्रो काम गर्दा गर्दै पनि अख्तियार धाउनुपर्ने अवस्था आएको बताए । उनले यसबाट जनप्रतिनिधि र कर्मचारीको मनोबल खस्कने प्रतिक्रिया दिए ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले सानो कुरामा पनि उजुरी र मुद्दा पर्दा पालिकाका जनप्रतिनिधिले हैरानी बेहोर्नुपरेको गुनासो गरे । यसबाट जनप्रतिनिधिले केही गर्न खोज्दा कर्मचारीले अलमल गर्ने गरेको उनको भनाइ थियो । पाण्डेले अब पालिकाले गरेको शुसानको पनि अख्तियारले मूल्यांकन गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्