भूकम्पमा बिच्किएका मौरीबाट बनेका व्यवसायी «
Logo

भूकम्पमा बिच्किएका मौरीबाट बनेका व्यवसायी

दोलखा– भनिन्छ, कहिलेकाहीँ भाग्यमा छ भने जुराएर पनि ल्याउँछ । त्यस्तै भयो, दोलखा बैतेश्वर गाउँपालिका वडा नं. ४ का पोष्टबहादुर दाहाललाई । मौरी पाल्ने इच्छा थियो, तर मौरी भेटेका थिएनन् । केही मौरीका घर भने जम्मा गरेर राखेका थिए । २०७२ वैशाखको भूकम्प उनलाई मौरी किसान बन्ने आधार बन्यो । घरहरु भत्किए, अन्यत्र बिच्किएका मौरी दाहालले राखेका तिनै खाली घारमा आएर बसे ।

त्यसैबाट सुरु भयो उनको मौरी व्यवसायको यात्रा । गाउँघरमा प्रमोद नामले चिनिने पोष्टबहादुरको कुनै बेला मदिराले लट्ठ भएर जथाभावी बोल्ने र अत्यन्तै बिग्रिएको युवाको पहिचान थियो । तर जब मदिरा छाडे, अहिले मौरीका अब्बल किसान र सामाजिक कार्यकर्ताको रुपमा चिनिन्छन् । ‘मलाई मदिराको राम्रो अनुभव छ । १२ वर्षअघि देख्नेले अहिले जीवनमै काँचुली फेरेझैं भएको छ,’ उनले भने, ‘बिग्रिने र सप्रिने एउटा समय आउँदो रहेछ । मलाई व्यवसायले नै सुधार्‍यो ।’

पोष्टबहादुरले घरमा मौरी मात्र पालेका छैनन् । १५ वटा बाख्रा, स्थानीय जातका कुखुरा ५० भन्दा बढी पालेका छन् । जंगली जनावरको रुपमा चिनिने ३ वटा मृग समेत उनको गोठमा छन् । जंगलमा घाइते रुपमा रहेको मृगका पाठापाठी घरमा ल्याएर उपचार गरेर पालेका छन् । यि सबैको हेरचाहका लागि बिहान ५ बजे उठ्ने, घाँसपात, चारो हाल्ने र नजिकैको मैनापोखरी बजार पुगेर आवश्यक किनमेल गर्ने फर्कने उनको दैनिकी छ ।

हुन त मौरीको रहर अहिले मात्र होइन, स्कुल पढ्दा पनि एउटा मौरीको घार भेटेरै ल्याएर पालेका थिए । अहिले एपिसेराना जातका स्थानीय जातका मौरीका साढे ३ सय घार मौरी छन् । तेस्रो लटको मौरीका तालिम लिइसकेका छन् । यस वर्ष ५ सय केजी उत्पादन गरेका दाहालले यस वर्ष मौसमले पनि साथ दिएकाले उत्पादन अघिल्ला वर्षभन्दा बढेको बताए । मौरी पालन र घार निर्माणमा उत्कृष्ट किसानको रुपमा राष्ट्रपतिबाट पुरस्कृत समेत भइसकेका छन् ।

तालिम प्रशिक्षकको रुपमा विभिन्न जिल्ला पुग्छन् । गत वर्षदेखि लामो समय वर्षा भएकाले अहिले मह उत्पादन घटेको छ । ४० घार राम्रो मौरी हुने हो र त्यसको व्यवस्थापन राम्रो हुँदा सामान्य जागिरका लागि नेताको घर धाउनुनपर्ने उनको भनाइ छ । बजारमा महको माग उच्च छ । त्यसमा पनि कुनै पनि वस्तु नमिसाएको शुद्ध मह स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । महबाट विभिन्न रोगको प्राकृतिक उपचार पनि हुन्छ । त्यस्तो उपचार विधि सहितको तालिम लिएका दाहालको अबको लक्ष्य १ हजार घार मौरी पाल्ने र मौरीका माध्यमबाट विभिन्न रोगीको उपचार गर्ने छ ।

एक महिनाअघि दोलखा महोत्सव हुँदा उनले आफ्नो छुट्टै स्टलमा मह प्रदर्शनीमा राखे । १० दिन चलेको महोत्सवमा डेढ लाखको व्यापार गरे । त्यही महोत्सवका कारण आजभोली महको मागका दैनिक फोनहरु आउने गरेको बताउँछन् । मौरी पालनका लागि राज्यले पनि लगानी गर्दै आएको छ । स्थानीय तहले अनुदानमा किसानलाई मौरी अनुदान र तालिमको व्यवस्था गर्दै आएका छन् । दाहाल जस्तै व्यवसायिक मौरी पालन गर्ने किसानको संख्या भने कम छ ।

तर औषधीको रुपमा घरायसी प्रयोगको रुपमा महको माग उच्च छ । व्यवसायिक रुपमा काम गर्ने किसानहरुलाई भने सरकारी क्षेत्रबाट समेत सुविधा दिएको छ । परम्परागत रुपमा खोपामा पालिन्थ्यो भने अहिले व्यावसायिक रुपमा घार बनाएर पालिन्छ । माग उच्च हुने वस्तुमा मिसावटका कारण पनि यसको गुणस्तर घट्दै गएको छ । माग उच्च हुने मौरी पालन गर्ने किसानहरुलाई शुद्ध मह उत्पादन गराउनका लागि सरकारले पनि प्रोत्साहन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्