Logo

रोग नियन्त्रणपछि उत्पादन दोब्बर

एउटै वडा फल्यो १० करोडको सुन्तला

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका–१ पवटीकी निता प्रसाइँले यस वर्ष ५ लाखको सुन्तला बेचिन । १० रोपनी जग्गामा रोपिएका सुन्तला व्यापारीले बगैंचामै आएर एकमुष्ट खरिद गरे । यस वर्ष सुन्तलाबाट राम्रो आम्दानी भएपछि प्रसाइँ र उनको परिवार उत्साहित भएका छन् ।

निताको बगैंचाबाट गत वर्ष २ लाखको सुन्तला बिक्री भएको थियो । तर यस वर्ष दोब्बर बढी मूल्य पाएपछि बगैंचा विस्तारमा अहिलेदेखि नै निताको परिवार जुटेको छ । निता जस्तै यस वर्ष ५ लाखभन्दा बढीको सुन्तला बिक्री गर्ने यज्ञबहादुर कार्की, हेमबहादुर बस्नेत, रामशरण बुढाथोकी, सुब्बा बुढाथोकी, डिल्लीबहादुर खड्कालगायत छन् । उनीहरु पवटीमा सबैभन्दा ठूला बगैंचा भएका किसानसमेत हुन् । लामो समयदेखि सुन्तला उत्पादन गर्दै आएका स्थानीय शिक्षक महेन्द्र उप्रेतीले भने, ‘रोग किरा नियन्त्रण हुँदै गएकाले यस वर्ष सुन्तला उत्पादन दोब्बर भयो ।’

बढी सुन्तला उत्पादन हुने भएकाले मेलुङ गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ । रोग किराले दुःख दिएपछि गाउँपालिकाले नै त्यसको नियन्त्रणको पहल थाल्यो । केही वर्ष किसान यसको सिकार हुँदै आएका थिए । गत वर्ष गाउँपालिकाले उपलब्ध गराएको औषधी हालेपछि ८० प्रतिशत रोग किरा नियन्त्रण भएको किसानको भनाइ छ । बाहिर फल राम्रो देखिने तर भित्र किरा पर्ने समस्या भएपछि रोग लागेका सबै बगैंचामा औषधी हाल्ने र किरा लागेका सुन्तला नष्ट गर्ने अभियान चल्यो । कतिपय किसानले अटेरी गर्दा यो समस्या सतप्रतिशत हल हुन सकेन । फेरि रोग फैलिन नदिन सबैलाई यस वर्ष नष्ट गरेर उपचार गर्नुपर्ने शिक्षक उप्रेतीको भनाइ छ ।

पवटीको सुन्तलाको मुख्य बजार तामाकोसी बजार हो । अहिले सडक पहुँच सहज भएपछि व्यापारीले यहाँ उत्पादन भएको सुन्तला चरिकोट, जिरी, मन्थली, सिन्धुली र बर्दिबाससम्म पुर्‍याउँछन् । सुन्तला खरिद बिक्रीका लागि स्थानीय ५ जना र बाहिरका ९ जना गरी १४ जनाले बगैंचाबाटै सुन्तला उठाउने व्यापारीको रुपमा काम गर्छन् । सुन्तलाको व्यापार गर्दै आएको मेलुङ–१ का कार्यबाहक वडा अध्यक्ष कमल बुढाथोकीले अघिल्ला वर्ष ६ करोड बराबरको सुन्तला बजार गएकोमा यसपाली १० करोडको अहिले नै गइसकेको बताए ।

कात्तिक १५ बाट दैनिक १० देखि २० टनसम्म सुन्तला बजारमा गइरहेकाले १७ सय टन जति यस वर्ष सुन्तला उत्पादन भएको उनले दाबी गरे । अझै केही सुन्तला बगैंचामा रहेकाले बजार जाने क्रममै रहेको उनले बताए । उत्पादन बढ्दा मूल्य नियन्त्रणमा अघिल्ला वर्षहरुमा सुन्तलाको मूल्य बजारमा किलोमा १५० सम्म पुग्थ्यो । तर माघको अन्तिम हुँदासम्म अहिले सुन्तला एक सय रुपैयाँमै बजारमा पाइन्छ ।

किसानको बारीमा ७०–७५ रुपैयाँमा बगैंचाबाट व्यापारीले उठाएर बजार पुर्‍याउँछन् । बढी उत्पादन भएकाले बजारमा व्यापारीले मूल्य बढाउन पाएका छैनन् । अहिलेकै अवस्था हेर्दा अझै एक महिना बजारमा सहजै सुन्तला पाइने तामाकोसीमा सुन्तला व्यापार गर्दै आएका सर्मिला श्रेष्ठको भनाइ छ । कात्तिक अन्तिमदेखि पुस १५ सम्म टिपीसक्नु पर्छ । तर चिस्यान केन्द्रको अभावमा भण्डारण गर्ने ठाउँको अभावमा एकैपटक बजार लैजानु पर्ने बाध्यता छ ।

सुन्तलाबाट राम्रो आम्दानी भएकाले अब गाउँपालिकाले अभियानका रुपमा बाँझो जग्गामा सुन्तला विस्तार गर्ने र गुणस्तरीय बिरुवाका लागि जोड दिने वडा अध्यक्ष बुढाथोकीले बताए । पवटीमा ९ सय घर प्रत्यक्ष रुपमा सुन्तला खेतीमा छन् । यस वर्ष हरेक घरले १० हजारदेखि ५ लाखसम्मका सुन्तला बिक्री गरेका छन् । गाउँ छाडेर सहर छिर्नेहरु पनि गाउँमा सुन्तला खेती भने छाडेका छैनन् । फल टिपीसकेपछि काँटछाँट र मल खादको व्यवस्थापन गरेपछि सुन्तला फल्न योग्य हुन्छ ।

थोरै मेहेनतमा पनि राम्रो आम्दानी हुने भएपछि बगैंचा पनि क्रमशः बढ्दै गएको किसान बताउँछन् । गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् । किसानका उत्पादन सजिलै बजारसम्म पुग्ने र आवश्यक मल बीउ व्यवस्थापनमा गाउँपालिकाले काम गर्ने भएकाले किसानहरु उत्पादनमा लाग्नुपर्ने उनले बताइन् । पवटीमा ४ वर्ष अघि सुन्तला महोत्सवसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्