मसिना योजनामा बजेट विनियोजन गर्दैनौंः अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेटमा मसिना योजनालाई बजेट विनियोजन नगर्ने बताएका छन् । झापाको दमकमा आइतबार सुरु भएको पाँचौ दमक महोत्सवको उद्घाटनका क्रममा साना योजनामा संघीय सरकारले बजेट विनियोजन गर्दा सरकारले कनिका छरे जस्तो बजेट छरेको भन्दै आलोचना खेप्नु परेको बताए ।
उनले अब बृहत योजना मात्र संघीय सरकारको प्राथमिकतामा रहने दावी गरे । ‘अब हामी तीन करोड भन्दा बढीका योजनामा मात्र बजेट विनियोजन गर्छौं, प्रदेश सरकारले पनि एक करोड रुपैयाँ भन्दा साना योजनामा बजेट नगरोस् भन्ने हो’ उनले भने, ‘ती भन्दा साना योजनामा स्थानीय सरकारले नै काम गर्छ ।’
मन्त्री महतले कृषि उपजमा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले कृषि उपजको आयातमा कर लगाइएको तर्क गरे । नेपाली किसान र कृषि उद्यमीलाई प्रोत्साहित गर्न र आत्मनिर्भरता प्रवद्र्धनका लागि कर लगाउने नीति बनाएको उनको भनाइ छ । आगामी वैशाख १६ र १७ हुने लगानी सम्मेलनले नेपालमा बृहत योजनाका लागि ढोका खोल्नेसमेत मन्त्री महतले बताए ।
लगानी सम्मेलनले ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याउने वातावरण बनाउने उनको दावी छ । प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार महोत्सवको रुपमा दमक उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । आगामी फागुन १२ गतेसम्म चल्ने महोत्सवमा कृषि उपज, घरेलु उद्योगलगायत विभिन्न उत्पादनका स्टल राखिएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईँले जानकारी दिए ।