उद्योगको दुर्दशा «
Logo

उद्योगको दुर्दशा

मुलुकको अर्थतन्त्रमा समस्या देखिएको दुई वर्षभन्दा बढी भइसकेको छ । अहिले समस्याको प्रभाव जताततै पुगेको छ । पछिल्ला दिनमा औद्योगिक करिडोरमा खुलेका उद्योगहरू पनि बन्द हुन पुगेका छन् । मुलुककै सबैभन्दा ठूलो औद्योगिक करिडोर पथलैया–वीरगन्ज करिडोरका दर्जन साना सिमेन्ट र छड उद्योग बन्द भएका छन् । यो करिडोरमा साना–ठूला गरेर करिब १ हजार उद्योग छन् । तीमध्ये अधिकांश आंशिक रूपमा मात्र चलेका छन् ।

साना मात्रा होइन, ठूलो लगानीमा खुलेका सिमेन्ट र छड उद्योगसमेत बन्दसरह छन् । सुस्त अर्थतन्त्रले साना–ठूला सबै उद्योगलाई प्रभावित पारेको छ । पथलैया–वीरगन्ज करिडोरमा सयौं उद्योग खुलेका छन् । यो करिडोरमा एकाध उद्योग खुल्ने र बन्द हुने विषय नियमित कामजस्तै हो । पुराना बन्द हुने र नयाँ उद्योग आउनुले धेरै चासो पनि राख्दैन । तर, अहिले अवस्था बेग्लै छ । अर्थात् अहिले बन्द हुने क्रम बढेको छ । तर, नयाँ खुल्ने काम भएकै छैन भन्दा पनि हुन्छ । उद्योग बन्द पनि एकाध होइन, दर्जनौंको संख्यामा भएका छन् ।

अहिले सञ्चालनमा रहेका कृष्ण, अरनिको, स्टार, रिलायन्स, कलश, आरएमसी सिमेन्ट तथा हामा आइरन, साख: स्टिल, भगवती रोलिङ, अशोक स्टिललगायतका ठूला–साना उद्योग समस्यामा देखिएका छन् । यसमध्ये केही बन्द भएका छन् भने केही धिपधिप रूपमा चलेका छन् । करिडोरमा रहेका ठूला ५ सय ६८ उद्योगको विद्युत खपत २५ देखि ३० प्रतिशत मात्र भएबाट पनि अवस्था छर्लङ्ग हुन्छ । अहिलेसम्म मुलुकका स्टिल उद्योगहरूमध्ये साख:, हिमाल, हामा, अशोकजस्ता ठूला उद्योगले बजारमा उच्च गुणस्तरीय वस्तु उत्पादन गर्ने संस्थाका रूपमा पहिचान बनाएका थिए । तर, अहिले तिनै उद्योग बन्दजस्तै भएका छन् ।

सरकारले भौतिक पूर्वाधारका आयोजना निर्माणको काम तीव्र गतिमा गरेको भए छड र सिमेन्ट उद्योग बन्द हुनुपर्ने स्थिति पक्कै आउने थिएन ।

यो व्यवसायीका लागि मात्र होइन, मुलुककै लागि पनि ठूलो चिन्ताको विषय हो । उद्योग बन्द हुँदै गए रोजगारी र राजस्वमा ठूलो समस्या देखिनेछ । अहिले नै मुलुकमा व्याप्त बेरोजगारी छ भने राजस्व संकलन पनि दयनीय अवस्थामा छ । यस्तै उद्योग बन्द भए त्यसको असर बैंकलाई पनि पर्छ । यस्ता उद्योगमा बैंकहरूले अर्बौं रुपैयाँ लगानी गरेका छन् । अहिले नै उद्योगीले बैंकको पैसा तिर्न सक्ने अवस्था छैन । यसको असर वित्तीय संस्थामा देखिसकेको छ । बैंकको अर्बौं लगानी जोखिममा परेको छ ।

स्थापित उद्योगहरू पनि बन्द हुने अथवा न्यून क्षमतामा चल्न बाध्य हुनुका पछाडि कोभिड र त्यसपछि अर्थतन्त्रमा देखिएको समस्या मूल कारण हो । यस्तै बेला–बेलामा राजस्वका दरमा चल्ने अर्थमन्त्रीको प्रवृत्ति पनि अर्को कारण हो । कोभिडपछि अर्थतन्त्रको बाह्य क्षेत्र प्रभावित हुँदा सरकारले आयातलाई निरुत्साहित गरेको थियो । त्यसपछि अर्थतन्त्रको आन्तरिक पाटोमा पनि समस्या देखियो । सुस्त अर्थतन्त्र हुँदा उत्पादनदेखि उपभोगसम्मको चक्र पूरै प्रभावित बनेको छ । बजारमा माग न्यून छ, त्यही कारण उद्योग बन्द हुन बाध्य छन् ।

उद्योग बन्द हुनुको पछाडि सरकारले नेपाली उत्पादनलाई निर्यातमा सहजीकरण नगर्नु पनि एक हो । छड र सिमेन्टको आन्तरिक खपत बढाउन नसकेको यो बेला सरकारले निर्यातका लागि पहल गरेको भए अवस्था भिन्दै हुन सक्थ्यो । गत वर्षदेखि भारतीय राज्यहरूमा छड र सिमेन्ट निर्यात हुन थालेको थियो । भारत सरकारले जारी गर्ने बीआईएस सर्टिफिकेसनमा नेपाल सरकारले पहल नथाल्दा छड, सिमेन्ट निर्यात हुन समस्या आएको छ । उद्योगी–व्यवसायीले यसका लागि सरकारलाई भनिरहे पनि सुनेको छैन ।

यस्तो अवस्थाको समाधान भनेको सरकारले खर्च बढाउनुपर्ने हो । तर, सरकारी खर्च उल्टै न्यून बनेको छ । पहिलो त सरकारले पुँजीगत बजेट विनियोजन नै निकै कम गर्छ । वार्षिक १७ खर्ब बढीको बजेटमा ३ खर्ब मात्र पुँजीगत बजेट राखिन्छ । त्यसमा पनि पूरै खर्च हुँदैन । यो वर्षको सात महिना पूरा हुँदा पुँजीगत खर्च २५ प्रतिशत पुगेको छैन । सरकारले भौतिक पूर्वाधारका आयोजना निर्माणको काम तीव्र गतिमा गरेको भए छड र सिमेन्ट उद्योग बन्द हुनुपर्ने स्थिति पक्कै आउने थिएन ।

प्रतिक्रिया दिनुहोस्