पूर्वप्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दनको तयारी

धनगढी– पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ । नागरिक अभिनन्दन समितिका संयोजक मायाप्रकाश भट्टले फागुन ३ गते चन्दलाई नागरिक अभिनन्दन गर्नका लागि सम्पूर्ण तयारी भएको बताए ।
अभिनन्दनको तयारीका लागि भट्टको संयोजकत्वमा दुई सय ५१ सदस्यीय नागरिक अभिनन्दन समारोह समिति गठन गरिएको छ । वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, बैतडीमा जन्मिएर नेपाली राजनीति र साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै चन्दलाई अभिनन्दन गर्न लागिएको संयोजक भट्टले बताए ।

उनले चन्दको ८४औं जन्मोत्सवको अवसरमा सो कार्यक्रम आयोजना गरिने बताए । नागरिक अभिनन्दन समारोह अघि धनगढीमा स्थानीय भेषभुषा, लोकसंस्कृति झल्कने झाँकीसहितको चन्दको रथारोहण समेत आयोजना गरिने भट्टले बताए । चार पटक प्रधानमन्त्री भएका चन्दलाई २०५४ सालमा ‘बिसर्जन’ कृतिका लागि मदन पुरस्कार प्रदान गरिएको थियो ।
उनी वि.सं. २०४०, वि.सं. २०४६, वि.सं. २०५३ र वि.सं. २०५८ मा गरी चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए । उनी नेपालका वरिष्ठ राजनीतिज्ञहरु मध्ये एक साहित्यकारका रूपमा बढी परिचित छन् । उनको हिउँको तन्ना, नेताका साथी, पाहुना घरलगायतका साहित्यिक कृति प्रकाशन भएका छन् ।