एनआईसी एशियाको खस्कँदो साख, सूचक पनि नकारात्मक «
Logo

एनआईसी एशियाको खस्कँदो साख, सूचक पनि नकारात्मक

काठमाडौं– कुनै बेला एनआईसी एशिया बैंक निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रुपमा उदाएको थियो । पुँजी, जनशक्ति, सेवा दिने शाखा सञ्जाललगायत हेर्दा यो निजी क्षेत्रको ठूलो बैंकका रुपमा अगाडि आउँथ्यो । तर, अहिले यसको साख क्रमशः खस्किँदै गएको छ ।

नियामकीय व्यवस्थामा चलखेल, आन्तरिक व्यवस्थापनमा खटपट, वित्तीय विवरणमा नकारात्मक सूचक लगायतले यतिखेर एनआईसी एशिया बैंकको साख घट्दो क्रममा छ । यही कारण सरोकारवालाको यसतर्फ ध्यान तानिएको छ ।
आक्रामक व्यापार गर्ने होडबाजीले बैंकको सूचकमा निराशा देखिएको मात्र होइन, बैंकको छविसमेत धुमिलिन थालेको भन्दै बैंकभित्रैबाट चिन्ता पोखिन थालेको छ ।

गत बुधबारमात्र बैंकका डेपुटी सीईओ सुधिरनाथ पाण्डेले राजीनामा दिए । उनले राजीनामा दिनुको कारण पनि यस्तै विषयसँग सम्बन्धित रहेको बैंक स्रोत बताउँछ । पछिल्लो समय नियामकीय व्यवस्थाहरूमा चलखेल गरेको आरोप खेपेको एनआईसी एशिया बैंकमाथि केन्द्रीय बैंकले निगरानी गरिरहेको जानकारी दिएको छ । राष्ट्र बैंकले कारबाहीका लागि ‘क’ वर्गको यो बैंकलाई प्रक्रिया सुरू गरेको राष्ट्र बैंक स्रोतले कारोबारलाई जानकारी दियो ।

पछिल्लो समय बैंकको वित्तीय उचाइमा समेत धक्का लागिरहेको समयमा राष्ट्र बैंकले निगरानी र कारबाही गर्ने तयारी गरेको हो । विगतमा व्यवसाय आक्रामक वृद्धि गरिरहेकोमा यो बैंक पछिल्लो समय आफ्ना रणनीतिमा असफल हुन थालेको छ । बैंकले केन्द्रीय बैंक र सञ्चालक समितिलाई नै झुक्याएर गलत वित्तीय प्रतिवेदन तयार गरेको आरोप–प्रत्यारोपका कारण बैंक व्यवस्थापन र सञ्चालक समितिबीच द्वन्द्व चर्किएको बैंक स्रोत बताउँछ । सोही कारण पनि बैंकका डेपुटी सीईओको राजीनामा आएको बताइएको छ ।

शाखा कार्यालय बन्द गर्ने तयारी
विगतमा बैंकको आकार बढाउन खोलिएका ३ सय ६० शाखा संख्याबाट अहिले यो बैंकले ५० वटाभन्दा बढी बन्द गर्ने तयारी गरिरहेको छ । शाखा बन्द गर्नका लागि केन्द्रीय बैंकमा निवेदन दिइसकेको छ ।

यो बैंक नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको बैंक हो । अहिले बैंकसँग ३ सय ६० शाखा, ६ सय ४५ एटिएम, १ सय १० वटा विस्तारित काउन्टर र ६१ शाखारहित इकाइ छन् । शाखा र कर्मचारी बढी हुँदा बैंकको सञ्चालन खर्च अत्यधिक छ ।

विगतमा अन्धाधुन्ध खोलिएका शाखा लगातार घाटामा जान थालेपछि यो बैंकले देशभर रहेका कम्तिमा ५० शाखा र दर्जन बढी एक्सटेन्सन काउन्टर बन्द गर्न पाऊँ भनेर राष्ट्र बैंकमा निवेदन दिएको छ । एनआईसी एशियाले यसअघि पनि स्थानीय सरकार र मातहतका सरकारी कार्यालयमा भएका विस्तारित काउन्टर बन्द गरिरहेको छ ।

प्रतिसेयर आम्दानीको अवस्था निराशाजनक
अर्थतन्त्रको सुस्तता र खराब कर्जा बढोत्तरीको चपेटामा यतिखेर बैंकहरु परेका छन् । यसमध्ये पनि एनआईसी एशिया बैंकको प्रतिसेयर आम्दानी (ईपीएस), लगानीमा प्रतिफल लगायतका सूचक राम्रा छैनन् ।

चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी सबैभन्दा धेरै एनआईसी एशिया बैंकको घटेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको दोस्रो त्रैमासमा यो बैंकको प्रतिसेयर आम्दानी ३१.१८ रुपैयाँ घटेको हो । चालु आवको पुससम्ममा यो बैंकको प्रतिसेयर आम्दानी २५.५९ रुपैयाँ छ । गत वर्षको सोही अवधिमा ५६.७७ रुपैयाँ थियो ।

बैंकको कुल नाफालाई कुल सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । खुद मुनाफा घटेपछि प्रतिसेयर आम्दानी पनि घट्न पुगेको हो । खुद ब्याज आम्दानीमा गिरावट, खराब कर्जामा बढोत्तरीका कारण प्रोभिजनिङमा वृद्धि तथा घट्दो नाफाको चपेटामा परेका बैंकको प्रतिसेयर आम्दानी पनि घटेको हो ।

आरओई घट्यो
चालु आवको दोस्रो त्रैमासमा प्रतिसेयर आम्दानीमात्र नभई एनआईसी एशियाको रिटर्न अन इक्विटी (आरओई) पनि घटेको छ । चालु आवको दोस्रो त्रैमासमा यो बैंकको आरओई १३.१३ प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४९.४३ प्रतिशत कम हो ।

बढ्यो खराब कर्जा
एनआईसी एशियाले चालु आवको दोस्रो त्रैमासमा खराब कर्जा नियन्त्रण गर्नुको साटो थप बढेको छ । गत आवको दोस्रो त्रैमासमा ०.६१ प्रतिशत रहेको यो बैंकको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा १.१९ प्रतिशत पुगेको छ ।
खराब कर्जा बढेबापत बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि राख्नुपर्ने प्रोभिजन पनि बढेको छ । गत आवको पुससम्ममा १७४.५८ प्रतिशत रहेको यस बैंकको प्रोभिजन अहिले बढेर २२७.०४ प्रतिशत पुगेको छ ।

दुई वर्ष लाभांश वितरणमा रोक
पुँजीकोष अनुपात कसिलो बनेपछि विगतका दुई आर्थिक वर्षमा बैंकले लगानीकर्तालाई लाभांश बाँड्न सकेको थिएन । अहिले तेस्रो वर्षमा आएर बाँड्दा बैंकले एकैपटक २९ प्रतिशत बोसन सेयर दिएर प्राथमिक पुँजीकोष बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्