गैरआवासीय नेपाली संघका अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा «

गैरआवासीय नेपाली संघका अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुल आचार्यले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले मंगलबार लन्डनमा आयोजित सभामा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।
आचार्यले ९ सूत्रीय एजेन्डासहित उम्मेदवारी घोषणा गरेका छन् । तर, आचार्यले काठमाडौंमा अर्को साता एक कार्यक्रमको आयोजना गरी विस्तृत प्रतिबद्धता पत्र जारी गर्ने पनि बताइएको छ ।
संघको वर्तमान उपाध्यक्ष रहेका आचार्यले आगामी कार्यकाल (२०१९–२०२१) का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनले आगामी असोज २८ देखि ३० सम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताए । विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकमा पुगेर राय तथा सुझाव लिएपछि संघको अध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
“अग्रजहरू, संसारभर रहनुभएका एनआरएनकर्मी मित्रहरू तथा शुभचिन्तकहरूसँग सरसल्लाह गरी एनआरएनए अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,” आचार्यले भने । उम्मेदवारी घोषणा गर्दै आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिबद्धताका साथ अगाडि बढाउन ‘भिजनरी’ नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प पनि गरे ।
उनले आफ्नो प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरूसँग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी भिœयाउन ठोस कार्ययोजनासहित अघि बढ्ने जनाएका छन् ।
त्यसैगरी, वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई वर्षभित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तीमा दोब्बर पु¥याउने दाबी गर्दै उनले एनआरएनए सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरूको सञ्जाल बनाई उनीहरूसँग रहेको सीप, स्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्नेसमेत प्रतिबद्धता जनाए ।
आचार्यले एनआरएनएलाई सबै सदस्यहरूको सहकार्यका आधारमा एउटा सशक्त र गतिशील संस्था बनाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पारे । उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रक्रियामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावनाअनुरूप निष्कर्षमा पु¥याउन निर्णायक पहल गर्ने प्रतिबद्धता जनाए ।
“नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट खुलाउन पहल गर्नेछु,” आचार्यले भने । अध्यक्षका दावेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरू बाहेक एनआरएनएका सदस्यहरूको सम्पर्क र सम्बन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने जनाए ।
नेपालका सबै नियोगहरूमा एनआरएनए एनसीसीहरूलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने उनको भनाइ छ । परराष्ट्र मन्त्रालयले स्थापना गरेको ब्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउन संघको तर्फबाट भूमिका निर्वाह गर्ने साथै गत वर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसहरूलाई कार्यान्वयन गर्न नेपाल सरकारसँग सहकार्य गर्नेसमेत उनले कार्ययोजना सार्वजनिक गरेका छन् ।
संघका पूर्वअध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आईसीसीद्वारा पारित ‘भिजन–२०२० एन्ड वियोन्ड’ अवधारणालाई चरणबद्ध कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत आचार्यले व्यक्त गरेका छन् । त्यसैगरी, आगामी २ वर्षभित्र सदस्य संख्या कम्तीमा १ लाख पु¥याउन विशेष अभियान सञ्चालन गर्ने, संघका एनसीसी एवं सदस्यहरूद्वारा गरिने कल्याणकारी कामहरू एनआरएनए फाउन्डेसनमार्फत गर्ने व्यवस्था मिलाउने उनले बताए ।
“एनसीसी तथा आईसीसीमा नेतृत्व चुन्न अनलाइन भोटिङ प्रणाली सुरु गर्ने व्यवस्थाका लागि लाग्नेछु,” उनले प्रतिबद्धता पत्रमा भनेका छन्, “विदेशमा हुर्किरहेका दोस्रो पुस्तालाई नेपाल र नेपाली भाषा, सभ्यता, र संस्कृतिसँग जोड्नु मेरो उच्च प्राथमिकता हुनेछ ।”
आचार्यले सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पर्यटन प्रवद्र्धनसम्बधी कार्यक्रम बनाउन र पर्यटक भिœयाउन सबै एनसीसीहरूलाई प्रोत्साहित गर्ने, संघको तर्फबाट हरेक मुलुकमा सम्बन्धित एनसीसीको अध्यक्षलाई नै पर्यटनदूत घोषणा गरी नेपाल सरकार र पर्यटन बोर्डसँग समन्वय गरी धेरैभन्दा धेरै पर्यटक भि¥याउन जोड दिने बताएका छन् ।
सन् २००३ मा नेपालीहरूको हितमा कार्य गर्ने उद्देश्यले स्थापनाकालदेखि नै एनआरएनएको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका आचार्यले गैरआवासीय नेपाली संघ बेलायतको सदस्य हुँदै अध्यक्ष र गैरआवासीय नेपाली संघको युरोप संयोजक भएर कुशल नेतृत्व गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्