होटललाई उद्योगको मान्यतामा कञ्जुस्याइँ «
Logo

होटललाई उद्योगको मान्यतामा कञ्जुस्याइँ

केही समयअघि नेपाल उद्योग महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समिति प्रतिनिधिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई भेटेर होटल–व्यवसायलाई राष्ट्रिय प्राथमिकतामा राखेर उद्योगको मान्यता दिनुपर्ने माग राखे । त्यस क्रममा मन्त्री धनराज गुरुङले तारे (स्टार) होटललाई उच्च प्राथमिकतामा राखेर उद्योगका रूपमा समावेश गर्न आफूले पहल गर्ने आश्वासन दिए ।

होटल मात्रै नभएर नेपालका सबै उद्योग–व्यवसाय सञ्चालन गर्न सरकारले आवश्यक सहयोग गर्ने र व्यवसायीको मागका सम्बन्धमा आफू सकारात्मक रहेको भन्न पनि भ्याए । उद्योगी–व्यवसायीले ठूलो आशा राखेर प्रधानमन्त्री एवं मन्त्रीहरूलाई भेट्न जाने र आवश्यक माग राख्ने गर्दै आएका छन् । तर, उनीहरूले आश्वासनबाहेक अर्को केही पाउने गरेका छैनन् । प्रधानमन्त्री, मन्त्रीले दिएको आश्वासन केवल आश्वासनमै सीमित रहने गरेको छ । कार्यान्वयन नहुने रोग नै लागेको छ । यस अर्थमा मन्त्री गुरुङको आश्वासन पनि नयाँ नहुने देखिन्छ ।

नेपालमा नयाँ थपिने र पुराना सञ्चालनमा रहेका गरी अब पाँचतारे होटलको संख्या ३६ पुग्नेछ । ती ३६ वटा पाँचतारे होटलको बेड संख्या ५ हजार २ सय ३४ पुग्नेछ । यसरी थपिएका पाँचतारे होटल र होटलको बेड संख्याले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरू, जो ‘लक्जरी’ तथा ‘डिलक्स’ सेवा–सुविधा उपभोग चाहन्छन्, त्यस्ता विदेशी पर्यटकका लागि प्रशस्त बेड संख्या र सेवा–सुविधा उपलब्ध हुने देखिन्छ ।

विश्वले होटलका साथै समग्र पर्यटन क्षेत्रलाई ‘धूवाँरहित उद्योग’को मान्यता दिएको छ । अथवा भनौं विश्वमा समग्र पर्यटन उद्योगलाई ‘धूवाँरहित उद्योग’ भनेर चिन्ने गरिन्छ । सामान्यतया पर्यटन उद्योग भन्नाले होटेल, मोटेल स्मरणीय छन् । नेपालको सन्दर्भमा हालसम्म मोटेल छैन । कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टेका साथै पदयात्रा, पर्वतारोहण, जलयात्रा, आइस क्लाइम्बिङ, निकुञ्ज पर्यटन, बन्जी जम्पिङ, क्यानोइङ, स्की खेल, बर्ड वाचिङ, फिसिङ, सिकार पर्यटन, हट एयर बेलुनिङ, जिप फ्लाइयर, चट्टान आरोहण, स्काई वाक, कायाकिङ, साइक्लिङ, जंगल सफारी, मोटर ड्राइभिङ, बाइकिङ, हाइकिङ, स्काई डाइभ, माउन्टेन फ्लाइट, कल्चरल टुर, मेडिकल टुर, ध्यान पर्यटन, योग र योगा पर्यटन, गाउँ अवलोकन भ्रमण, एकल जातीय बस्ती भएको गाउँको भ्रमण, प्राचीन सहर, स्मारक, किल्ला, सांस्कृतिक सम्पदा, युद्घस्थलको भ्रमण, पुतली अवलोकन, जंगली जनावरहरूको अवलोकन आदिलाई पर्यटन उद्योग बुझिन्छ ।

जे भए तापनि नेपालको पर्यटनको भविष्यलाई दृष्टिगत गरेर नै हुनुपर्छ, पर्यटनको मेरुदण्डका रूपमा रहेको पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे तथा पर्यटकस्तरीय होटल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे बन्ने र थपिने क्रम देशव्यापी रूपमा बढ्दो क्रममा रहेको छ । कुनै पनि मान्छे आफ्नो देश छाडेर दोस्रो देश जानेबित्तिकै वा आफ्नो घर छाडेर अन्यत्र जानेबित्तिकै सबैभन्दा पहिले बस्ने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने, के पिउने भन्ने चिन्ता गर्छ वा खानपिनको व्यवस्था गर्छ । अथवा कुनै पनि मान्छेले आफ्नै देशमा पनि आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जानेबित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ । अर्को महत्वपूर्ण कुरो के भने जसले आफ्नो घर वा देश छाडेर एक रात एक दिन (२४ घण्टा) बाहिर गएर बिताउँछ, उसलाई पर्यटक (आन्तरिक र बाह्य पर्यटक) मान्ने भन्ने संयुक्त राष्ट्रसंघ मातहत रहेको विश्व पर्यटन संगठन (युएन–डब्लुटिओ) को मान्यता वा भनौं परिभाषा रहेको छ ।

त्यसरी हेर्दा त कहिलेकाहीं भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर दिउँसो एकैछिन नेपाल घुमेर बास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मावलम्बी) पर्यटकहरूलाई हामीले पर्यटक मान्ने कि नमान्ने ? खास गरी हाल भगवान् मानिएको र बुद्ध धर्मका प्रवर्तक मानिएका गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न एकछिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकहरूलाई हामीले पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यसबारेमा हामीले गम्भीर भएर सोच्ने दिन पनि आइसकेको छ ।

जे भए तापनि समग्र नेपालको पर्यटन उद्योगको पनि विशेषतः होटल क्षेत्रको कुरो गर्दा कोभिड–१९ को महामारीअघि दिन दुई गुणा रात चौगुणाले उन्नति वा भनौं प्रगति भइरहेको थियो । तर पनि कोभिड–१९ पछि सन् २०२२ र २०२३ मा भने नेपालमा पर्यटनले अपेक्षा गरेभन्दा राम्रो प्रगति गर्यो । किनभने सन् २०२३ मा १० लाख १४ हजार ८ सय ७६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक हालै प्रकाशित भएको छ । त्यसो त नेपाली होटल क्षेत्रको कुरो गर्दा लगभग पाँच वर्षअघि आएको समाचारअनुसार नेपाली होटल उद्योगमा लगभग ११ खर्ब लगानी भइसकेको थियो । त्यसका आधारमा हेर्दा हाल १८-१९ खर्बभन्दा बढी नेपाली होटल उद्योगमा लगानी भइसकेको हुनुपर्छ । हुन पनि काठमाडौं बाहिर मात्रै १३ वटा पाँचतारे होटल खुलिसकेका छन् ।

त्यस्तै गरेर सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक मुस्ताङ जिल्लास्थित हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ बाबाधामको भ्रमण गरेका थिए । त्यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङमा रहेको हिन्दू धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ बाबाधामको भ्रमण गरेपछि हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा भ्रमण गर्न आउने भारतीय पर्यटकको घुइँचो सोचेभन्दा बढी नै लाग्न थालेको थियो । कोरोना महामारीसँगै सो क्रम पनि रोकियो । तर, अब हामीले फेरि पनि आगामी वर्षहरूमा भारतीय पर्यटकहरूको त्यो घुइँचो कायम हुनेछ भन्ने आशा गरौं । त्यसरी भारतीयलगायत अन्य देशका पर्यटकको चाप बढ्न थालेपछि त्यो बेला नै मुस्ताङको मुक्तिनाथलगायत माथिल्लो मुस्ताङ क्षेत्रमा नयाँ होटल बन्ने, खुल्ने क्रम बढ्दो क्रममा रहेको छ । एक तथ्यांकअनुसार सन् २०१५ मा मुक्तिनाथ क्षेत्रवरिपरि केवल १५ वटा पर्यटकस्तरीय होटल थिए । अहिले मुक्तिनाथ क्षेत्र र वरिपरि पर्यटकस्तरीय होटलको संख्या बढेर २६-२७ पुगेको छ ।

हुन पनि सन् १९९३-९४ तिर मुक्तिनाथ क्षेत्रमा दुईवटा मात्रै होटल स्थापना भएको थियो । त्यो बेला थोराङपास ट्रेकिङ रुटमा मात्र नभएर नेपालका प्रायः सबै ट्रेकिङ रुटमा होटल वा लज धेरै हुँदैनथे । होटल वा लज उपलब्ध नहुने भएकैले गर्दा प्रायः क्याम्पिङ ट्रेक गर्ने प्रचलन थियो । हुन पनि त्यो बेला मुक्तिनाथ दर्शन गर्न आउने धेरैजसो भारतीय हिन्दू तीर्थयात्री र नेपाली हिन्दू तीर्थयात्रीहरूचाहिँ पाटी, पौवा र धर्मशालामा बास बस्थे भने युरोप, अमेरिकालगायतका विकसित देशबाट पदयात्रा गर्न आएका पदयात्रीहरूचाहिँ क्याम्पिङ गरेर (पाल टाँगेर) बस्थे ।

अहिलेको अवस्थामा होटल क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरूले निश्चय नै नाफा कमाउने अवस्था छैन । उनीहरूले जानी–बुझीकन पनि नेपालको पर्यटनको भविष्य हेरेर नै होटल क्षेत्रमा लगानी गरिरहेका छन् भन्ने बुझ्न गाह्रो छैन । किनभने अहिलेको अवस्थामा नाफा कमाउनु त कता हो कता, सञ्चालन खर्चसमेत उठाउन कठिन पर्ने देखिन्छ । त्यसो भए तापनि धेरैले आफ्नो पकेटमा छेलोखेलो पैसा भएर भन्दा पनि बैंक तथा वित्त कम्पनीहरूसँग ऋण लिएर लगानी गरेका छन् ।

निष्कर्षमा भन्नुपर्दा नेपाल सरकारले नेपाल उद्योग महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिका प्रतिनिधिहरूले हालै राखेको माग जुन छ, होटल–व्यवसायलाई राष्ट्रिय प्राथमिकतामा राखेर उद्योगको मान्यता दिनुपर्ने भन्ने माग, सो मागलाई जति सक्दो छिटो सम्बोधन गरेदेखि धेरै राम्रो हुने र सकारात्मक सन्देश जाने देखिन्छ । अर्को भनेको काठमाडौं, ललितपुर, भक्तपुरलगायत सुविधासम्पन्न सहर–बजार क्षेत्रमा होस्टल र होमस्टे चलाउन दिनु हुँदैन भनी पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे होटलका साथै पर्यटकस्तरीय होटल, कटेज, रिसोर्ट, गेस्ट हाउस र लजका सञ्चालकहरूले लामो समयदेखि राख्दै आएको मागलाई पनि सरकारले सम्बोधन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्