Logo

पर्वतमा मौरीको श्रोत केन्द्र स्थापना

पर्वत– पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा मौरीको श्रोत केन्द्र स्थापना गरिएको छ । स्थानीय मिनप्रसाद शर्माले दस वर्षदेखि सञ्चालन गर्दै आएको छहरा मौरी फर्मलाई श्रोत केन्द्रको रुपमा विकास गरिएको हो । पेशाले शिक्षक रहेका शर्माले दस वर्षदेखि यो व्यावसाय गर्दै आएका छन् । उनले मौरीको घार विस्तारका लागि रानी घारसमेत बनाउँदै आएका छन् । उनले मौरीका नयाँ रानो पनि उत्पादन गर्न थालेका छन् । मौरीपालन सम्बन्धि विभिन्न तालिम लिएपछि शर्माले सेरेना जातको मौरीको नयाँ रानो उत्पादन गर्न थालेका हुन् ।

दस वर्ष अघि एउटा मौरीको घारबाट व्यवसाय सुरु गरेका शर्माको फार्ममा अहिले दुई सय घार पुगेका छन् । उनले महमात्र नभएर मौरीसहितका घार पनि बिक्री गर्दै आएका छन् भने कृषकलाई आवश्यक तालिम समेत दिने गरेका छन् । आफ्नै बारीमा दुःख गर्ने हो भने विदेश जानु पर्दो रहेनछ भन्ने उदाहरण आफ्नो पेशाले देखाएको शर्माले बताए । मौरीको स्रोत केन्द्रकै रुपमा विकास भएपछि उनलाई कृषि ज्ञान केन्द्र पर्वत र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले समेत अनुदान र तालिम दिँदै आएको छ ।

शर्माले वार्षिक दस क्वीन्टल भन्दा बढि मह, मौरीको गोला सहितका घार र खाली घारसमेत बिक्री गर्दै आएका छन् । मौरीका लागि आवश्यक खाद्य पदार्थ अर्थात चास्नीसमेत आफैं उत्पादन गर्दै आएका शर्माले मौरीपालनबाट मात्रै वार्षिक २० लाख आम्दानी गर्दै आएको जानकारी दिए । ‘यो पेशामा हात हालेपछि पर्याप्त कमाई भएको छ’ उनले भने, ‘कसैले मौरीपालन व्यवसाय गर्न चाहन्छ भने म वार्षिक आफूले कमाएजति कमाउने उपाय समेत बताईदिने र सहजीकरण गर्ने ग्यारेन्टी दिन्छु ।’

अर्का कृषक उमकान्त शर्माले समेत ८० वटा घारमा मौरीपालन गर्दै आएका छन् । उनले वार्षिक ६ देखि आठसय केजी मह उत्पादन हुने गरेको बताए । उनले गत वर्ष मह र मौरी बिक्री गरेर झण्डै १० लाख आम्दानी गरेको बताए । ‘मौरी पालन व्यवसायले सन्तुष्ट छु’ उनले भने, ‘घरपरिवार सवै यही पेशामा रमाएका छौं ।’ गाउँमै श्रोत केन्द्र समेत स्थापना भएपछि थप सहज हुने उनको भनाइ छ । नगरपालिकाका विभिन्न वडामा वार्षिक २० टन मह उत्पादन हुने कृषि शाखा प्रमुख केदार सापकोटाले बताए । नगरपालिका क्षेत्रमा करिव २५०० उन्नत घारमा मह उत्पादन हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्