नगर प्रमुख भामले लिए सात सय विद्यार्थी पढाउने जिम्मा «
Logo

नगर प्रमुख भामले लिए सात सय विद्यार्थी पढाउने जिम्मा

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले सात सय विद्यार्थी पठनपाठनको जिम्मा लिएका छन् । नगरपालिकाभित्र रहेका सबै वडा समेटिने गरी नगरप्रमुख भामले अति विपन्न सात सय विद्यार्थी आफ्नो कार्यकाल भरी पठनपाठन आवश्यक सामग्री सहयोग गर्ने जिम्मा लिएका हुन् ।

नगरपालिकाभित्र रहेका ४५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत तहमा १० जना र माध्यामिक तहमा १५ जनासहित सात सय अति विपन्न, दलित र गरिब विद्यार्थी छनोट गरिएको छ । वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति र विद्यालयले अति विपन्न विद्यार्थी भएको भन्ने सिफारिसका आधारमा ती विद्यार्थी छनोट गरिएको नगरप्रमुख भामको सचिवालयले जनाएको छ ।

नगरपालिकाले नगर प्रमुखसँग बालबालिका कार्यक्रम कार्यविधि २०७९ जारी गरेर बालबालिकाको हित र उनीहरुको संरक्षणका लागि गर्न सकिने क्रियाकलाप बारे कार्यविधिमा उल्लेख गरे अनुसार नगर प्रमुख भामले अति विपन्न विद्यार्थी पठनपाठनमा सहजका लागि यो कार्यको सुरुवात गरेको बताए । आफ्नो कार्यकाल भरी सात सय विद्यार्थीको अभिभावकत्वका साथ उनीहरुलाई आवश्यक स्टेशनरी र लत्तासहित सहयोग गर्न कार्यक्रम थालनी गरेको नगरप्रमुख भामले बताए ।

यो कार्यक्रम नगरपालिका भित्रका सबै विद्यालयमा लागु हुने छ । केही विद्यालयमा अति विपन्न विद्यार्थी छनोट हुन सकेका छैनन् । छनोट भएका विद्यार्थीलाई पहिलो चरणमा स्टेशनरी सामग्री सहयोग गरेका र चिसो मौसमसँगै उनीहरुलाई न्यानो कपडालगायतका सामग्री सहयोग गरेको नगरप्रमुख भामले बताए ।

प्रतिक्रिया दिनुहोस्