पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा

नेपालगन्ज– बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय स्थलको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा गरिएको छ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा सुरु भएको टुर दी ठाकुरद्वाराको छैटौं संस्करणमा नेपाल र भारतका विभिन्न ठाउँबाट आएका साइकल यात्रीको सहभागिता रहेको थियो ।
नेपालगन्ज साइकल फेस्टिवलअन्तर्गत नेपालगन्जको बागेश्वरी मन्दिरबाट शुभारम्भ भएको साइकल यात्रा बाँकेको कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा ताल हुँदै पर्यटकीय स्थल बर्दिया राष्ट्रिय निकुन्जवाट ठाकुरद्वारा मन्दिरसम्म पुगरे फर्केको हो । बाँके र बर्दियाका धार्मिक र पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ २०७५ सालदेखि साइकल यात्रा सुरु भएको थियो ।
त्यतिखेर ४८ जनाबाट सुरु गरिएको साइकल यात्राको छैटौंं संस्करणसम्म आईपुग्दा भारत र नेपालका गरी २५० साइक्लिष्टहरूले उत्साहका साथ सहभागिता जनाएको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटाले बताए । ‘नेपाल र भारतका साइकल यात्रीको उत्साहजनक सहभागिता रहेको छ’ उनले भने,‘बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारमा टेवा पुगेको अपेक्षा हामीले गरेका छौं ।’
यात्रामा भारतबाट साइकल यात्रीको नेतृत्व गर्दै आएका साइकल बाबा उपनामले चिनिने संजीव जिन्दलले नेपालको मौलिक संस्कृति, स्थानीयखाना, प्रकृति र संस्कारले हरेक वर्ष आफूलाई यहाँ आउन अभिप्रेरीत गरेका कारण लगातार सहभागिता जनाउँदै आएको बताए । नियमित साइकल यात्राले मानव स्वास्थ्यलाई समेत फाइदा हुने भन्दै चिकित्सक समेत यात्रामा सहभागि भएका थिए ।
भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा. विपिन आचार्यले नियमित साइकलको प्रयोगले स्वस्थ्य रहन निकै उपयोगि हुने बताए । आफूले पनि कोरोनाकाल पछाडि नियमित साइकल चलाउँदै आएको बताउँदै नियमित व्यायमन्तगर्त साइकल यात्रा फलदायी हुने उनको भनाइ छ । साइकल यात्रीले आफूलाई स्वस्थ्य राख्न मात्र नभइ अरुलाई समेत स्वस्थ हुन र करोडौको इन्धन वचत गरी राष्ट्रको ढुकुटी बचाउन सहयोग पुर्याएकाले उपमहानगरपालिकाले निरन्तर सहयोग गर्ने नेपालगन्जका मेयर प्रशान्त बिष्टले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जको बागेश्वरी मन्दिरबाट शुभारम्भ गरेको यात्रामा विश्व साइकलयात्री पुष्कर शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीलगायत साइकल यात्रीलाई हौसला दिन कार्यक्रममा पुगेका थिए ।