देवदह मेलामा अवलोकनकर्ता बढ्दै

भैरहवा– शान्तिका अग्रदुत गौतमबुद्धको मावली रुपन्देहीको देवदहमा जारी ८औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा उपभोक्ताको सहभागिता बढदो छ ।
महोत्सवमा रहेका स्टलमा अत्यधिक उपभोक्ता पुगेको र दर्शकको सहभागिता बढ्दै गएको मेला आयोजक समितिका संयोजक हरि भण्डारीले जानकारी दिए । शुक्रबार र शनिबार बिदाको दिन भएकाले मेलामा अवलोकनकर्ताको संख्या बढेको आयोजकको दावी छ । ‘स्थानीय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन र पर्यटन विकासमा जोड दिएर सञ्चालन गरिएको महोत्सवमा उद्देश्य अनुसार नै दर्शक उपभोक्ताको उत्साहपूर्वक उपस्थिति रहेको छ’ उनले भने ।
महोत्सवमा सांस्कृतिक कार्यक्रमअन्तरगत डान्सिङ आइडल, अन्तर विद्यालय लोकगीत/लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, अन्तर आमा समुह लोकगित प्रतियोगिता, फ्रि–स्टाइल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगितालगायतका कार्यक्रम भइरहेका छन् । गुरुङ र मगर समुदायको कुडुले घर, सेल्फी जोन, पाँच फिटको बुद्धमूर्ति, कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज, योग शिविर तथा खाना महोत्सवलगायतका गतिविधि महोत्सवका आकर्षण रहेका छन् ।
महोत्सवमा २०६ वटा व्यावसायिक स्टल, १२ वटा होटल तथा रेष्टुरेन्ट, ६ वटा सांस्कृतिक खाना तथा ११ वटा कृषि स्टल रहेको आयोजको भनाइ छ । कृषि, पर्यटन, उद्योग र व्यापारः देवदह नगर समृद्धिको आधार मूल नारासहित सञ्चालन गरिएको महोत्सव एक लाख दर्शकले अवलोकन गर्नेे र दस करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ ।