Logo

पोखरामा फागुन ३ देखि लिटरेचर फेस्टिभल

पोखरा– पोखरामा ११औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल आगामी फागुन ३ देखि हुने भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा लेकसाइडस्थित बाराहीघाटमा फागुन ७ गतेसम्म फेस्टिभल हुने बताइएको छ ।

सूर्य नेपाल गाथाको मुख्य सहयोगमा हुने फेस्टिभलमा पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा ५५ विषयमा २ सय अतिथी सहभागी हुने आयोजक समितिका सदस्य केशवशरण लामिछानेले बिहीबार पत्रकार सम्मेलनमा बताए ।

नेपाल लिटरेचर फेस्टिभल पोखरामा एउटा ब्राण्डका रुपमा स्थापित भइसकेको उल्लेख गर्दै उनले पोखरेलीले यसलाई अपनत्व ग्रहण गरिसकेको दाबी गरे । तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको लामिछानेको भनाइ छ ।

सन् २०११ मा ललितपुको झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको फेस्टिभल एघारौं संस्करणसम्म आइपुग्दा बाराहीघाटमा आयोजना हुने अवस्थामा आइपुगेको नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले बताए । यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उनले जनाए । फेस्टिभलमा ५५ सेसन, सांगीतिक साँझ र रोचक सामग्री समावेश गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्