पानीका लागि वन जोगाउन जोड

दाङ– पानीको मुहान संरक्षणका लागि वन जोगाउनु पर्नेमा सहभागीहरूले जोड दिएका छन् । हरियाली बढाउन सकेमा मात्र पानीको मुहान संरक्षण गर्न सकिने उनीहरूको भनाइ छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३ औं साधारण सभाको उद्घाटन कार्यक्रममा उनीहरूले त्यस्तो बताएका हुन् ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले सबै नागरिकलाई सहज रूपमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्न चुनौती रहेको बताए । यसका लागि ३ वटै तहका सरकार तथा खानेपानी संस्था लागि परेको उनको भनाइ छ । ‘स्वच्छ खानेपानी पाउनु नागरिकको मौलिक अधिकार हो’ नगर प्रमुख चौधरीले भने ।
अहिले आठ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित हुनु परेको नगर प्रमुख चौधरीले बताए । पानीको मुहान संरक्षणको लागि घोराही उपमहानगरपालिकाले जलाशय निर्माण कार्यलाई प्राथमिकता दिएको उनले बताए । जलाशय निर्माण गरेमा पानी रिचार्ज हुने समेत उनको भनाइ छ । ‘उपमहानगरका सम्भावना रहेका क्षेत्रमा थप जलाशय निर्माण गरेर अगाडि बढ्ने छौं’ नगर प्रमुख चौधरीले भने ।
पानी प्रदूषण हुन नदिन खोला सफाइ अभियान सञ्चालन गरिने उनको भनाइ छ । खोलामा सफाइ गरेर पानी प्रदूषण हुनबाट रोक्ने काम गरिने उनले बताए । यसका लागि उपमहानगरपालिकाले बजेटको व्यवस्था गरिसकेको छ । घोराहीलाई स्वच्छ र सफा बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने उनले बताए । हरेक नागरिकले आफ्नो घरको नजिक विरुवा रोप्न समेत उनले आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले नागरिकहरूलाई स्वच्छ खानेपानी सेवा पुर्याउन खानेपानीका संस्थाहरूको ठूलो सहयोग रहेको बताए । ‘खानेपानी संस्थाहरूले राज्यलाई सहयोगी भूमिका निर्वाह गरेको र यसले नागरिकलाई सहजता भएको छ’ प्रमुख जिल्ला अधिकारी सुवेदीले भने । विकास निर्माणमा उपभोक्ताहरूको विकृति रहेको भन्दै खानेपानीका संस्थाहरूबाट सिक्न समेत उनले आग्रह गरे ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्जका सुधीरकुमार शाहले घोराही खानेपानी संस्थाले खानेपानीको समस्या सधानका लागि थालेको बबइ लिप्ट आयोजनाको काम तीव्र रूपमा अगाडि बढेको बताए । कामले गति लिएको भन्दै समय मै निर्माण सम्पन्न हुने उनको भनाइ छ । नेपाली काँग्रेस दाङका जिल्ला उप सभापति कमानसिंह भारतीले पानीको मुहान संरक्षणका लागि उतरी क्षेत्रमा वृक्ष रोपन गर्नु पर्ने बताए । वृक्ष रोपन गरेर हरियाली बढाउन सकेमा पानीको मुहान संरक्षण गर्ने सकिने उनको भनाइ छ ।
नेकपा समाजवादीका गुरूप्रसाद महराले हरियाली बढाउन सकेमा पानीको स्रोतको संरक्षण गर्ने सकिने भन्दै त्यसतर्फ लाग्न आग्रह गरे । यसका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले जिल्लामा चुनढुंगाको उत्खनन् गरिँदा पानीको मुहान सुक्दै जाने बताए । यसका लागि उतरी क्षेत्रमा रहेको चुनढुंगा उत्खनन् रोकिनुपर्ने उनको भनाइ छ ।
समितिका सल्लाहाकार भुपबहादुर डाँगीले विकासमा राजनीति नहुने बताए । जिल्लाको विकासका लागि सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा सहभागीहरूले नागरिकलाई स्वच्छ र नियमित खानेपानीको व्यवस्था गर्न अगाडि बढ्नु पर्ने बताएका थिए । उनीहरूले बजारी क्षेत्रमा सार्वजनिक धाराको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।