Logo

बजेट अभावले सोचजस्तो काम गर्न सकेका छैनौं

सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनतामा धेरै अपेक्षा रहेको पाइन्छ । घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै हुने गरेका छन् । पछिल्लो पटकको निर्वाचित भएका जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि २० महिना पूरा भएको छ । कतिपय स्थानीय सरकारबीच कामका विषयमा प्रतिस्पर्धा पनि भएको पाइन्छ ।

सधैं भेटिने भएकाले जनताले स्थानीय सरकारका हरेक गतिविधि नजिकबाट नियालिरहेका हुन्छन् । कोसी प्रदेशको एकमात्रै महानगरपालिका र प्रदेशको राजधानी पनि भएकाले विराटनगरका हरेक कार्य नागरिकले झनै नजिकबाट हेरिरहेका हुन्छन् । संविधानले स्थानीय तहलाई अधिकार दिए पनि बजेट अभावले कार्य गर्न समस्या भइरहेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बताउँछन् ।

आन्तरिक स्रोतको कमी र संघीय सरकारले कम बजेट दिँदा नागरिकका आकांक्षा पूरा गर्न निकै गाह्रो परेको कोइरालाको अनुभव छ । स्थानीय तह सञ्चालन गर्दा हालसम्मको अनुभव, स्थानीय सरकारको दायित्व, चुनौती र अवसरलगायतका विषयमा केन्द्रित रहेर मेयर कोइरालासित कारोबारकर्मी मीनकुमार नवोदितले गरेको कुराकानीको सार :

कार्यभार सम्हालेपछि अहिलेसम्म के–के गर्नुभयो ?
निर्वाचित भएर मैले कार्यभार सम्हालेपछि धेरै नै काम भएका छन् । सुशासन, जवाफदेहिता र जिम्मेवारीलाई मैले उच्च प्राथमिकतामा राखेर काम गरेको छु । कर्मचारी साथीहरूले विगतमा कसले के गर्नुभयो मलाई थाहा छैन, तर म आइसकेपछि सबैले इमानदारीका साथ जिम्मेवारी पूरा गरिहनुभएको छ । हामी जनप्रतिनिधिले नीति बनाउने हो, त्यसको कार्यान्वयन त कर्मचारीहरूले गर्ने हो । सीमित स्रोत र साधनका बीच पनि हामी महानगरवासीका असीमित चाहना परिपूर्ति गर्न लागिपरेका छौं ।

फुटपाथ नियन्त्रण गरेर पसलअगाडिको सेटब्याक हटाएका छौं, जसले गर्दा आवतजावत गर्न सहज भएको छ । ‘उज्यालो विराटनगर’ अन्तर्गत महानगरका मुख्य सडकमा बत्ती लगाएका छौं । रातको समयमा हवाईजहाजबाट हेर्दा सबैभन्दा उज्यालो यहाँहरूले देख्नुभयो भने त्यो विराटनगर हो । यससँगै लत्रिएका तारको व्यवस्थापन गरेका छौं । सरसफाइलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेका छौं । १९ वटै वडामा अधिकृतस्तरका सचिवको व्यवस्था, कर संकलन अभियान सञ्चालन गरेर आन्तरिक आय वृद्धि, भौतिक पूर्वाधारको निर्माणसँगै स्वास्थ्य, शिक्षालगायतमा महत्त्वपूर्ण र दूरगामी प्रभाव पार्ने काम भएका छन् ।

सडकमा पार्किङ निषेध गर्नुभएको थियो तर अहिले फेरि सडकमै सवारी पार्किङ भएको देखिन्छ, किन यस्तो भयो ?
सडक भनेको सहज रूपमा आवतजावत गर्नका लागि हो । यहाँहरूले पनि देख्नुभएको होला, विदेशमा कहीं पनि सडकमा पार्किङ गर्ने गरेको पाइँदैन । सडक भनेको सवारी साधन आवतजावतका लागि हो । सडकमा पार्किङ निषेध गर्दा आवतजावत गर्न सहज भएको थियो । तर, महानगरपालिकाको एक्लो प्रयासले मात्रै नहुँदो रहेछ । हामीले नागरिकका लागि काम गर्ने हो । सडकमा पार्किङ निषेध गर्दा विराटनगरको व्यापार भएन भनेर व्यापारीहरूले व्यापक गुनासो गर्नुभयो ।

महानगरको निर्णयकै कारण व्यापारीहरूले सटर बन्द गर्नुपर्ने अवस्था आयो भन्ने गुनासो पनि आयो हामीसित । ज्ञापनपत्र पनि दिन आउनुभयो । हाम्रा कारणले व्यापारी पलायन नहोऊन् भन्ने नै हो । त्यही भएर हामीले पार्किङलाई पूर्ववत् अवस्थामै छाडिदियौं । तर, मलाई अचम्म लाग्छ, अहिले अझै सटरहरू खाली देख्छु । रोडमा हिँड्दा ‘भाडाका लागि सटर खाली छ’ भनेर लेखिएका खाली सटर जताततै देखिन्छ । आखिर पार्किङका कारण व्यापार नभएको त होइन रहेछ नि ! हामीले पार्किङ खोलिदिएपछि विराटनगरको बजार गुल्जार हुनुपर्ने होइन ? खोइ त झनै सटर खाली छन् । यसको कारण के हो त ?

व्यापारीहरूले बुझ्ने कुरा हो । जोगबनीका कारण यहाँको व्यापार चलेन, भन्सार नाकामा कडाइ गरिदिनुपर्‍यो भन्दै आउनुभयो व्यापारीहरू । भन्सार नाकामा कडाइ गर्ने अधिकार हाम्रो होइन । तर, पनि हामी जनताका प्रतिनिधि हौं । उहाँहरूले हामीबाट अपेक्षा राख्नु स्वाभाविकै हो । त्यसपछि हामीले समन्वय गरेर सिडिओ, एसपी, भन्सार प्रमुख, राजस्व कार्यालयका प्रमुखसहित सबै सरकारवालाको बैठक राख्यौं । सम्बन्धित निकायले भन्सार नाका कडाइ गर्ने निर्णय पनि भयो । तर, उद्योगी–व्यापारीहरूकै असहयोगका कारण भन्सार नाका कडाइ गर्ने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन ।

महानगरले त समन्वय गरिदिने हो । हामीले भन्सारमा लगेर हाम्रा प्रहरी राख्ने होइन । त्यो हाम्रो क्षेत्राधिकारभित्र पनि पर्दैन । तर, भन्सार नाका कडाइ गर्ने भनेर निर्णय भइसकेपछि सम्बन्धित निकायलाई खबरदारी गर्ने दायित्व त यहाँका उद्योगी–व्यवसायी र उनीहरूको संगठनको हो नि । तर, उहाँहरूले गर्नुभएन । हाम्रो तर्फबाट विराटनगरको व्यापार प्रवद्र्धन र व्यवस्थित बनाउने काममा कहींकतै कमी भएको जस्तो लाग्दैन । सबै काम महानगरले मात्रै गरेर पनि साध्य छैन । विराटनगर बनाउने दायित्व सबैको हो भन्ने मलाई लाग्छ ।

विराटनगर महानगरपालिका भएर पनि आर्थिक रूपमा चाहिँ किन कमजोर ?
विराटनगर महानगरपालिकाको आन्तरिक स्रोत एकदमै कमजोर छ । जबसम्म महानगरको आन्तरिक स्रोत बलियो हुँदैन तबसम्म जनअपेक्षाअनुसार कार्य गर्न सकिँदैन । नागरिकका आकांक्षा पूरा गर्न हामीसित पर्याप्त बजेट हुनुपर्छ । बजेट नभएपछि उनीहरुका आकांक्षा पूरा गर्न निकै गाह्रो हुँदो रहेछ । तर पनि सीमित स्रोत र साधनबाट पनि नागरिकका असीमित चाहना परिपूर्तिमा लागिपरेका छौं ।

अघिल्लो आर्थिक वर्ष हामीले ६४ करोड ५ लाख राजस्व संकलन गरेका थियौं । त्यसमध्ये ३५ करोड पुरानो दायित्व भुक्तानी गरेका छौं । पुरानो दायित्व सिर्जना भई आएका योजना तथा कार्यक्रमको भुक्तानी अझै पनि भइरहेको छ । आर्थिक वर्ष २०७८/०७९ सम्म रहेको एक अर्ब ६३ करोड ५७ लाख बेरुजुमध्ये एक अर्ब १९ करोड ४२ लाख अर्थात् ७३ प्रतिशत फछ्र्योट गर्न सफल भएका छौं । बेरुजु फछ्र्योट गर्ने महानगरपालिकामध्ये विराटनगर दोस्रो भएको छ ।

आगामी दिनमा बेरुजु शून्यतातर्फ लाने प्रयत्न गरिरहेका छौं । महानगरले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ७ लाख ९६ हजार रुपैयाँ आन्तरिक राजस्व असुली गरेको छ । महानगरले चालु आर्थिक वर्ष ८९ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पुस मसान्तसम्म लक्ष्यको २३.५५ प्रतिशतमात्रै आन्तरिक राजस्व संकलन गरेका छौं । यो हिसाबले आन्तरिक राजस्वमा लक्ष्य पूरा गर्न निकै कठिन देखिएको छ ।

बजेट अभावकै कारण प्रमुखले बनाउने (नगरस्तरीय) बजेट नबनाउनुभएको हो ?
हरेक पालिकाले नगरस्तरीय बजेट बनाउने गरेका छन् । तर, विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षमा नगरस्तरीय बजेट बनाउन सकेन । त्यसको मुख्य कारण भनेको बजेट अभाव नै हो । कागजमा मात्रै बजेट बनाएर भएन, स्रोत हुनुपर्‍यो । नगरस्तरीय बजेट नबन्दा विगतदेखि पाउँदै आएका धेरै संघसंस्थाले यसपटक बजेट पाउनुभएन । अहिले पनि थुप्रै संघसंस्था बजेट माग्दै आउनुहुन्छ । बजेट छैन भन्यो भने रिसाएर जानुहुन्छ । बजेट भएर पनि नदिएको भने होइन । यदि हुन्थ्यो भने त यहींको विकासका लागि खर्च गर्ने हो नि, हामी जनप्रतिनिधिले त्यो बजेट घर लाने होइन । यो कुरा बुझिदिन सबैलाई आग्रह गर्छु । महानगरको आर्थिक अवस्था बुझिदिन म विराटनगरवासीलाई हार्दिक अनुरोध पनि गर्छु ।

बजेट अभावका बीच विकास निर्माणका कार्यहरूचाहिं कसरी अगाडि बढिरहेका छन् ?
हामीसित भएको स्रोत अनावश्यक क्षेत्रमा खर्च गरेका छैनौं । भएको सीमित स्रोत र साधन महानगरवासीको हितमा अधिकतम प्रयोग गरिरहेका छौं । सीमित स्रोतबाटै भए पनि भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइरहेका छौं । रानीपोखरी, मण्ठापोखरी, प्रधानमन्त्री पार्क, बालउद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर–५ र ६ स्थित बिएफएमअगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पतालअगाडिको सडक, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडकसहित एक अर्ब १५ करोडभन्दा बढी विभिन्न योजना कार्यान्वयनको चरणमा छन् ।

महानगरको प्रशासनिक भवनको हालसम्म ३५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी नयाँ प्रशासनिक भवनबाट कार्य प्रारम्भ गर्ने लक्ष्य छ । करिब २२ करोड लागतको वीरेन्द्र सभागृह निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको छ । विराट राजाको दरबार परिसरमा झन्डै एक करोड लागतमा पोखरी निर्माण भइसकेको छ । विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतानुसार जाइकाको आर्थिक सहयोगमा निर्माण हुने खानेपानी आयोजना ठेक्का प्रक्रियामा गइसकेको छ । सडक, ढल, नाला तथा फोहोर व्यवस्थापनका लागि संघीय सरकारमार्फत दातृ संस्थाहरूको सहयोग जुटाउनका लागि पहल भइरहेको छ । विराटनगरको विकासका लागि अन्य दातृ निकायसित पनि निरन्तर संवाद र छलफल भइरहेको छ ।

भौतिक विकास मात्रै विकास होइन भन्दै आउनुभएको छ । अन्य क्षेत्रको विकासको अवस्था के छ ?
भौतिक विकाससँगसँगै मानव विकास पनि हुनु जरुरी छ । हामी मानव विकासलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौं । खासगरी शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेका छौं । शिक्षाको कुरा गर्नुहुन्छ भने सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि पहल भइरहेका छन् । हाम्रो प्रयासका कारण सामुदायिक विद्यालयको गुणस्तरसँगै भौतिक पूर्वाधारको विकास निकै भएको छ ।

कक्षा ११ को छात्रवृत्ति छनोटको परीक्षा हामी आफैंले लियौं । महानगरले यसअघि कहिल्यै छात्रवृत्तिको परीक्षा लिएको थिएन । यो कार्यले राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गले पाएका छन् । महानगरका सबै सामुदायिक विद्यालयका सम्पूर्ण कक्षाकोठामा पंखा जडान गर्ने कार्य पनि भइरहेको छ । पाठ्यक्रमको पढाइ मात्रै सबै होइन भनेर हामीले विभिन्न खेलकुद प्रतियोगिता (राष्ट्रपति रनिङ शिल्ड), लोकनृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, विज्ञान प्रदर्शनी जस्ता कार्य गरेका छौं ।

अब स्वास्थ्यको कुरा गर्ने हो भने रानी प्राथमिक स्वास्थ्य केन्द्र र बैजनाथपुर स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरेर सुविधा थप गरेका छौं । रानी अस्पतालमा नि:शुल्क फिजियोथेरापी उपलब्ध गराउँदै आएका छौं । अघिल्लो वर्ष १९ वटै वडामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थियौं । यस वर्ष पनि जारी छ । विराटनगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने अभियान सुरु भएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा १९ वटै वडामा नि:शुल्क आँखा शिविर सञ्चालन गरी मोतियाबिन्दु पहिचान भएकालाई नि:शुल्क शल्यक्रिया गर्ने कार्य जारी छ ।

विराटनगरको मुख्य समस्याका रूपमा रहेको डुबान समस्या समाधानका विषयमा के गर्दै हुनुहुन्छ ?
हो, विराटनगरको डुबानको दीर्घकालीन समाधानको बाटो खोजिनुपर्छ । विराटनगरको पूर्वमा सिंघिया र पश्चिममा केसलिया पर्छ । दुईवटा नदीको बीचमा विराटनगर पर्छ । त्यसो भएकाले हरेक वर्षको वर्षायाममा दुवै खोलाको बाढी विराटनगरमा पस्छ । डुबानको प्रमुख कारण भनेको यिनै दुइटा खोला हुन् । यी दुवै खोलामा तटबन्ध निर्माण नगरेसम्म विराटनगरको डुबान समस्या दीर्घकालीन रूपमा समाधान हुँदैन । हामी निर्वाचित भएर आएपछि पश्चिमतर्फको केशलिया खोलामा करिडोरसहितको तटबन्ध निर्माण गर्ने प्रक्रिया सुरु भइसकेको छ ।

यसमा स्वीस सरकारले सहयोग गर्ने भएको छ । त्यसका लागि डीपीआर बनाउने काम भइरहेको छ । सिंघिया खोलाको किनारमा सुकुम्बासी बस्ती धेरै भएकाले उनीहरूको व्यवस्थापन नगरी तटबन्ध निर्माण गर्न गाह्रो छ । त्यसका लागि पनि पहल भइरहेको छ । दुईवटा खोलामा तटबन्धन बनाउने हो भने विराटनगरमा डुबान हुँदैन । हामीले गत वर्ष हिउँदैमा नाला सफा गरेका कारण यस वर्षको वर्षायाममा डुबान भएन । यसपटक पनि हिउँदमै नाला सफा गर्नेछौं । डुबान समस्याको दीर्घकालीन समाधानका लागि सिंघिया र केसलियामा तटबन्ध बनाउनुको विकल्प छैन । केसलियामा तटबन्ध निर्माणका लागि दातृ निकाय र प्रदेश सरकारको सहयोगमा प्रक्रिया अगाडि बढिसकेको छ ।

अब हिउँद लागेको छ, यो समयमा आगलागीका घटना बढी हुने गरेका छन्, महानगरको वारुणयन्त्र समयमा नपुगेको गुनासो आउने गरेको छ । यसअघि सातघुम्तीको कवाडी पसलमा वारुणयन्त्र समयमै नपुग्दा ठूलो क्षति भएको गुनासो आएको थियो, यसमा के भन्नुहुन्छ ?
यो विषयमा यसअघि पनि मैले स्पष्ट पारिसकेको छु । महानगरको वारुणयन्त्र चुस्तदुरुस्त अवस्थामा छ । सुक्खा मौसममा हुने आगलागीप्रति हामी सचेत छौं । यो विषयमा सर्वसाधारण पनि सचेत हुनुपर्छ । वारुणयन्त्र छिर्न अवरोध हुने गरी सडकमा निर्माणसहित अन्य सामग्री राख्नु भएन । दैवीविपत्ति बाजा बजाएर आउँदैन । जुनसुकै बेला घटना घट्न सक्छ । त्यसका लागि आफैं सचेत हुनुपर्छ । सातघुम्तीका विषयमा त मैले प्रमाणसहित धेरैवटा सञ्चारमाध्यममा भनिसकेको छु । बाटोमा उभिएर कसले के भन्यो, मलाई त्यसको मतलब छैन ।

तर, हामीसित प्रमाण छ । सातघुम्तीमा आगलागी भएपछि त्यो दिन २ बजेर ९ मिनेटमा वारुणयन्त्रको फोन नम्बरमा जैन भवनको नम्बरबाट फोन आएको छ । हाम्रो वारुणयन्त्र २ बजेर १९ मिनेटमा घटनास्थलमा पुगेको छ । अनि १० मिनेटमा पुष्पलालचोकदेखि घटनास्थलमा पुग्दा कसरी ढिलो भयो ? त्यत्तिकै कवि भूपि शेरचनले ‘यो देश हल्लैहल्लाको देश’ भन्नुभएको होइन रहेछ । किनभने हामी जनप्रतिनिधिसित रिस उठेको कुनै व्यक्तिले सडकमा उभिएर महानगरको वारुणयन्त्र ढिलो आयो भन्दियो होला अनि त्यसपछि सबै जना कुरै नबुझी त्यसको पछि लाग्नुभयो । वास्तविकता नबुझी हल्लैहल्लाको भरमा दोष दिने प्रवृत्ति बढ्दै गएको छ । सातघुम्ती आगलागी घटनामात्रै होइन, अन्य विषयमा पनि हाम्रो समाज हल्लाको पछाडि कुद्ने गरेको छ ।

महानगरवासीबाट कत्तिको सहयोग पाउनुभएको छ ?
महानगरले थुप्रै अभियान सञ्चालन गरेको छ । सरसफाइ, उज्यालो विराटनगर, हराभरा विराटनगर, फुटपाथसहितको व्यवस्थित विराटनगर, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण र सेवनमा रोक लगाउने जस्ता महत्त्वपूर्ण अभियान सञ्चालन गर्‍यौं । तर, यसमा विराटनगरवासीको सहयोग त्यति पाएनौं । आफ्नो घर र कार्यालयअगाडि सफा राखेर दुईवटा गमला राखौं भनेर मैले हरेक सार्वजनिक कार्यक्रममा महानगरवासीलाई भन्दै आएको छु । हरेक घरअगाडि सफा हुने हो र गमला राखिदिने हो भने कति सुन्दर हुन्थ्यो विराटनगर । घरभित्रबाट फोहोर ल्याएर सडकमा फ्याल्ने संस्कार हटेको छैन विराटनगरमा ।

जसले सडकमा फोहोर फ्याल्छ, उसले नै महानगरले सफा गरेन भनेर हामीलाई गाली गर्छ । स्वास्थ्य र फोहोर व्यवस्थापनको चुनौतीका रूपमा रहेको सुर्तीजन्य पदार्थको बिक्री–वितरण र सेवनमा हामीले रोक लगाएका थियौं । अदालतको आदेशपछि बिक्री–वितरण खुलेको छ । तर, हामीले सार्वजनिक स्थलमा खान र जथाभावी फोहोर फ्याल्न रोक लगाएका छौं । अदालतको आदेशपछि त झन् महानगरलाई देखाउन सुर्तीजन्य पदार्थ खाएर जथाभावी खोल फ्यालेको पाइन्छ । अदालतले बेच्न दिन आदेश दिएको हो । सेवन गरेर जथाभावी फोहोर गर्न त आदेश दिएको होइन नि ! फेरि पनि म सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा साथ दिन सबै विराटनगरवासीलाई आग्रह गर्छु ।

पुरानो र ऐतिहासिक सहर भएर पनि विराटनगर किन पछि परेको जस्तो लाग्छ ?
विराटनगरको हरेक क्षेत्रमा योगदान रहेको छ । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा अतुलनीय योगदान रहेको छ । वि.सं. १९९३ मा विराटनगर जुट मिल स्थापना भएसँगै नेपालमा आधुनिक औद्योगिक क्रान्ति सुरु भएको हो । सोही उद्योगबाट गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीहरूले सुरु गरेको मजदुर हड्तालकै कारण २००७ सालमा एकतन्त्रीय राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको हो । विराटनगरले देशलाई धेरै नै दियो । तर, अहिले यसो सोच्दा देशले विराटनगरलार्ई खासै दिएको रहेनछ भन्ने मलाई लाग्छ ।

कुनै बेला देशको दोस्रो ठूलो सहर थियो । तर, अहिले त्यो पनि रहेन । विराटनगरको खस्कँदो साख फर्काउन म लागिपरेको छु । अब सबै मिलेर विराटनगरलाई बनाउनु छ । विराटनगरमा जन्मिएर देशविदेशमा बसोबास गर्नुहुने सम्पूर्णलाई विराटनगरलाई माया गर्न अपिल पनि गर्छु । विराटनगरले धेरै नेता जन्मायो, उद्योगी–व्यवसायी पनि जन्मायो । तर, विराटनगरको सोचेजस्तो किन विकास हुन सकेन भन्ने विषय निकै नै सोचनीय छ । यसो विचार गर्दा विराटनगरको सम्पूर्ण ध्यान राजनीतिक परिवर्तनमा मात्रै गयो । राजनीतिक परिवर्तनको नेतृत्व पनि गर्‍यो । त्यसो भएकाले विराटनगरले आफ्ना लागिभन्दा देशका लागि बढी सोच्यो, त्यही भएर पनि पछि परेको हो कि भन्ने मलाई लाग्छ ।

विराटनगरमा आर्थिक विकासको सम्भावना कस्तो देख्नुहुन्छ ?
विराटनगर आर्थिक विकासको प्रचुर सम्भावना छ । जोगबनी–किमाथांका सडक निर्माण हुँदै छ । यो सडक निर्माण भइसकेपछि विराटनगर चीन र भारतको व्यापारिक केन्द्र बन्ने सम्भावना छ । भौगोलिक बनावटका कारण किमाथांका सडक बाह्रै महिना सञ्चालन हुन सक्छ । साथै चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको पनि सडक हो यो । कोसी प्रदेशको राजधानी भएकाले प्रदेशमा भएका सम्भावनाको फाइदा विराटनगरले लिन सक्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यही प्रदेशमा अवस्थित छ । सगरमाथा मात्रै नभइ ८ हजार मिटरभन्दा माथिका आठवटा हिमाल यसै प्रदेशमा छन् ।

विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न सकियो भने बाह्य पर्यटक पनि आउँछन् । विराटनगरबाट माउन्टेन फ्लाइट सञ्चालन गर्दा यहाँको पर्यटन व्यवसाय पनि फस्टाउने देखिन्छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिँदै आएको एयर ट्राफिक जामको समस्या पनि समाधान हुन्छ । धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना छ । हलेसी, पाथिभरा, बराहक्षेत्र पनि यही प्रदेशमा छ । १६ लाखभन्दा बढी जनसंख्या भएको छिमेकी मुलुक भारतको बिहार राज्यसित जोडिएको छ विराटनगर ।

यसबाहेक उत्तरप्रदेश र पश्चिम बंगाल पनि यही छेउछाउमा छन् । यी तीनवटा राज्यमा करिब ५० लाख जनसंख्या छ । त्यसबाट विराटनगरले फाइदा लिन सक्छ । स्वास्थ्य र शिक्षाको हब पनि बन्दै गएको छ, विराटनगर । जहाँ दुईवटा मेडिकल कलेज छन् । उत्पादन गर्न सके बजारको अभाव छैन । छिमेकी मुलुकमा जति पनि बेच्न सकिन्छ । कला, साहित्य, संस्कृतिमा समेत विराटनगर धनी छ । १२२ जाति बसोबास गर्ने विराटनगरलाई औद्योगिक, राजनीतिकसँगै सांस्कृतिक नगरीका रूपमा पनि विकास गर्न सकिन्छ । यी सबै सम्भावनालाई अवसरमा बदलेर भावी पुस्ताले गर्व गर्न लायक विराटनगर बनाउने प्रणका साथ कार्य गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्