बीमालेख छाड्नेको लर्को «
Logo

बीमालेख छाड्नेको लर्को

काठमाडौं– नियामक निकाय र बीमा कम्पनी दुवैले समयमा ध्यान दिन नसक्दा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या वर्षेनि बढ्दो क्रममा देखिएको छ । बीमा कम्पनीहरूले आफ्नो व्यवसायमा विश्वासको वातावरण बनाउन नसक्दा पोलिसी सरेण्डर गर्नेको संख्या बढेको हो ।

आर्थिक वर्ष २०७७–७८ मा ६३ हजार ३३१ वटा बीमालेख सरेण्डर हुँदा कम्पनीहरूबाट ९ अर्ब ८८ करोड रुपैयाँ फिर्ता भएको थियो । सो आवको तुलनामा आव २०७८–७९ मा बीमालेख सरेण्डर गर्नेको संख्या २९.२५ प्रतिशतले बढ्यो । सो आवमा ८१ हजार ८६० वटा बीमालेख सरेण्डर हुँदा १२ अर्ब १८ करोड रुपैयाँ फिर्ता भयो ।

आव २०७८–७९ को तुलनामा २०७९–८० मा पनि बीमालेख सरेण्डर गर्नेको संख्या बढ्यो । अघिल्लो आवको तुलनामा सो आवमा बीमालेख सरेण्डर १८.४१ प्रतिशतले बढेको बीमा प्राधिकरणको तथ्यांक छ । आव २०७९–८० मा ९६ हजार ९३८ वटा बीमालेख सरेण्डर भएको छ, जसबाट १३ अर्ब ३४ करोड रुपैयाँ फिर्ता भयो ।

यस्तै। आर्थिक वर्ष २०८०–८१ को पुससम्ममा ५३ हजार ११३ वटा बीमालेख सरेण्डर भएको छ, जुन अघिल्लो आवको तुलनामा ४५ प्रतिशतभन्दा बढी हो । यसरी हेर्दा चालु आवमा बीमालेख सरेण्डर गर्ने क्रम थप वृद्धि हुने देखिएको छ । गत आवको पुससम्ममा ४३ हजार ७१० वटा बीमालेख सरेण्डर भएका थिए । अघिल्लो आवको पुसको तुलनामा चालु आवको सोही समयमा बीमालेख सरेण्डर २१.५१ प्रतिशतले बढेको बीमा प्राधिकरणको तथ्यांक छ ।

अर्थतन्त्रमा आएको सुस्तता र बीमाप्रति उत्साह जगाउन सरोकारवाला निकाय चुक्दा बीमाबाट बाहिरिनेको संख्या बढ्दो रहेको जानकारहरू बताउँछन् । पछिल्ला वर्षहरूमा सरकारले नै बीमा क्षेत्रमा विश्वासको वातावरण सिर्जना गर्न नसक्दा यसप्रति वितृष्णा थपिएको हो । उदाहरणका लागि कोरोना महामारीको समयमा तत्कालीन बीमा समितिले कोरोना संक्रमितको उपचारमा सहजीकरणका लागि भन्दै कोरोना बीमा पोलिसी जारी गर्यो । कम्पनीहरूमा कोरोना बीमा गराउनेको भीड बढ्यो । तर, जब बिमित कोरोना संक्रमित भए, बीमाबापतको दाबी भुक्तानी पाउनका लागि निकै मुस्किल भयो । कम्पनीहरूको नियतमा खोट देखेका बिमितमध्ये कतिपयले अझै दाबी भुक्तानी पाएका छैनन् । उनीहरूले अन्य बीमा पोलिसीबाट पनि हात झिकेर बाहिरिएको प्राधिकरणकै कर्मचारीहरू बताउँछन् ।

यसबाहेक बीमा कम्पनीहरूले सुरूमा बीमा गराउन चासो दिए पनि पछि बेवास्ता गर्ने गर्दा यसप्रतिको वितृष्णा झनै बढेको जानकारहरू बताउँछन् । एकातिर अर्थतन्त्रको सुस्तताका कारण उपभोक्ताको क्रयशक्ति कमजोर भइरहेको छ भने अर्कातिर सरोकारवालाहरूले यसप्रति चासो दिन नसक्दा बीमालेख सरेण्डर गर्नेको संख्या बढ्दो क्रममा रहेको हो ।

गत आवको पुसको तुलनामा चालु आवको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीमा सक्रिय रहेको बीमालेख संख्या साढे ३ प्रतिशतले घटेको छ । २०७९ पुससम्म सक्रिय रहेको बीमालेख संख्या १ करोड ४२ लाख ६० हजार रहेकोमा गत पुससम्ममा घटेर १ करोड ३७ लाख ५५ हजारमा सीमित भएको छ । बीमा कम्पनीहरूले अर्थतन्त्रमा आएको शीथिलताले कम्पनीहरूको कारोबार खुम्चिएको बताउँदै आएका छन् ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल पछिल्ला वर्षहरूमा बीमालेख सरेण्डर गर्ने क्रम बढ्दै जानु निकै नै चिन्ताजनक विषय भएको बताउँछन् । प्राधिकरणले पनि यसबारेमा चासो दिइरहेको भन्दै उनले बीमा कम्पनीहरू पनि यसप्रति सजग हुनुपर्ने बताए । अर्थतन्त्रमा आएको सुस्तताका कारण उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासका कारण पनि बीमालेख सरेण्डर गरेर गुजारा चलाउने क्रम बढेको उनको भनाइ छ ।

पौडेलले भने, ‘अर्थतन्त्रले लय लिएपछि यो घट्छ भन्ने विश्वास छ ।’ बीमा कम्पनीहरूले सरेण्डर गराउने नभई अप्ठ्यारामा परेका बिमितलाई कर्जा प्रवाह गर्नेतर्फ ध्यान दिनुपर्ने उनले सुझाव दिए । पौडेलले भने, ‘सुरुमा सरेण्डर गरेर पैसा नै आउँदैन, जति ढिला सरेण्डर ग¥यो, त्यति राम्रो रकम आउँछ भन्ने कुरा सरोकारवाला सबैले बुझाइदिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्