Logo

भेरीमा एमआरआई सेवा सुरु

नेपालगञ्ज– नेपालगन्जको भेरी अस्पतालमा बिहीबारदेखि एमआरआई मेसिन सञ्चालनमा आएको छ । लामो समयको प्रतीक्ष पछि अस्पतालमा पहिलो पटक विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्री टी एमआरआई मेसिन सेवा सञ्चालनमा आएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एमआरआई मेसिन सञ्चालन सेवाको उद्घाटन गरेसँगै औपचारीक रुपमा सेवा सुरु भएको छ । सेवा सुरुवातका अवसरमा एकजना सेवाग्राहीलाई एमआरआई सेवा निःशुल्क सेवा प्रदान गरेको छ ।

नेपालगन्जकी १९ वर्षीया निलम वर्माले भेरीमा जडित एमआरआई मेसिनबाट पहिलो सेवा लिने अवसर पाएकी हुन् । उपमहानगरपालिकाका प्रमुख विष्टले अस्पतालमा एमआरआई सेवा सञ्चालनमा आएपछि बिरामीलाई निकै राहत हुने भन्दै सेवालाई दिगोपना बनाउनेतर्फ सोच्नुपर्ने बताए । नगरप्रमुख बिष्टले एमआरआई सेवा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक तथा आर्थिक सहयोग समेत उपमहानगरले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पवनजङ्ग रायमाझीले भेरी अस्पतालमा पहिलो पटक विशिष्ट क्षमताको एमआरआई मेसिन सञ्चालनमा आएको बताए । ‘यो मेसिन लुम्बिनी प्रदेशकै सरकारी अस्पतालमध्ये पहिलो हो’ उनले भने, ‘यसले बिरामीका विभिन्न रोग पहिचान गर्न सहज हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्