Logo

भरतपुर महानगर र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध

भरतपुर– चितवनका दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम गरिएको छ । बिहीबार माडी नगरपालिकामा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुई स्थानीय तहका प्रमुखले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । दुई स्थानीय तहको विकास र समन्वयका लागि दुई स्थानीय तहबीचमा औपचारिक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । माडीसँग एकदमै सकरात्मक सोच र उद्देश्यका साथ भगिनी सम्बन्ध कायम गरिएकाले यो सम्बन्धमा अझै प्रगाढ हुँदै जाने आशा एवम् अपेक्षा गरेको प्रमुख दाहालले बताइन् ।

प्रमुख दाहालले माडीलाई पर्दा भरतपुरले र भरतपुरलाई पर्दा माडीले सहयोग गर्ने गरी विभिन्न समानताका विषयमा एक भएर अगाडि बढ्ने अठोट लिएको प्रष्ट पारिन् । छोटो समयमा भएको सम्झौताअनुसार कार्यन्वयनमा पनि सबैको साथ र सहयोगको अपेक्षा लिएको उनले बताइन् । त्यस्तै माडी नगरपालिका प्रमुख महतोले माडी र भरतपुरको सम्बन्ध पाँच वर्षमात्र नभई सधैंसधैं अगाडि बढोस् भन्ने चाहना राखेको बताइन् । यो भगिनी सम्बन्ध माडी नगरपालिकाका लागि पहिलो सम्झौता भएकाले ऐतिहासिक विषय बनेको जानकारी दिए ।

भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने छ । भरतपुर महानगरपालिका र माडी नगरपालिका जोडिएका स्थानिय तह हुन् । यसलाई चितवन राष्ट्रिय निकुञ्जले सीमा छुट्याएको छ । यी स्थानीय तहको समस्या र सम्भावना समान प्रकृतिका रहेका छन् । त्यसैलाई मध्यनजर गदै यहाँका विकास निर्माण तथा सेवामूलक कार्यमा संयुक्त योजना बनाउने लक्षय लिइएको भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बताए । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मनाउँदै छ ।

भरतपुरमा घुम्न आउने पर्यटक माडीमा आउने वातावरण मिलाउन सहज हुने माडी नगरपालिका प्रमुख ताराकुमारीकाजी महतोले बताइन् । उनले माडी र भरतपुरको विकासका लागि भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा रहेका रहेका मुख्य धार्मिक तथा पर्यटकीयस्थलको महत्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचारप्रसार गरिने उल्लेख गरिएको छ ।

यस्तै कृषि, पशुपालन, उद्यमशीलता, शिक्षालगायतका सेवामूलक काममा सहकार्य गर्ने बताइएको छ । दमकल र एम्बुलेन्स सेवाको सञ्चालन तथा बस्ती विकासका लागि भू–उपयोग योजना तर्जुमा गरी अगाडि बढ्ने समझदारी पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्