Logo

सुर्खेतबाट आन्तरिक हवाई उडानको तयारी

फाइल तस्बिर ।

सुर्खेत– कर्णाली प्रदेशमा आन्तरिक हवाई सेवा सञ्चालनका लागि तयारी भइरहेको छ । सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारी भइरहेको हो । त्यसका लागि कर्णालीको निजी क्षेत्र, प्रदेश सरकार र प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले निरन्तर पहल गरिरहेका छन् ।

सबैको आग्रहलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगमले आन्तरिक हवाई सेवा विस्तारका लागि पहल थालेको छ । फागुन महिनाभित्रै हवाई उडान सेवा सुचारु गर्ने गरी तयारी भइरहेको बताइएको छ । मंगलबार मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल वायुसेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेशकुमार मरिता, नेपाल वायु सेवा निगमका इन्जिनियरिङ मेन्टेन्यास डिपार्टमेन्टका म्यानेजर देवेन्द्र पुन, नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख राजन ढुङ्गेललगायतले सुर्खेत विमानस्थलको अनुगमनसमेत गरेका छन् ।

मुख्यमन्त्री शर्माले आन्तरिक उडानका लागि आवश्यक पर्ने नीतिगत, भौतिक पूर्वाधार निर्माण निर्माणलगायतको क्षेत्रमा सहयोग गरिने बताए । ‘आन्तरिक उडान थप गरेर कर्णालीका जनताको जीवनयापनमा सहज बनाउन प्रदेश सरकार सहयोग गर्न तयार छ,’ शर्माले भने, ‘प्रदेश सरकार सुर्खेत विमानस्थल सुधारलाई प्राथमिकतामै राखेको छ ।’

नेपाल वायुसेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेशकुमार मरिताले प्रदेश सरकारले गरेको आग्रहलाई ध्यान दिएर जतिसक्दो छिटो सेवा उडान कार्य सुरु गरिने बताए । कर्णालीभित्र आन्तरिक उडान नहुँदा हिमाली जिल्लाका नागरिक लुम्बिनी प्रदेशको नेपालगन्ज हुँदै सुर्खेत आउनुपर्छ । सुर्खेतबाट नै आन्तरिक उडान सुचारु भए उक्त बाध्यताको अन्त्य हुनेछ । कुनै बेला जुम्ला विमानस्थलबाट सुर्खेतमा साना जहाज उडान भर्थे ।

प्रतिक्रिया दिनुहोस्