Logo

मलेसिया–भैरहवा दुईतर्फी उडान गर्न माग

भैरहवा– नेपाल वायुसेवा निगमको मलेसिया–भैरहवा एकतर्फी उडानलाई दुईतर्फी बनाउन माग भएको छ । निगमले गत जेठबाट मलेसियाको क्वालालम्पुरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा प्रत्येक साता मंगलबार नियमित उडान गर्दै आएकोमा सो उडानलाई सोही रुटमा दुईतर्फी उडान गराउन माग भएको हो ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले तत्कालका लागि सोही रुटमा साताको एक उडान नै भए पनि दुईतर्फी उडान सुरुवात गर्नुपर्ने बताए । ‘निगमले साताको एक पटक मलेसियाको क्वालालम्पुरबाट भैरहवा उडान गर्दै आएको छ, यसका लागि निगम व्यवस्थापनलाई हामी धन्यवाद दिन चाहन्छौं, धन्यवादसँगै सोही रुटमा दुईतर्फी उडान अर्थात् मलेसिया–भैरहवा–काठमाडौं/काठमाडौं–भैरहवा–मलेसिया उडान सुरुवात गरोस्, तत्कालका लागि हाम्रो माग हो,’ उनले कारोबारसँग भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघमा आबद्ध होटल व्यवसायी, ट्राभल एजेन्सी लगायतका पर्यटन सम्बद्ध संघसस्थाका प्रतिनिधिको रायअनुसार तत्काल अन्य वायुसेवा कम्पनीले यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नगरे पनि नेपाल वायुसेवा निगमले एकतर्फी भए पनि उडान गर्ने आशालाई जीवितै राखेको तथा सो उडानलाई सोही रुटमा दुईतर्फी गराउनुपर्ने रहेको श्रेष्ठले बताए ।

उडान दुवैतर्फी भए सो रुटमा हवाईयात्रुको अभाव नहुने श्रेष्ठको दाबी छ, ट्राभल एजेन्सी एवं पर्यटन व्यवसायीले सो रुटमा हवाईयात्रु अभाव नहुने र यात्रीहरूले विभिन्न माध्यमबाट सो रुटमा उडानबारे जिज्ञाशा राख्दै आएको श्रेष्ठले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार नेपाल वायुसेवा निगमले मलेसिया–भैरहवा उडानमा (२०२३ जुन १३ देखि डिसेम्बर ३१ सम्म) ११ सय ५७ यात्रु आएको र कनेक्टिंग फ्लाइटमार्फत ३३ जना गएको तथ्यांक छ ।

‘अहिले पनि एकतर्फी उडानमा औशतमा ४५ जना यात्रु मलेसियाबाट भैरहवा ओर्लने गरेका छन् । आउने यात्रुमध्ये प्राय: बिदामा आउने भएकाले उनीहरू फिर्ता जाँदा पनि यही रुट हुँदै पक्कै पनि जान चाहन्छन्, त्यसैले पनि निगमले यो रुटमा दुईतर्फी उडान साताको एक पटकमात्रै भए पनि सुरुवात गर्नुपर्छ, यो हामी निजी क्षेत्रको मात्र होइन समग्र लुम्बिनी प्रदेशको माग हो,’ श्रेष्ठले भने । श्रेष्ठले निगमले लिजमा ल्याउन लागेको दुई न्यारोबडी जहाज आएपछि भैरहवाबाट समेत उडान गर्ने गरी विज्ञप्ति आएको स्वागतयोग्य रहेको समेत बताए । अध्यक्ष श्रेष्ठले निगमसहित अन्य निजी विमानसेवा कम्पनीलाई आकर्षित गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे ।

यो विमानस्थलबाट उडान भर्ने विमानसेवा कम्पनीलाई कर छुट, यो विमानस्थल प्रयोग गरी जाने यात्रुलाई एअरपोर्ट ट्याक्स तथा टिकटमा मुअकर सहुलियत, विमानस्थलमा विमान आएवापत तिर्नुपर्ने सबै किसिमका कर एक निश्चित समयका लागि नि:शुल्क, काठमाडाैं भन्दा यहाँ भरिने हवाईइन्धन कम्तीमा दुई रुपैयाँ सस्तो, इन्धन यहींबाट काठमाडाैं जाने तर मूल्य भने काठमाडाैंसहित देशैभरि एकै रहेकाले काठमाडाैं बाहिर तराईका विमानस्थलमा इन्धन सस्तो हुनुपर्ने उनको तर्क थियो । त्यसैगरी कम प्रकाश (पुअर भिजिबिलीटी)मा पनि उडान अवतरण गर्नसक्ने प्रविधि आइएलएसको तत्काल सुरुवात र पहिलो पटक विदेश जानेको स्वास्थ्य परीक्षण भैरहवा बुटवलमै गरिनुपर्ने व्यवस्था गर्नसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्