स्मार्टफोनविहीन पुटिन

आजकाल स्मार्टफोन राख्ने कुरा आवश्यकताभन्दा पनि सोखको विषय भइसकेको छ । तर, विश्वकै दोस्रो शक्तिशाली व्यक्तिसँग स्मार्टफोन छैन भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ, तर वास्तविकता यस्तै छ । विश्वकै दोस्रो शक्तिशाली व्यक्ति अर्थात् रूसी राष्ट्रपति भ्लादिमिर पुटिन स्मार्टफोनबिना नै देश चलाइहेका छन् । रूसी एकेडेमी अफ साइन्सेसका वैज्ञानिकहरूसँग भएको हालसालैकै बैठकमा पुटिनले आफूसँग स्मार्टफोन नभएको खुलासा गरेका हुन् ।
पुटिनले वैज्ञानिकहरूलाई भनेका छन्, “तपाईंहरू के भन्नुहुन्छ भने प्रत्येक मानिससँग स्मार्टफोन हुनु आवश्यक छ, तर म तपाईंहरूलाई बताउँछु— मेरो साथमा अहिलेसम्म पनि स्मार्टफोन छैन ।”
गत वर्ष स्कुलका बालबालिकासँगको बैठकमा पुटिनले भनेका थिए, “म कहिलेकाहीं मात्रै इन्टरनेटको प्रयोग गर्छु ।”
आफूले सोसल नेटवर्किङ साइटको पनि कहिलेकाहीं मात्रै प्रयोग गर्ने गरेको उनले बताए ।