नीतिगत परिवर्तनको पर्खाइमा लगानीकर्ता «
Logo

साताको सेयर बजार

नीतिगत परिवर्तनको पर्खाइमा लगानीकर्ता

काठमाडौं– साताको पहिलो दिन आइतबार घटेको सेयर बजार त्यसपछिका चार कारोबार दिन भने निरन्तर बढेको छ । गत बिहीबार २०६७.०२ विन्दुमा रहेको नेप्से परिसूचक आइतबार घटेर २०६१.७० मा झरेको थियो । त्यसयता भने क्रमशः नेप्से बढ्दै गएर २०९६.३८ विन्दुमा पुगेको छ ।

यसबीच सोमबार २०७६.२८, मंंगलबार २०८५.७२ र बुधबार २०९०.६४ विन्दुमा परिसूचक पुगेको थियो । बजार विश्लेषण गर्दा यस साता बजार केही सुस्त देखिएको छ । परिसूचक २१ सय विन्दुभन्दा तल झरेपछि सुस्त देखिएको बजारले उल्लेख्य सुधार गर्न सकेको छैन ।

बजार धेरै घट्न पनि सकेको छैन भने २१ सय माथि पुग्न पनि सकेको छैन । यस साताको ४ कारोबार दिनमा ४३ अंकले माथि लागेर परिसूचक २०९६ विन्दुमा आएर रोकिएको छ । यो हिसाबले बजार बढ्दा एक कारोबार दिनमा औसत १८ अंकले बढेको छ भने कारोबार रकम ५ अर्ब १४ करोड रुपैयाँ देखिन्छ । यस्तै, बजार घट्दा भने औषत एक कारोबार दिनमा ५ अर्ब ८७ करोड रुपैयाँको साथ १३ अंकले घटेको देखिन्छ ।

‘यी सूचकांकलाई हेर्ने हो भने अंकको हिसाबले बजारको वृद्धि बलियो देखिन्छ । कारोबार रकमको हिसाबले पनि करेक्सन बलियो देखिन्छ,’ बजारका प्राविधिक विश्लेषक सुवाशचन्द्र ढुंगाना भन्छन्, ‘दुवै हिसाबले समग्रमा बजार अहिले अनिर्णयको स्थितिमा छ ।’ साप्ताहिक विश्लेषणअनुसार बजार ‘पाइभोट पोइन्ट’ माथि रहुन्जेल ‘प्यानिक सेल’ आउन सक्ने अवस्था नदेखिने उनी बताउँछन् । अहिलेको लागि ‘पाइभोट पोइन्ट लेभल’ २०५० भन्दा माथि नै रहेको उनको भनाइ छ । ‘साप्ताहिक आरएसआई ५७ छ । जसकारण ५० भन्दा माथि नै टिक्न सक्छ भने बजारमा स्ट्रेन्थ नै छ भनेर बुझ्न सक्छौं,’ उनले भने । अघिल्लो हप्ताको उच्चतम विन्दु २१३० लाई अबको हप्ताले तोड्न सक्ने उनको अनुमान छ ।

चालु आवको दोस्रो त्रैमासको बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणबाट निराश बनेका लगानीकर्ता यतिखेर केही लचक नीतिको खोजी गरिरहेका छन् । विशेषतः राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केही लचक नीति आउनेमा उनीहरू आशावादी छन् । यसले गर्दा पनि बजार पर्ख र हेरको अवस्थामा रहेको जानकारहरू बताउँछन् ।

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ४.९२ अंक बढेर २०९०.६४ विन्दुमा पुगेको थियो भने २ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि मंगलबार नेप्से परिसूचक ९.४४ अंक बढेर २०८५.७१ विन्दुमा पुगेको थियो भने कारोबार रकम बढेर २ अर्ब ५९ करोड पुगेको थियो ।

अघिल्लो साताका अन्तिम दुई कारोबार दिन र यस साताको आइतबार निरन्तर घटेको सेयर बजार सोमबार भने बढेर बन्द भएको थियो । सो दिन परिसूचक १४.५७ अंक बढेर २०७६.२७ विन्दुमा पुगेको थियो भने कारोबार रकम २ अर्ब २४ करोड रुपैयाँमा झरेको थियो । अघिल्लो साताको बुधबारयता घट्न थालेको नेप्से त्यसयताका तीन कारोबार दिनमा ५७.९ अंक घटेपछि सोमबारबाट भने बढेको हो ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५.३१ अंक घटेर २०६१.७० विन्दुमा झरेको थियो भने कारोबार रकम ३ अर्ब २१ करोडमा झरेको थियो । यसअघि झन्डै १० अर्ब हाराहारीमा दैनिक सेयर कारोबार हुने गरेको थियो । राष्ट्र बैंकले माघ अन्तिमसम्ममा चालु आवको दोस्रो त्रैमासको मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दैछ । मौद्रिक नीति समीक्षा पर्खिएकै कारण बजार सुस्त–सुस्त गतिमा अघि बढेको जानकारहरू बताउँछन् ।

यस्तै, अहिले बजार बढ्दै गर्दा छिटो बिक्री गर्ने र नाफा कमाउने होडबाजीमा ट्रेडरहरू देखिएका छन् । जसले गर्दा सेयर बजारमा यसको प्रभाव परिरहेको जानकारहरूको बुझाइ छ । जानकारहरूले बजार अझै माथि जाने बताउँदै आइरहेका छन् भने लगानीकर्ताहरू पनि त्यही आशामा छन् । तर बजारमा माग भने बढ्न सकेको छैन । बैंकको ब्याजदर पनि घट्दै गएको र बैंकमा लगानीयोग्य रकम पनि बढ्दै गएको छ । तर पनि बैंकिङ प्रणालीमा कर्जाको माग बढ्न नसक्दा सेयर बजारमा समेत यसको प्रभाव परेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्