Logo

तिनाउमा फलफूल बगैंचा व्यवस्थापन कार्यक्रम

बुटवल– पाल्पाको तिनाउ गाउँ पालिकामा फलफूल बगैंचा व्यवस्थापन कार्यक्रम सञ्चालन हुने भएको छ । पुराना फलफूल बगैंचा स्थापना गरेका किसानको सुदृढीकरणका लागि यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । पालिकाले फलफूल किसानको सुझावअनुसार नयाँ कार्यक्रम ल्याएको तिनाउ गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्तकुमार शर्माले बताए ।

‘गतवर्ष कृषिको योजना बनाउन कृषकको भेला गराएका थियौं । प्रधानमन्त्री आधुनिकीकरण परियोजना, निर्देशनालय र जिल्लाका कृषि ज्ञान केन्द्रबाट सरहरू आउनुभएको थियो,’ उनले भने, ‘भेलामा सुन्तला, कागती जातका फलफूल खेती गरेकाले पालिकाबाट कुनै प्रकारको सेवा पाएका छैनौ भन्ने कुरा आयो । मागलाई सम्बोधन गर्न कार्यक्रम ल्याएका हौं ।’ सुरुको वर्ष तीनवटा मात्र कार्यक्रम राखेको र प्रभावकारी हेरेर आगामी वर्ष फलफूल बगैंचा व्यवस्थापन कार्यक्रम विस्तार गर्न सकिने शर्माले बताए ।

कार्यक्रम अन्तर्गत फलफूल बगैंचा व्यवस्थापनका लागि किसानलाई मल, स्पेयर, सिकेचर, चुन, निलो तुथो तथा अन्य आवश्यक सामग्री सहयोग गरिने गाउँपालिकाको कृषि शाखाले जनाएको छ । यो कार्यक्रम सञ्चालन गर्नका लागि तीन लाख रुपैयाँ बजेट छुट्याइएको छ । जसअनुसार तीनजना किसानका लागि बढीमा एक लाख रुपैयाँ तथा कार्यक्रमको ५० प्रतिशत अनुदान उपलब्ध गराइने पालिकाले निकालेको सूचनामा उल्लेख छ ।

तीन जनाभन्दा धेरै किसानको निवेदन आएमा अनुगमनद्वारा छनोट गरिने कृषि शाखा अधिकृत शर्माको भनाइ छ । यो अनुदान कार्यक्रममा सहभागी हुने किसानले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ । तिनाउँ गाउँपालिकाको वडा नम्बर १, ५ र ६ नम्बर वडामा फलफूल बगैंचा रहेका छन् । यो कार्यक्रमले फलफूल बगैंचा भएका किसानलाई राहत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्