Logo

संस्थागत क्षमतामा राप्ती उत्कृष्ट

दाङ– स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा राप्ती गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजामा राप्ती गाउँपालिका जिल्लामै उत्कृष्ट भएको हो । राप्ती गाउँपालिका अघिल्लो आर्थिक वर्षमा पनि उत्कृष्ट भएको गाउँपालिकाका सूचना अधिकारी विश्वास विकले जानकारी दिए ।

पालिकामा सबैको सहयोगका कारण अघिल्लो आर्थिक वर्षजस्तै यस वर्ष पनि जिल्लामा उत्कृष्ट भएको सूचना अधिकारी विक बताउँछन् । पालिकाहरूले मूल्यांकन गर्दा गरेको काम र आवश्यक कागज पत्रसमेत पेश गर्नुपर्ने उनले बताए । ‘काम गरेरमात्र हुँदैन काम गरेको प्रमाणसमेत पेश गर्नु पर्दछ,’ सूचना अधिकारी विकले भने । विभिन्न सूचक निर्धारण गरिएको र त्यसैको आधारमा मूल्यांकन गर्ने गरिएको उनको भनाइ छ ।

मन्त्रालयका अनुसार शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय स्वमूल्यांकन विषयका क्षेत्र रहेका छन् । सोही सूचकका आधारमा आव २०७९/०८० मा गरिएको मूल्यांकनमा दाङमा सबैभन्दा धेरै ९३ अंक ल्याएर राप्ती गाउँपालिका उत्कृष्ट भएको हो ।

राप्ती गाउँपालिका लुम्बिनी प्रदेश रहेको पालिका हो । उत्कृष्ट हुने पालिकाले बजेटसमेत थप प्राप्त गर्ने भएको छ । स्वमूल्यांकनको आधारमा उत्कृष्ट हुने पालिकाकाले समानीकरण अनुदान बजेटसमेत थप हुने सूचना अधिकारी विक बताउँछन् । उत्कृष्ट हुनेले ५० लाखदेखि एक करोडसम्म थप अनुदान पाउने गरेको उनी बताउँछन् । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजामा घोराही उपमहानगरपालिका दोस्रो भएको छ । घोराही उपमहानगरपालिकाले ९१ अंक प्राप्त गरेको छ । नतिजाअनुसार ९०.२५ अंक ल्याएर लमही नगरपालिका जिल्लामा तेस्रो भएको छ ।

यस्तै बंगलाचुली गाउँपालिका ८८.७५ अंक, दंगीशरण गाउँपालिका ८५ अंक, बबई गाउँपालिका ८०.५ अंक, तुलसीपुर उपमहानगरपालिका ७८ अंक र शान्तिनगर गाँउपालिकाले ६२.५ अंक प्राप्त गरेका छन् । जिल्लाका दुई गाउँपालिकाको अहिलेसम्म नतिजा सार्वजनिक भएको छैन । नतिजा सार्वजनिक नभएका स्थानीय तहमा गढ्वा गाउँपालिका र राजपुर गाउँपालिका रहेका छन् । जिल्लामा १० वटा पालिका रहेका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेका छन् ।

स्थानीय तहको सबल र दुर्वल पक्षहरूको विश्लेषण गर्ने प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांन कार्यविधि, २०७७ अनुसार स्वमूल्यांकनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी आ–आफ्नो वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानुनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धिका बारेमा लेखाजोखा गर्न स्वमूल्यांकन गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्