Logo

गोरखा–आँबुखैरेनी खण्डमा सात करोडको पेट्रोल पम्प

गोरखा– गोरखा–आबुँखैरेनी सडक खण्डमा नयाँ पेट्रोल पम्प सञ्चालनमा आएको छ । गोरखामा विभिन्न पेशा र व्यवसायमा आबद्ध पाँच जना मिलेर सात करोड रुपैयाँको लगानीमा गोरखा नगरपालिका–११ को कोरेनीडाँडामा गोरखकाली फ्युल सेन्टर सञ्चालन गरेका हुन् ।

व्यवसायीहरू शरदबाबु कट्टेल, अच्युतलाल श्रेष्ठ, रामहरी केसी, भोला मरहट्टा र काजीराम श्रेष्ठको संयुक्त लगानीमा सेन्टर सञ्चालन गरिएको हो । फ्युल सेन्टरको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले उद्घाटन गरे । गोरखकाली फ्युल सेन्टर प्रालिले नेपाल आयल निगमबाट गत वर्ष प्रारम्भिक स्वीकृति लिएको थियो । पेट्रोल पम्पबाट चौबिसै घण्टा सेवा दिइने सञ्चालकले बताएका छन् ।

११ रोपनी क्षेत्रफलमा सवारी साधनले पेट्रोल र डिजेल भर्ने ठाउँ, ६० हजार लिटर क्षमताको डिजेल–पेट्रोल भण्डारण ट्यांकी, शौचालय, पार्किङ एरिया, कफिशप लगायतका संरचना निर्माण गरिएको छ । बैंकसँगको सहकार्यमा एटिएम सेवा सञ्चालन गर्ने र विद्युत प्राधिकरणसँग समन्वय गरी इलेक्ट्रिक सवारी चार्जिङ स्टेशन पनि बनाउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्