आर्मीले जित्यो सिमरा गोल्डकपको उपाधि «

आर्मीले जित्यो सिमरा गोल्डकपको उपाधि

बारा-त्रिभुवन आर्मी क्लबले दोश्रो पटक सिमरा गोल्डकपको उपाधि उचालेको छ । सिमरा रंगशालामा शनिबार भएको प्रतियोगितामा थ्रिस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मीले उपाधि जित्यो । आर्मीले यसअघि २०७१ मा छैंटौं संस्करणको उपाधि जितेको थियो । आर्मीलाई उपाधि दिलाउने क्रममा दिनेश हेम्जन र नवयुग श्रेष्ठले समान एक-एक गोल गरे । खेलको ५८ औं मिनेटमा दिनेश हेम्जनले आर्मीलाई अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले दोश्रो गोल गर्दा थ्रिस्टार विरुद्ध आर्मीले शानदार जित दर्ता गरायो ।
खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका सन्तोष तामाङ घोषित भए । खेलका विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, आयोजक क्लबका अध्यक्ष कासिम मियाँ, नेपाल खेलकुद पत्रकार महासंघका महासचिव प्रकाश तिमल्सिना लगायत विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसमेत त्रिभुवन आर्मीको खेल हेर्न सिमरा रंगशालामा उपस्थित थिए ।
सर्वोत्कृष्ट खेलाडी – दिनेश हेम्जन, त्रिभुवन आर्मी क्लब
सर्वाधिक गोलकर्ता – दिनेश हेम्जन, त्रिभुवन आर्मी (३ गोल )
सर्वोत्कृष्ट गोलरक्षक – विकेश कुथु, त्रिभुवन आर्मी
सर्वोत्कृष्ट डिफेन्डर – विमल पाण्डे, त्रिभुवन आर्मी
सर्वोत्कृष्ट फरवार्ड – जर्जप्रिन्स कार्की, त्रिभुवन आर्मी
सर्वोत्कृष्ट मिडफिल्ड – निराजन खड्का, थ्रिस्टार
फेयर प्ले टिम – आयोजक क्लब ‘निलो’

 

प्रतिक्रिया दिनुहोस्