नगरपालिकाको सक्रियतामा तोरी मिल

महेन्द्रनगर– कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा तोरी तेल उद्योग सञ्चालनमा आएको छ । सीमावर्ती बेलौरी नगरपालिका–४ मा तोरीको तेल उद्योग सञ्चालनमा आएको हो । बेलौरी तोरीको तेल ब्राण्डिङ लेभलिङ तथा प्याकेजिङ उद्योगले सोमबारदेखि उत्पादन सुरु गरेको हो ।
प्रशोधितसहित जिल्लामै पहिलो तोरीको तेल उत्पादन र बिक्री वितरण गर्ने उद्योग स्थापना भएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख पोतिलाल चौधरीले स्थानीय सरकारसहितको निजी क्षेत्रसँगको साझेदारीमा तोरीको तेल उद्योग सञ्चालनमा आएको बताए । उनले भने, ‘झण्डै ३० लाख लागतमा तोरीको तेल उद्योग सञ्चालनमा आएको छ ।’ नगरपालिकाको १५ लाख, बाली विकास तथा कृषि जैविक विविधता सरक्षण केन्द्रको १० लाख र सम्झौता सहकारी संस्थाको ५ लाख संयुक्त लागतमा उद्योग संचालनमा आएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रममार्फत ८० प्रतिशत लगानीमा उद्योग सञ्चालन गरेको नगर प्रमुख चौधरीको भनाइ छ । उद्योगले किसानबाट कच्चा पदार्थ खरिद गर्ने, प्रशोधन गरेर शुद्ध तोरी तेल बिक्री वितरण गर्ने उनले बताए । बेलौरीसहित आसपासका बेलडाँडी, लालझाडी र पुनर्वासमा समेत तोरी उत्पादनको राम्रो सम्भवना रहेकाले त्यसको उचित खपत गर्दै किसान र उपभोक्तालाई लाभान्वित गराउने योजना रहेको नगर प्रमुख चौधरीले बताए ।
‘स्थानीय स्तरमा उत्पादन भएको तोरीको उपभोगदेखि उत्पादित तेल प्रशोधनसहित बजारमा उपभोक्ताका लागि शुद्ध तोरीको तेल बिक्री गर्ने नगरपालिकाको लक्ष्य हो’ उनले भने, ‘यसबाट रोजगारी र नागरिकको स्वास्थ्य सुधार हुने छ ।’ उद्योग सञ्चालनमा आएपछि किसानले समेत तोरी बेच्नका लागि समस्या नहुने र उपभोक्तालाई शुद्ध तोरीको तेल उपभोगका लागि सहज हुने नगरपालिकाको अपेक्षा छ ।
सम्झौता बहुउदेश्यीय सहकारी संस्थाका लेखा संयोजक मनराज उपाध्यायले किसानलाई बिउसहित अनुदानका कार्यक्रम सञ्चालन गरेर तोरी उत्पादनमा सहयोग गर्दै आएको बताए । भारतीय बजारबाट मानव स्वाथ्यका लागि हानिकारक भएको तेल उपभोग गर्न बाध्य भएका उपभोक्तालाई र किसानलाई समेत सुविधा हुने उनको भनाइ छ । उनले नगरपालिकामै शुद्ध तोरीको तेल उत्पादन भएपछि किसानसमेत खुशी भएका बताए ।