Logo

हिमपात र चिसो मौसमले विकास निर्माण प्रभावित

सुर्खेत– मुलुक संघीय संरचनामा रुपान्तरण नहुँदा उपल्लो डोल्पा खासै चर्चामा आउने गरेको थिएन । माथिल्लो भेग भएकाले चीनको सिमानासँगै भाषागत समस्यााले गर्दा पनि उपल्लो डोल्पाका हरेक संस्कारहरु सबैसँग मिल्ने अवस्था थिएन । संघीयतासँगै स्थापना भएका स्थानीय तहले अहिले उपल्लो डोल्पालाई अन्य ठाउँसँग जोड्ने काम गरेको छ ।

टेलिफोन, मोबाइल, इन्टरनेट, सडक निर्माण, खानेपानी, सौर्य उर्जाबाट विद्युत उत्पादन र शिक्षालाई महत्व दिँदा अहिले उपल्लो डोल्पाले राज्यको नीति निर्माण तहमा बस्नेसँग प्रश्न गर्ने हैसियात बनाएको छ । डोल्पोबुद्ध गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकाको सीमा क्षेत्र ‘सिमेन’ देखि गाउँपालिका केन्द्र साल्दाङसम्म एक खण्ड र साल्दाङदेखि काराङ गाउँसम्मको अर्को खण्ड दुई खण्डमा सडक निर्माण भएसँगै यहाँका सर्वसाधारण खुसी भएका छन् ।

तत्कालिन जिल्ला विकास समितिले विनियोजन गरेको बजेटले उपल्लो डोल्पालाई सम्बोधन नगरेको तीतो यथार्थ यहाँका स्थानीयले भोगेका छन् । अहिले आफ्नो पालिकामा आफैं बजेट निर्माण, समस्या पहिचानदेखि समाधानसम्म हुँदा आफूहरुलाई संघीयता बरदान साबित भएको गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए । त्यस्तै सिंचाई योजना निर्माणको क्रम जारी छ । त्यस्तै विभिन्न स्वास्थ्य संस्था भवन, विद्यालय भवन, झोलुंगे पुल, ट्रस ब्रिज, गोरेटो बाटो, घोडेटो बाटो, पर्यटन पदमार्गलगायतका पूर्वाधार निर्माण भएको उनले बताए ।

भूगोल अत्यन्तै कठिन छ । सदरमुकामबाट पालिका केन्द्र पुग्ने सडक सञ्जाल छैन । पैदल हिड्नुपर्ने बाध्यता छ । पालिका केन्द्र पुग्न सदरमुकामबाट ४ देखि ५ दिनको पैदल यात्रा गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले बताए । टाढाका बस्तहरु भएका कारण सबै ठाउँमा सेवा प्रवाहमा समस्या हुँदै आएको उनले बताए । ‘कतिपय वडामा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न दुई दिनसम्म पनि लाग्ने गरेको छ । कठिन, भिरालो भूगोल तथा अप्ठ्यारा भीरले गर्दा सडक निर्माण, खानेपानी तथा सिंचाई पूर्वाधार निर्माणमा समस्याा छ’ अधिकृत ढकालले भने, ‘ठूलो मात्रामा लगानी लाग्ने र गाउँपालिकासँग आन्तरिक स्रोत कमजोर भएकाले त्यस्ता ठूला विकास निर्माणका कार्यहरू गर्न सकिएको छैन ।’

गाउँपालिकाको ८ र ९ बाहेक अन्य वडाका भूभाग ३८००/४००० मीटरभन्दा माथिको रहेका कारण भारी मात्रामा चिसो हुने गर्दछ । प्रायःजसो कात्तिक अन्तिमबाट हिमपात सुरु हुन्छ । यो हिमपातको क्रम फागुन अन्तिमसम्म जारी रहने हुँदा काम गर्न मुस्किल हुने गरेको हो । भौगोलिक विकटताले फिल्डमा ओहोरदोहोर गर्न समस्याा हुने गरेका कर्मचारीहरु बताउँछन् । एक वडाबाट अर्को वडासम्म जान २–३ दिनसम्म लाग्ने ठाउँहरू रहेको बताइएको छ ।

सबै वडामा स्वास्थ्य संस्थाको विकास नहुँदा समस्या भएको छ । हाल भूगोल र जनसंख्यालाई मध्यनगर गर्दै विभिन्न समुदायको पायक पर्ने स्थानमा ३ वटा स्वास्थ्य चौकी सञ्चालित छन् । अन्य स्वास्थ्य संस्थाहरू निर्माणका क्रममा छन् । गाउँपालिकाको ५ सैयाको अस्पताल निर्माणको योजना स्वीकृत भई जग्गा प्राप्ति भइसके पनि स्रोत सुनिश्चितता नभएका कारण काम अगाडी बढ्न सकेको छैन । दुर्गम क्षेत्रको स्वास्थ्य सेवाको विषय अत्यन्तै संवेदनशील रहेकाले यसमा सरकारले उचित ध्यान दिनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

पालिकाको चालु आर्थिक वर्षको कुल बजेट अनुमान करिब ३५ करोड रहेको छ । सडक सञ्जालका लागि पालिकाको यो बजेट सामान्य केही अंश मात्र रहेको छ । भौगोलिक विकटताले गर्दा साना साना विकासका योजनामा पनि ठूलो धनराशी खर्च हुने गरेको बताइएको छ । विकास गर्नुपर्ने क्षेत्र बहुआयामिक भएपनि स्रोतको अभावले सबै काम गर्न नसकिएको अधिकृत ढकालले बताए ।

सडक, भवन, कृषि तथा पशु क्षेत्र विकासका कार्यक्रम, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, उद्योग, पर्यटन पूर्वाधार, क्षमता विकासका कार्यक्रम, स्वास्थ्य, पोषणलगायतका सम्पूर्ण बहुआयामिक क्षेत्रको विकासका लागि हाल विनियोजित बजेट पर्याप्त नरहेको उनको भनाइ छ । अहिले सबै शीर्षकमा सानो सानो बजेट अंक वितरण हुने गरेको छ । पालिकाको आन्तरिक स्रोत कमजोर रहेकाले केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकमसमेत अत्यन्तै न्यून हुँदा काम गर्न गाह्रो हुने गरेको उनको भनाइ छ ।

केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गर्दा सुगम र दुर्गमको ख्याल नगरी सबै क्षेत्रलाई समान रुपमा हेरी बजेट विनियोजन हुँदा डोल्पामा मारमा परेको छ । सुगममा एक करोड लागत इस्टिमेट भएको कार्यको यहाँको लागत इस्टमेट ३÷४ करोडसम्म हुने गर्दछ ।

यहाँको मुख्य सम्भावनाको केन्द्रबिन्दु भनेको प्रशिद्ध फोक्सुण्डो ताल रहेको छ । ‘ताललाई कर्णालीको मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकियो भने यसले राम्रो फाइदा लिन सकिन्छ’ अधिकृत ढकालले भने, ‘एकातिर ठूलो संख्यामा पर्यटकरु भित्रन्छन् भने अर्कोतिर फोक्सुण्डो क्षेत्रका होटेल व्यवसायहरु फस्टाउँछन्, रोजगारी बढ्छ, सँग सँगै स्थानीय उत्पादनले बजारसमेत पाउँछ ।’ अर्को पर्यटनको गन्तव्य भनेको शे गुम्बा हो । प्रत्येक १२ वर्षमा शे–मेला लाग्छ । धार्मिक पर्यटनको हिसाबले यो उच्च सम्भावना बोकेको सम्पदा हो । त्यस्तै थासुङ छोलुङ गुम्बा, चार ताल, सुलिगाड झरनालगायत थुप्रै प्राकृतिक तथा धार्मिक सम्पदासमेतले पर्यटकीय सम्भावना बोकेका स्थल रहेका छन् ।

यहाँको अर्को सम्भावनाको क्षेत्र भनेको पशुपालन हो । यो क्षेत्र भेडा, च्यांग्रा र चौंरीका लागि उपयुक्त छ । पशु पालनलाई व्यावसायिक बनाउने, छुट्टा छुट्टै पकेट क्षेत्र निर्धारण गरि सरकारी तथा गैरसरकारी क्षेत्रसमेतबाट लगानी केन्द्रित गरेर स्थानीयलाई पशुपालनमा प्रोत्साहन दिने हो भने ठूलो मात्रामा अर्थोपार्जन गर्ने माध्यम बन्ने कुरामा शंका नरहेको जानकारहरु बताउँछन् ।

त्यस्तै जडिबुटी अर्को मुख्य सम्भावनाको क्षेत्र रहेको छ । यार्चागुम्बा संकलन र बिक्री वितरण यहाँका नागरिकको मुख्य आयास्रोत रहेको गाउँपालिकाले जनाएको छ । यार्चागुम्बाको घरेलु खेतीको समेत सम्भाव्यतालाई अगाडी बढाएर आधुनिक उन्नत प्रविधि र उत्पादन विधिको विकासबाट घरेलु रुपमा खेती गरियो भने आर्थिक लाभ हुने सम्भावना रहेको छ ।

गाउँपालिका प्रवेश गर्दा ४००० मिटरभन्दा माथिका धेरै जसो हिमाल पार गर्दै पैदल यात्रा गर्नुपर्ने यहाँको बाध्यता रहेको छ । हाइ अल्टिच्यूड सिकनेसको जोखिम रहेको छ । संघ र प्रदेशबाट प्राप्त हुने सशर्त, विशेष र समानिकरण अनुदानबाट धेरै काम हुने गर्दछ । चिसो हिमपातका कारण चैतको अन्त्यतिर गएर मात्रै पुनः विकासका कार्यहरू सुचारु हुने भएकाले समयावधि ५ महिनाको हुने गरेको गाउँपलिकाका अध्यक्षले बताए ।

संघ र प्रदेशबाट प्राप्त भएको सशर्त/विशेप/समपुरक अनुदान असार मसान्तसम्म खर्च गर्नसमेत मुस्किल हुँदै आएको उनको भनाइ छ । शे–फोक्सुण्डो गाउँपालिका जस्ता उच्च हिमाली क्षेत्रका स्थानीय तहका लागि आर्थिक वर्ष पुसदेखि मंसिर मसान्तसम्मको अवधिलाई निर्धारण गरिनुपर्नेमा यहाँका जनप्रतिनिधिको जोड छ ।

प्रतिक्रिया दिनुहोस्