निर्माण व्यवसायी क्याराभानको बदमासी
भेरी करिडोरमा पुलको ठेक्का लिँदै, अलपत्र पार्दै

सुर्खेत– सरकारको मुख्य प्राथमिकता अझै पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ । पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिलासुस्तीले भेरी करिडोरको यात्रा मृत्युमार्ग जस्तै बन्न पुगेको छ । आधा दर्जन पुल ठेक्का लागे पनि विभिन्न बहानामा अलपत्र पारेपछि भेरी करिडोरमा यात्रा गर्ने यात्रुलाई हैरानी हुँदै आएको हो ।
भेरी करिडोरभित्रको ५६ किलोमिटरभित्र यति बिल्डर्सले लिएको काम भारी मात्रामा गतिका साथ भए पनि सोही मार्गको बीचमा निर्माण हुने पुलको काम नहुँदा भेरी करिडोर सडकको कामले गति लिन सकेको छैन । क्याराभान हिराचन जेभीले २०७७ माघ २ गते लिएको पुलको काम अझै सुरु भएको छैन । उक्त जेभीले नलगाड नगरपालिकाको नलगाड खोला, झुर्मेखोलाको पक्की पुलको ठेक्का लिएको थियो ।
त्यस्तै उक्त जेभीले २०७७ माघ २ नै भेरी करिडोरकै नलगाड नगरपालिका–९ को त्रात्रखोला, वडा नम्बर ८ को मैदेखोला, वडा नम्वर ११ को ताक्सुगाड चौखामा ठेक्का लिएको थियो । यी पुलहरू भेरी करिडोरका लाइफलाइन हुन् । सडक विभाग बबरमहलमा काठमाडौंमा अहिले पुलको लिष्टबाहेक अन्य केही पनि पाइँदैन । सरकारी संयन्त्रले पुल निर्माणबारे कुनै पनि चासो दिएको देखिँदैन । निर्माण व्यवसायी चन्द्र थकालीले पनि जति ढिला भए पनि होस् भन्ने मनसायले पुल निर्माण् तर्फ ध्यान नदिएको स्पष्ट देखिएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।
पुल निर्माण किन रोखिएको भन्दै सडक विभाग पुगेका पूर्वमन्त्री सिंहले सडक विभागका महानिर्देशक सुसिलबाबु ढकाल, उपनिर्देशक ललिजन खनाललगायतसँग छलफल गरेपछि लामो समयदेखि अलपत्र परेका पुल निर्माणमा ध्यान दिन भेरी करिडोर सडक आयोजनालाई निर्देशन दिइएको छ । काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्कामाथि ठेक्का थुपारेर जिल्लाको विकास निर्माणमा बाधा पुगेको भन्दै पूर्वमन्त्री सिंहले लापरबाहीको पराकाष्ठा भएको बताए ।
त्यस्तै नलगाड नगरपालिका–१२ को तल्लुस्थित भेरी नदीको पुल र डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ र छलगाडको पुलको डिजाइन स्टिमेट पास भए पनि काम सुरु हुन सकेको छैन । डिजाइन स्टिमेटका लागि भन्दै सडक विभागमा डकुम्यान्ट बुझाए पनि केही पुलको डिजाइन स्वीकृत भएपनि केहीको अझै हुन बाँकी रहेको पाइएको छ । निर्माण व्यवसायी र विभागको मिलेमत्तोमा म्याद थप गर्दै डिजाइन स्वीकृत गर्न ढिला गरिरहेको सिंहले आरोप लगाए ।
पुलको ठेक्का लागेको तीन वर्ष सम्म डिजाइनदेखि पुल निर्माणको काम नै सुरु नहुनु भनेको भेरी करिडोरका जनतालाई धोका दिनु भएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । क्याराभानको नाम लिनेबित्तिकै सडक विभागको उच्च नेतृत्व हाँसेर उडाउने गरेको पाइएको छ । भारी ठाउँमा ठेक्का लिएर कत्तै पनि काम नगर्ने बदमान भइसकेको क्याराभानले भेरी करिडोरमा समेत सोही व्यवहार देखिएको मेयर रावतले बताए । भेरी करिडोर सडक आयोजनाले पुल निर्माण गर्नका लागि ताकेता कम गरेको पाइएको छ ।
अधिकांश समय निर्माणस्थल भन्दा बाहिर नै समय खटाउने यहाँका कर्मचारी पुल निर्माणका लागि दबाब नै दिन नसकेको पाइएको हो । सडक डिभिजन चौरजहारीबाट भेरी करिडोर अलग गरिए पनि निगरानी कम भएको छ । यत्ति बिल्डर्सले लिएको पुलको काम भने गतिमा गएको छ । रुकुम पश्चिमको आठबीसकोटको पिपचचौरस्थित छहरेखोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुल निर्माणको काम गतिमा रहेको छ ।
क्याराभानसँग पुलको विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । शक्ति केन्द्रको हिमचिमका कारण क्याराभानले ठाउँठाउँमा ठेक्का लिँदै अलपत्र पार्दै गरिरहेको सरोकारवालाले बताएका छन् । चौरजहारीमा लिइएको सडकको ठेक्कादेखि उपल्लो डोल्पामा स्वास्थ्य संस्थामा लिइएको ठेक्का समेत अलपत्र पर्दै आएको छ । जगदुल्ला जलविद्युत आयोजना स्थलमा जाने त्रिबेणी स्थित पुलसमेत अलपत्र पर्दै आएको पाइएको छ ।
आठ करोड पेश्की: पर्यटकीय पदमार्ग निर्माण अलपत्र
मुगुको रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाअन्तर्गत पर्यटकीय पदमार्ग निर्माणको काम अलपत्र परेको छ । पदमार्ग निर्माणका लागि ठेकेदार चन्द्र थकालीले आठ करोड रकम पेश्कीसमेत लिएका छन् । तर, पेश्की लिएको दुई वर्ष बितिसक्दासमेत पदमार्ग निर्माणको काम भएको छैन ।
कर्णाली प्रदेशको प्रमुुख पर्यटकीयस्थलको रूपमा चिनिँदै गएको मुगुको राराताल वरिपरि १५ किलोमिटर पर्यटन पदमार्ग निर्माण गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भएको दुई वर्ष बितिसक्दासमेत पदमार्ग निर्माण हुन नसकेको हो । पदमार्ग निर्माणको जिम्मा लिएको खानी थोदुङ क्याराभान कन्स्ट्रक्सन प्रालिले नै लापरबाही गरेपछि आयोजनाको काम अलपत्र परेको हो ।
रारामा पर्यटकीय पूर्वाधार साइकल लेन पदमार्ग निर्माणका लागि नेपाल सरकार संघीय सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा ४६ करोड ४२ लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटमा रही ठेक्का आह्वान गर्दा क्याराभान कन्स्ट्रक्सन प्रालिले ४४ करोड २९ लाखमा निर्माण कार्यको ठेक्का पाएको थियो ।
योजना निर्माणको जिम्मा पाएको कन्स्ट्रक्सन प्रालिका प्रोपाइटर चन्द्र थकालीले आठ करोड पेश्की लिएर केही महिना सम्पर्कविहीन नै बनेका छन् । योजना अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन भएपछि सम्पर्कका लागि कार्यालयले पटक–पटक ताकेतासमेत गरेको थियो । पर्यटन पदमार्ग निर्माणका लागि ल्याइएका सिमेन्टका इँटा, कंक्रिटजस्ता सामग्री यत्रतत्र छरपस्ट फालिएका छन् ।
तोकिएको समयमा काम सक्नेगरी योजना सम्झौता भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण काम अगाडि बढ्न सकेको छैन । जिल्ला वन डिभिजन कार्यालय मुगुका कार्यालय प्रमुख अमर साहका अनुसार उक्त बहुवर्षीय योजना ०८२ सालसम्म सक्नुुपर्ने भए पनि कम्पनीको लापरबाहीले काम हुन सकेको छैन ।
‘ठेकेदार कहिले सम्पर्कविहीन हुन्छन् त, कहिले काम सुरु गरेजस्तो गर्छन् । तर, हाम्रो कुरा मान्दैनन् । यसबारे मुख्यमन्त्री कार्यालयमा समेत गुनासो गरियो,’ कार्यालय प्रमुख साहले भने, ‘यसरी ठेकेदारको काम हेर्दा योजना सम्पन्न गर्नु मुस्किल छ । निरन्तर दबाब दिएपछि काम सुरु गरेका थिए । फेरि चिसो मौसमलाई दोष देखाउँदै काम रोक्नुभएको छ ।’
निर्माण गर्नुपर्ने १५ किलोमिटर पदमार्गमध्ये हालसम्म करिब सात किलोमिटर मात्रै काम भएको छ । तर, त्यही काम पनि अधुरो अवस्थामा छ । कार्यालयले करिब तीन वर्ष सम्ममा पनि सोचेअनुरूप काम नभएपछि पेश्की फिर्ताको बारम्बार चिठी पठाएको थियो । तर, सुनुवाइ भएन । यता, भएको कामको समेत ज्याला नपाएको भन्दै कामदारले गुनासो गरेका छन् ।
कर्णाली चिनाउने र कर्णालीको अर्थतन्त्रलाई थप बलियो बनाउन सक्ने सम्भावना बोकेको राराप्रति बाटोको यात्रा र बासका कारण पछिल्लोसमय गलत बुझाई बढ्दै गएको छ भने बाह्य पर्यटक पनि घटेका छन् । तसर्थ राराताल वरिपरि १५ किलोमिटर पर्यटन पदमार्ग समयमै निर्माण भएको खण्डमा पर्यटकलाई समेत यात्रामा सहज हुने देखिन्छ ।