Logo

गोरखाको नगरसभा तत्काल बोलाउन माग

गोरखा– नेपाली कांग्रेसबाट निर्वाचित गोरखा नगरपालिकाका जनप्रतिनिधिहरुले तत्काल नगरसभा बोलाउन माग गरेका छन् । नगरपालिकाका प्रमुख कृष्णबहादुर राना र नगरसभा सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीलाई पत्र बुझाउँदै उनीहरुले अबिलम्ब नगरसभाको अधिवेशन बोलाउन ध्यानाकर्षण गराएका हुन् ।

गोरखा नगरपालिकाले निर्धारित मिति गुज्रिसक्दा पनि नगरसभा आयोजना गर्न नसकेपछि तत्काल नगरसभाका लागि प्रमुखको ध्यानाकर्षण गराएको पत्रमा उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४, दफा १९ तथा गण्डकी प्रदेशको स्थानीय तहको सभा सञ्चालन सम्बन्धी कार्यविधि(ऐन) २०७५, परिच्छेद २, दफा ३(१ र २) बमोजिम एउटा सभा सम्पन्नभएको मितिले ६ महिनाभित्र अर्को सभा गर्नुपर्ने उल्लेख छ ।

तर, गोरखा नगरपालिकाले मिति गुज्रिएर तीन हप्ता बितिसक्दा पनि नगरसभा सम्पन्न गर्न सकेको छैन । गोरखा नगरपालिकाले पुस मसान्तभित्र नगरसभा गरिसक्नु पर्नेमा सो आयोजना गर्न नसकेको हो । नगर कार्यपालिका र नगरसभाबाट हुनुपर्ने कतिपय निर्णयमा ढिलाई हुँदा नगरपालिकाको समग्र कार्य सम्पादन अवरुद्ध भएको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बताएका छन् ।

विकास निर्माण, सेवा प्रवाह, नीतिगत निर्णय, आयस्रोत लगायतका सर्वपक्षीय कार्यलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाई जनतामा सुशासनको प्रत्याभूती दिलाउन नगरसभा अधिवेशन आवश्यक भएको पत्रमा उल्लेख गरिएको छ । नगरसभा हुन नसक्दा गत पुस १७ र १८ गतेको कार्यपालिका बैठकमा पेश भएका मध्ये खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड लगायतका १८ वटा प्रस्ताव अनिर्णित भएको, जग्गा वर्गीकरण सम्बन्धी काम हुन नसकेको, नदिजन्य पदार्थ रहेको क्षेत्रको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन हालसम्म स्विकृत हुन नसकेको पत्रमा उल्लेख छ ।

यस्तै नगर कार्यपालिका र नगरसभामा छलफल नहुँदा गत वर्षको पृथ्वी जयन्तीमा भएको खर्चको हालसम्म भुक्तानी हुन नसकेको, नगरस्तरीय योजनामा एकमुष्ट रुपमा छुट्याइएको रकमको आवश्यकताका आधारमा बाँडफाँड हुन नसकेको लगायतका कारण छिटो नगरसभा बोलाउन कांग्रेसका जनप्रतिनिधिले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को (३) अनुसार सभाका एक तिहाइ सदस्यले सभाको बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष वा प्रमुख समक्ष विषय र कारण खुलाइ लिखित अनुरोध गरेमा १५ दिनभित्र सभाको विशेष बैठक बोलाउनु पर्ने व्यवस्था छ । ७४ सदस्य रहेको गोरखा नगरपालिकाको नगरसभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ४९ जना रहेका छन् । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई बुझाइएको पत्रमाभने कांग्रेसबाट निर्वाचित ४३ जनाको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्