Logo

रोकिएका कम्पनीका आइपीओ निष्कासन गर्न अनुमति दिन आग्रह

‘बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने’

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको बताएका छन् । बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए । उनले विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने बताए ।

उनले श्रोत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यस भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको बताए । अर्थमन्त्री महतले समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको दाबी गरे । उनले वाह्य क्षेत्र पनि नेपालमा लागानी गर्न सकारात्मक रहेको दाबी गरे । महतले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताए ।

उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनेहरुका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरुले ऋण तिर्नुपर्ने बताए । माफी गर्नसक्ने आर्थिक श्रोत देशको नरहेकाले ऋण माफी नहुने बताए । केही मानिसहरु राजनैतिक निहीत उद्देश्य लिएर तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भएको टिप्पणी गरे । उनले अहिले सहकारीको रुप नै नरहेको जिकिर गरे ।

अनुगमन नभएकै मौका उठाएर केही सञ्चालकहरुले दुरुपयोग गरेको उनले बताए । अर्थमन्त्री महतले बैंकको जस्तो कारोबार गर्ने वित्तीय संस्थाहरु सहकारी हुन नसक्ने बताए । ठूलो कारोबार गर्ने सहकारीहरुलाई राष्ट्र बैंकको मातहतमा ल्याइने बताए । सहकारी मर्ज गर्ने हो भने राष्ट्र बैंकको वित्तीय संस्थाको रुपमा जानुपर्ने बताए । अर्थमन्त्री डा. महतले आफूले आएर काम गरेपछि शेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको दाबी गरे ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन् । सोही कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले करिव २५ देखि ३० वटासम्म कम्पनीहरु नियमित आइपीओमा लैजानका लागि लाइनमा रहेको भएपनि केही म्हिना यता रोकिएको बताए । उनले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपीओ निष्कासन गर्न दिनुपर्ने बताए ।

उनले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपीओ निष्कासन रोक्नु नहुने बताए । अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसावले सन्देश गइरहेको कुराले आम सर्वसाधारणलाई अन्योल सिर्जना गरेको बताए । उनले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको बताए । नेपालमा लगानी गर्ने वतावरणमा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्