प्रदेश ७ मा पूर्ण आकारको मन्त्रिमण्डल

धनगढी- प्रदेश ७ मा सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । शनिबार मुख्यमन्त्री त्रिलोचन भट्टसहित अन्य ६ जनाको मन्त्रीमण्डल गठन भएको हो । बाम गठबन्धनको संयुक्त सरकार भएको यस प्रदेशमा एमालेले चार मन्त्रालय र माओवादीले मुख्यमन्त्रीसहित तीन वटा मन्त्रालय पाएको छ ।
तीन दिनसम्मको छलफलपछि शनिबार दुई दलबीच मन्त्री र मन्त्रालय बाँडफाँडमा कुरा मिलेपछि सात सदस्यीय मन्त्रीमण्डल गठन गरिएको हो । एमालेको भागमा आन्तरिक मामिला र कानुन, भौतिक पूर्वाधार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय परेको छ भने माओवादी केन्द्र मुख्यमन्त्रीसहित आर्थिक तथा योजना र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय परेको छ ।
नवनियुक्त मुख्यमन्त्री भट्ट र मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले शनिबारै सपथ गराएका छन् । भट्टले संविधानको धारा १७२ तथा प्रदेशसभा सञ्चालन अन्तिरम कार्यविधि नियमावली २०७४ को दफा ८ बमोजिम सपथ लिए । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
एमालेले आफ्नो भागमा परेका मन्त्रालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बाजुराबाट निर्वाचित प्रदेश सांसद तथा संसदीय दलका नेता प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार मन्त्रीमा डडेल्धुराबाट निर्वाचित प्रदेश सांसद पठानसिंह बोहरा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बैतडीकी निर्वाचित प्रदेश सांसद माया भट्ट र सामाजिक विकास मन्त्रीमा कैलालीका निर्वाचित प्रदेश सांसद दीर्घ सोडारी छन् ।
त्यस्तै माओवादीको भागमा परेका मन्त्रालयमा आर्थिक तथा योजना मन्त्रीमा अछामका निर्वाचित प्रदेश सांसद झपट बोहरा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा कैलालीकी समानुपातिक प्रदेश सांसद सांसद विनाता चौधरी रहेका छन् ।