Logo

उपत्यका बाहिरबाट ६ महिनामा ५७ हजारलाई विदेश जान स्वीकृति

घरपायक श्रम स्वीकृति लिने बढे

काठमाडौं– सरकारले वैदेशिक रोजगारीको श्रम स्वीकृति सेवा विकेद्रिकरण गरेर घरपायक सेवा दिन थालेपछि ६ महिनामा ५७ हजार युवाले प्रदेशस्तरबाटै श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृतिको काम प्रदेशस्तरका ६ वटा श्रम कार्यालयबाट सुरु भएपछि चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ५७ हजार १५९ जनाले श्रम स्वीकृति लिएका हुन् ।

गत आवको पुसबाट प्रदेशस्तरबाट पूर्णरुपमा श्रम स्वीकृति दिन थालिएसँगै सो समयमा दुई हजार पाँच सयले मात्र श्रम स्वीकृति लिएका थिए । तर आर्थिक वर्ष २०७८/०८९ भरी श्रम स्वीकृति लिनेको संख्या ५२ हजार ६७९ रहेको थियो । गत एक आवमा लिएको श्रम स्वीकृति भन्दा यो आवको ६ महिनामा लिएको श्रम स्वीकृतिको संख्या बढी देखिएकाले प्रदेशस्तरबाट सेवा लिनेको संख्या बढ्दै गएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणीनाथ गोपले प्रदेशस्तरमा रहेका कार्यालयबाट श्रम स्वीकृति लिनेको संख्या बढेसँगै ती कार्यालयमा कार्य बोझसमेत बढेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा उपत्यका बाहिरबाट श्रम स्वीकृति सेवा लिनेको संख्या ४४ प्रतिशतले वृद्धि भएको छ । सरकारले २०७५ सालदेखि पुनः श्रम स्वीकृति सेवा प्रदेशस्तरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट गर्दै आएकोमा गत वर्षदेखि श्रम स्वीकृतिका अन्य सेवा पनि दिने निर्णय गरेपछि उपत्यका बाहिरबाट सेवा लिनेको संख्या बढेको हो ।

विभागका निर्देशक गोपले विभागबाट हुँदै आएको श्रम स्वीकति सेवा विभागअन्र्तगतका कार्यालयबाट सोझै हुने गरेका कारण युवा काठमाडौं आउनु पर्ने झन्झट हटेको बताए । विभाग मातहतका कार्यालयका सीमित जनशक्ति प्रयोग गरेर विगत दुई वर्षदेखि श्रम हुँदै आएको छ । विभागले सबै श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रवाह हुने गरी पूर्वाधार तयार भएको जनाएको छ ।

हाल वैदेशिक रोजगार कार्यालय काठमाडौंका अतिरिक्त श्रम तथा रोजगार कार्यालय विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट अनलाइनमार्फत सेवा विस्तार गरिएको छ । सरकारले श्रम स्वीकृति, मेनपावर र अभिमुखीकरण संस्थाले लिने सेवालाई विकेन्द्रिकरण गर्ने निर्णय गर्दै गत आवको माघबाट सबै प्रकारका सेवा प्रदेशस्तरबाट सुरु गर्ने निर्णय गरेको थियो ।

नयाँ श्रम स्वीकृतिका लागि मागपत्र, सम्झौतापत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भएकाले कार्यसम्पादन केही ढिलो भने हुने गरेको छ । श्रम स्वीकृतिसहित वैदेशिक रोजगार सम्बन्धी सेवा घरपायक विस्तार गरेपछि हजारौं खर्च गरेर काठमाडौं आउनुपर्ने झन्झट हटेको छ । यसअघि श्रम स्वीकृति सेवा लिन काठमाडौं आउँदा प्रतियुवा थप १० हजार रुपैयाँ भन्दा बढी खर्च हुने गरेको थियो ।

काठमाडौं बाहिर हाल ३२ भन्दा बढी मेनपावरका शाखा कार्यालयले वैदेशिक रोजगारीका लागि श्रमिक भर्ना र छनोटको काम गरिरहेका छन् भने काठमाडौंमा ८७८ कार्यालय रहेका छन् । २०७५ सालदेखि धनगढी, सुर्खेत, पोखरा, जनकपुर, बुटवल र विराटनगरबाट पुनः श्रम स्वीकृतिको काम मात्र हुँदै आएको थियो । वार्षिक औसत सात लाख ७० नेपालीले आवेदन दिने श्रम स्वीकृतिको सेवा प्रदेशस्तरमा विस्तार गरेसँगै विभागको काठमाडौं कार्यालयमा भिडभाड कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्