१८ खर्ब १६ अर्ब पुग्याे सञ्चिति, हालसम्मकै उच्च «
Logo

चालु खाता र शोधनान्तर बचतमा

१८ खर्ब १६ अर्ब पुग्याे सञ्चिति, हालसम्मकै उच्च

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा पुस मसान्तमा १८ दशमलव नौ प्रतिशतले वृद्धि भई रु १६ खर्ब २३ करोड पुगेको छ । राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकामा पुस मसान्तसम्म पुग्दा ११ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ ।

गत पुस मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव पाँच महिनाको वस्तु आयात र १२ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यो अवधिसम्ममा रहेको विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३३ दशमलव आठ, सय दशमलव ९ र २७ दशमलव ७ प्रतिशत छन् ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा चालु खाता रु एक खर्ब ६१ अर्ब ६२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३५ अर्ब ५७ करोडले घाटामा थियो । यो अवधिमा पुँजीगत ट्रान्सफरमा भने ३० प्रतिशतले कमी आई रु तीन अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु चार अर्ब ५३ करोडले धनात्मक रहेको छ ।

यस्तै, अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर रु सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख सात हजार नौ सय ७० र पुनःश्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार चार सय ३५ रहेको छ ।

यो अवधिसम्ममा शोधनान्तर स्थिति रु दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ । कूल विदेशी विनिमय सञ्चिति रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । सरकारको खर्च रु पाँच पाँच खर्ब ६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु चार खर्ब ९६ अर्ब ५० करोड रहेको छ । बैंकको तथ्यांकअनुसार विस्तृत मुद्राप्रदाय छ दशमलव चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दशमलव तीन प्रतिशतले बढेको छ ।

पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन छ दशमलव छ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमललव नौ प्रतिशत रहेको छ । बैंकको प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम भएको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति पाँच दशमलव २६ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव ८५ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक घटेको छ ।

मरमसला र चिनी तथा चिनीजन्य वस्तु उपसमूहको सूचकांकमासमेत क्रमशः कमी आइरहेको देखिएको छ । “वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकांक, तलब तथा ज्यालादर र थोक मूल्य सूचकांकको वृद्धिदरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मकरुपमा कम दबाब पर्न गएको छ”, राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक क्रमशः १३ दशमलव ०७ प्रतिशत, एक दशमलव ०४ प्रतिशत र शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक भने ३५ दशमलव ६० प्रतिशतले बढेको छ । त्यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ११ दशमलव ३८ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव १४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव २९ प्रतिशत र फलफूलको १० दशमलव १५ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक एक दशमलव ६२ प्रतिशतले घटेको छ । मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२ दशमलव ८४ प्रतिशत, विविध वस्तु तथा सेवाको नौ दशमलव ७३ प्रतिशत, शिक्षाको आठ दशमलव ९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव १८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको चार दशमलव ९६ प्रतिशतले बढेको छ ।

गत पुस महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ७६ प्रतिशत छ । यो अवधिमा तराईको मूल्यवृद्धि चार दशमलव ७८ प्रतिशत, पहाडको पाँच दशमलव ४० प्रतिशत र हिमालको छ दशमलव ५७ प्रतिशत छ । चालु आर्थिक वर्षको पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ३६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति नौ दशमलव ८२ प्रतिशत रहेको थियो, गत पुसमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति छ दशमलव १६ प्रतिशत, मध्यवर्ती वस्तुको एक दशमलव ९९ प्रतिशत र पुँजीगत वस्तु दुई दशमलव ७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति एक दशमलव ०८ प्रतिशतले घटेको छ । यो अवधिमा आयात तीन दशमलव एक, निर्यात सात दशमलव दुई प्रतिशत र कूल वस्तु व्यापार घाटा दुई दशमलव छ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्