काम नगर्ने ठेकेदारलाई ठेक्का माथि ठेक्का

सुर्खेत– जाजरकोटका तीन पालिकामा प्रदेश सरकारले निर्माण गर्न लागेका सडक, पुलको ठेक्का लागेको लामो समय भए पनि निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । कतिपय ठाउँमा पुल निर्माण नहुँदा मानिसको अकालमै ज्यानसमेत गएको छ । नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा नेपाल मेघा सिस्ने जेभीले लिएका ठेक्का अलपत्र परेका छन् ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जाजरकोटस्थित पूर्वाधार विकास कार्यालयमार्फत ती ठेक्का गरेको थियो । बहुवर्षे नाम दिइएको उक्त ठेक्काको काम सुरु नै नहुँदा कार्यालय प्रमुखदेखि अन्य सरोकारवालालाई टाउको दु:खाइको विषय बनेको छ । निर्माण व्यवसायीलाई काम गर्न पटकपटक कार्यालयले पत्र काटछ, तर निर्माण व्यवसायी हुन्छ भन्दै काममा अहिलेसम्म फर्केको छैन ।
तीन करोड ९८ लाखमा नलगाड नदीमाथि नलगाड नगरपालिका–५ सिर्के र बारेकोट गाउँपालिका–८ साघुतरामा पुल अलपत्र परेको छ । जसको अन्तिम सम्झौता मितिसमेत ६ महिनाअघि समाप्त भइसकेको छ । त्यहाँ अहिलेसम्म काम सुरु नै भएको छैन । त्यस्तै छेडागाड नगरपालिकाको साल्म खोलामा रहेको पुलसमेत अलपत्र पर्दै आएको छ । ४८ करोड ८० लाखमा निर्माण हुने उक्त पुलको ठेक्कासमेत यही जेभीले लिएको छ । २०७८ साउन २९ मा पुल निर्माणका लागि सम्झौता भएको थियो ।
पुलको अन्तिम मिति २०८० माघ २८ गते सकिँदै छ । कामको प्रगति तीन प्रतिशतमात्र भएको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादव बताए । यो पश्चिम जाजरकोटभित्र पर्ने छेडा–जुम्ला सडकको मुख्य पुल हो । यो पुल निर्माण नहुँदा पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित हुँदै आएको छ । म्याद सकिन आठ दिनमात्र बाँकी रहँदा निर्माण व्यवसायीले पुल निर्माणतर्फ चासो नै देखाएको छैन ।
कार्यालयले आधा दर्जन पत्र काटिसके पनि पुल निर्माणको काम अगाडि बढ्न सकेको छैन । सोही सडक खण्डको छेडा, थालह सनाखोला चाँदे जुम्ला सडक, जुनिचादेमा निर्माण सडकसमेत काम नहुँदा अलपत्र पर्दै आएको छ । ३० किलोमिटर सडक निर्माण गर्नुपर्ने भए पनि नेपाल मेघा सिस्नेले काम नगर्दा अलपत्र पर्दै आएको हो । १५ करोड ५२ लाखमा सम्झौता भएको उक्त सडकको अहिलेसम्म दुई प्रतिशतमात्र काम भएको छ ।
यो सडकको अन्तिम मिति २०८२ पुस ४ गते रहेको छ । २०७८ पुस ५ गते सम्झौता भएको थियो । २४ लाख ७१ हजार मात्र यो सडकमा खर्च भएको छ । पश्चिम जाजरकोटको पुल र सडकका विकासको बाधकको रूपमा उक्त जेभी देखापरेको स्थानीयबासी बताउँछन् । समयमै काम नगर्दा पश्चिम जाजरकोटको सडक मृत्युमार्ग जस्तै भएको जुनिचाँदेका रेशम खड्काले बताए ।
सडक तथा पुल निर्माणको ढिलाइका विषयमा कार्यालयले गरेको ताकेतासमेत निर्माण व्यवसायीले नटेर्दा प्रशासनको सहयोग लिनुपरेको छ । प्रशासन कार्यालयको पनि जिल्लामा भएका विकास निर्माणका काममा खासै चासो नभएको खडकाले बताए । जिल्लाबाट निर्वाचित भएर गएका जनप्रतिनिधिसमेत विकास निर्माण हुने गरेको ढिला सुस्तीका विषयमा मुकदर्शक भएको आरोप लाग्दै आएको छ ।
त्यस्तै बारेकोट गाउँपालिका–२ र ५ को बीचमा रहेको घाटस्थित नलगाड खोलाको पुल निर्माण अलपत्र परेको छ । एकमात्र पिल्लर उठाएर बीचमा काम रोकिएको छ । नारायनम निर्माण सेवा नेपालगन्ज–१८ बाँकेले लिएको उक्त पुलको काम चार करोड ६५ लाखमा लिएको थियो । २०७९ जेठ २३ गते सम्झौता भएको उक्त पुलको २०८० मंसिर सकिएर पुन म्याद थपेर २०८१ मंसिर २२ बनाएको छ ।
एक करोड ४० लाख रुपैयाँ निर्माण व्यवसायीले भुक्तानी लिएको कार्यालयले जनाएको छ । ३० प्रतिशत काम भएको कार्यालयले जनाएको छ । सुरुमा काम राम्रो गरेका भए पनि पछिल्लो समय काम बीचमै छाडेर सम्पर्कमा आउन छाडेको कार्यालय प्रमुख यादवले बताए । पटकपटक पत्र काटेर छलफलमा आई काममा लाग्न आग्रह गरिए पनि निर्माण व्यवसायीले नसुनेको उनको गुनासो छ ।