संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारीमा एमाले
जनताका पक्षमा दरिलो भूमिका खेल्न निर्देशन

काठमाडौं- आज (सोमबार)देखि संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन सुरु हुँदैछ । संघीय संसद्को हिउँदे अधिवेशन दिउँसो ४ बजेदेखि सुरु हुँदैछ । विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशनमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनका लागि सांसदहरुले आ–आफ्नो तयारी गरिरहेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा दाहालले पार्टीको नीति एवं सरकारले गरेका राम्रा कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत गर्न नर्देशन दिएका हुन् ।
प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै रु तीन करोडभन्दा साना योजना केन्द्रमा नराखी तल्लो तहमा पठाइने उल्लेख गरे । उनले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । दाहालले वर्तमान व्यवस्था विरोधी गर्नेहरुको विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुन समेत निर्देशन दिए ।
प्रधानमन्त्री दाहालले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण नयाँ ढंगले गर्न लागिरहेको बताए । उनले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाइने उल्लेख गरे । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास गर्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुंग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।”
बैठकमा सांसदहरुले चालु अधिवेशनमै संक्रमणकालीन विषय टुंग्याइनुपर्नेमा जोड दिएका थिए । बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट रोजगारी सिर्जना र कृषि क्षेत्रमा केन्द्रित गर्न सुझाव दिएका थिए । बैठकमा सांसद जनार्दन शर्मा, महेन्द्रबहादुर शाही, सुरेश आले मगरलगायतले धारणा राखेका थिए ।
यस्तै, नेकपा (एमाले)को संसदीय दलले संघीय संसद्को हिउँदे अधिवेशनमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न सो दलका सांसदलाई निर्देशन दिएको छ । सो दलका सचेतक महेश बर्तौलाले आइतबार सम्पन्न दलको बैठकमा सो निर्णय भएअनुसार निर्देशन दिइएको जानकारी दिए । उनले चालु अधिवेधनका बैठकहरुमा विगतमा भन्दा अझ सशक्त र प्रभावकारीरुपमा प्रतिपक्षको भूमिका निर्वाह गरिने बताए ।
दलको बैठकले संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिएको छ । यस्तै बैठकले युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्थालाई ध्यान दिई अप्ठ्यारोमा रहेका नेपाली युवालाई अविलम्ब स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ ।