स्थानीय वस्तुलाई प्रोत्साहन गर्दै प्रदेश सरकार

हुम्ला– कर्णाली प्रदेश सरकारले औद्योगिक ग्राम सञ्चालनमार्फत हरेक स्थानीय तहमा सञ्चालनमा रहेका उद्योगलाई प्रदेशस्तरीय रूपमा प्रोत्साहन गर्नका लागि कार्यक्रम ल्याएपछि हुम्लाका दुईजना व्यवसायीले अवसर पाएका छन् । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर, सुर्खेतमा दुईजना व्यवसायीले व्यवसाय सुरु गरेका छन् ।
विशेषगरी हुम्लामा उत्पादन हुने अन्नबाली र स्थानीय हस्तकलाका सामानको प्रवर्द्धन गर्न व्यवसायी लागिपरेका हुन् । हुम्ला चंखेली गाउँपालिकाका पूर्वअध्यक्ष धनलाल चौलागाईं औद्योगिक ग्रामले निर्माण गरेको तीनवटा सटरमा कुटानी पिसानीको मिलसहित व्यवसायमा लागेका छन् । चौडिल कुटानी पिसानी उद्योग, लघु औद्योगिक ग्राममा तीनवटा मेसिनसहित हुम्लाका जैविक उत्पादनलाई बिक्री गरिरहेका छन् ।
हुम्लामा उत्पादन हुने मार्सी चामल, कागुनो, चिनो, जौ, भटमास, लट्टे सिलाम, कोदो संकलन गरी सुर्खेतमा रहेको मिलमा कुटानी गरेर बिक्री गरिरहेका छन् । बेरोजगार युवालाई स्वदेशमा नै उत्पादन भएका वस्तुको बिक्री तथा प्रवर्द्धन गर्नसके नेपालमा नै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पूर्व गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंको छ । हुम्लामा उत्पादन हुने हरेक अन्नबाली जैविक रहेको र सोबाट उत्पादित अन्न औषधीय गुण भएका कारण पनि यसको महत्व अझ बढिरहेको चौलागाईं बताउँछन् ।
सरकारले अझ जैविक खानेकुराको प्रवर्द्धनका लागि सहुलियतका कार्यक्रम ल्याउन सके किसानले उत्पादन बढाउन सक्ने र आम्दानी लिनसक्ने अर्कोतर्फ उपभोक्ताको स्वास्थ्यमा समेत सुधार आउने भएकाले हुम्लाका अन्नबालीको महत्व बढ्दै गएको छ । सरकारले ढुवानी र सडक पूर्वाधारको विकास गर्न सकेमा सहज रूपमा हुम्लामा उत्पादित वस्तु र अन्नबाली सस्तो सुलभ हुने स्थानीय व्यापारीको छ । हाल प्रतिकिलो १० मा सुर्खेत ल्याउनु पर्ने भएका कारण पनि अन्नबालीमा केही लागत बढ्न गएको र महँगो हुने गरेको छ ।
आउने वर्षमा स्थानीय बालीको बीउ किसानलाई वितरण गर्ने र उत्पादित वस्तुको खरिदका लागि पहिले नै किसानसँग सम्झौता गर्ने गरी चौलागाईंले नयाँ योजना किसानलाई दिने भएका छन् । किसानलाई उत्पादित वस्तुको बिक्रीको सुनिश्चितता भएमा अझ बढी उत्पादन गर्नमा प्रेरणा जाग्ने चौलागाईंको विश्वास छ । त्यसैगरी वर्षौंदेखि स्थानीय हस्तकलाका सामान बुन्ने तालिमका प्रशिक्षकसमेत रहेका अदानचुलीका सुझाव ढकाल पनि व्यवसायका लागि सुर्खेत झरेका छन् ।
हुम्लाको दक्षिणमा रहेको ताँजाकोट र अदानचुलीमा उत्पादन हुने अल्लो प्रशोधन त्यसबाट बन्ने कपडाबाट जुत्ता, चप्पल, कोट, दौरा–सुरुवाल, टोपी, गलबन्दी, सल र अन्य कपडाको बुनाइको मेसिनसहित औद्योगिक ग्रामको सटरमा व्यवसाय गरिरहेका छन् । पेशामा लागेको करिब १३ वर्ष भयो सरकारी तवरबाट पहिलो पटक सानै भए पनि सहयोग हुँदा सुर्खेतमा प्रदेशस्तरीय व्यवसाय गर्न पाएकोमा ढकाल खुसी छन् ।
अल्लो र गाँजाको रेशाबाट बन्ने कपडा स्वस्थ र बलियो हुने भएकाले यसको प्रचारप्रसार गर्न सकेको खण्डमा हुम्लाका किसानले फाइदा लिनसक्ने देखिएको छ । व्यावसायिक रूपमा नै गाँजा र अल्लोको खेती नगरिएको भएता पनि हाल स्वत:स्फुर्त रूपमा जंगलमा उम्रने गरेको अल्लोको रेशाको खरिद ढकालले गरिरहेका छन् । उद्योगका लागि यो रेशा पर्याप्त नभएको भएता पनि यसको प्रवर्द्धनमा स्थानीय सरकारदेखि केन्द्रीय सरकारले बेलैमा ध्यान दिनुपर्ने उनको जोड छ ।
हाल अल्लो र गाँजाबाट बनेका कपडा विदेशीले मात्रै पहिरनमा मन पराउने भएको र यसको लागत पनि उच्च हुने भएकाले महँगो हुँदा स्वदेशी ग्राहकलाई लक्षित गरी उत्पादन बढाउन सकेको खण्डमा स्वदेशमा नै रोजगारी प्रशस्त सिर्जना हुने सम्भावना देखिएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आधुनिक मेसिनबाट बुनाईसम्बन्धी तालिम दिएका ढकालले धेरैलाई रोजगारीका लागि सीप प्रदान गरिसकेका छन् ।
सरकारी तवरबाट सञ्चालन हुने तालिम र अन्य उद्योगीलाई सहयोग हुने कार्यक्रमले वास्तविक उद्यमीलाई सहायता गर्न नसकेकोमा ढकालको दु:खेसो छ । हुम्लामा उत्पादन हुने हरेक वस्तु जैविक हुने र जैविक उत्पादनमा सरकारले सहयोग गर्न सकेको खण्डमा रोजगारी सिर्जना हुने, मुद्रा नेपालमा नै रहने र किसानको उत्पादनको मूल्य पाउने भएका कारण पनि हुम्लाका दुई युवा सुर्खेतमा हुम्ला के हो, हुम्लाका उत्पादनका विशेषता के हुन् भन्ने चिनाउन लागिपरेका छन् ।