मोबाइल नम्बर यथावत राखि सेवाप्रदायक छान्न पाइने

नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्ताले सेवा प्रदायक प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्नसकिने ‘नम्बर पोर्टेबिलिटी’सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ । यो सेवा सुरु भएपछि ग्लोबल सिस्टम फर मोबाइल (जीएसएम) प्रयोगकर्ताहरूले आफूले प्रयोग गरेको सिमकार्डबाटै आफुले चाहेको नेटवर्क स्वीच गर्न सकिने छ । अहिले प्राधिकरणले नम्बर पोर्टेबिलिटी लागू गर्न कार्यविधि तयार गरेको छ । अब प्राधिकरण सञ्चालक समितीकोे बोर्ड बैठकमा छलफल भइ थप प्रक्रिया अगाडि बढाइने भएको छ ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले नम्बर पोर्टेबिलिटी लागू गर्न सम्पुर्ण मापदण्ड पूरा गरी कार्यविधि तयार भइसकेको जानकारी दिए । सबै सेवा प्रदायक कम्पनीहरूलाई एउटै सिस्टममा ल्याउने, डाटावेस तयार गर्ने र रजिष्टरको कामका लागि अध्ययन भइसकेको छ । प्रवक्ता अर्यालले नम्बर पोर्टेबिलिटीका लागि सिस्टम खरिद गर्नुपर्ने भन्दै प्राविधिक तथा आर्थिक रूपमा दक्ष परामर्शदाता छनोट गरेको जानकारी दिए । ९० प्रतिशतभन्दा धेरै ग्राहक भइसकेपछि सामान्यतया नम्बर र्पोटेबिलिटी सम्बन्धमा नियामक निकायले चासो राख्छन् । विकसित देशमा धेरै अघिदेखि यो सिस्टम लागू भइसकेको अवस्थामा छिमेकी मुलुक भारतमा पनि ५ वर्षदेखी यस्तो सुविधा छ ।
नम्बर पोर्टेबिलिटी सिस्टम धेरै अपरेटर र धेरै ग्राहक भएका देशका लागि बढी उपयुक्त हुन्छ । सेवाको गुणस्तर, पहुँच र शुल्कका आधारमा ग्राहकले एउटै नम्बरबाट सेवा छनोट गर्न सक्छन् । झन्डै २ करोड ९० लाख जनसंख्या रहेको र अहिलेको अवस्थामा ९६ प्रतिशतमा मोबाइल सेवा पुगेको प्राधिकरणले जनाएको छ । प्राधिरकणले यसै आर्थिक वर्षको अन्त्यसम्म नम्बर पोर्टेबिलिटी लागू गर्ने जनाएको छ । नम्बर पोर्टेबिलिटी लागू हुँदा ग्राहकले आफुलाई चाहेअनुसार कम्पनी रोजेर महशुल र सेवाको गुणस्तर छनोट गर्न सक्छन् । राम्रो सेवा दिने कम्पनीमा धेरै ग्राहक जाने र न्यून गुणस्तरको कम्पनीमा ग्राहक घट्छन । यसले गर्दा कम्पनीहरूलाई गुणस्तर कामय गर्न र शुल्कमा प्रतिस्पर्धा गर्न चुनौती थपिनेछ । ग्राहकले भने चाहे अनुसार सेवा रोज्न पाउने भएकोे दोहोरो मोबाइल बोक्नुपर्दैन ।
पछिल्लो आधा दशकयता मोवाइल सेवा लिने ग्राहकको संख्या बढेको छ भने सेवा प्रदायक कम्पनीहरूले पनि यसको बजारीकरणका लागि नयाँनयाँ योजनाहरू सार्वजनिक गर्दे आएका छन् । नेपालमा सबै सेवा प्रदायकका ग्राहक मासिक ३ देखी ५ लाखसम्म थपिन्छन् । ठूला मोबाइल सेवा प्रदायक कम्पनीहरू एनसेल र नेपाल टेलिकमको अन्तर नेटवर्कमा हुने कल महँगो भएकोले पनि ग्राहकहरू दोहोरो सिमकार्ड लिन बाध्य भएका छन् । सहरी क्षेत्रमा अधिकांशले दुईवटा मोबाइल प्रयोग गर्ने प्रवृत्ति बढेकोले ग्राहक बढेप नि दुर्गम ग्रामीण क्षेत्रमा मोबाइल सेवा पुग्न अझै बाँकी छ । अन्तरनेटवर्क कल गर्दा आफ्नै नेटवर्कभन्दा बढी शुल्क लाग्नुका साथै गुणस्तरको समस्याले ग्राहक दोहोरो मोबाइल प्रयोग गर्न बाध्य भएका छन् । नम्बर पोर्टेबिलिटी सुविधा हुँदा एउटै सिमकार्डबाट ग्राहकले आफूले लिन चाहेको सेवा, गुणस्तर र शुल्क रोज्न सक्नेछन् । गुणस्तरकै कारण दुई÷तीनवटा मोवाइल बोक्नुपर्ने बाध्यता नम्बर पोर्टेबिलिटीले अन्त्य गर्नेछ ।