नेपालमै क्यान्सरको उपचार सम्भव छ «
Logo

नेपालमै क्यान्सरको उपचार सम्भव छ

डा. रोशन प्रजापति, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ

प्रत्येक वर्ष फेब्रुअरी ४ का दिन संसारभर विश्व क्यान्सर दिवस मनाइन्छ । यस दिन नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिन्छ । नेपालमा प्रत्येक वर्ष क्यान्सरका बिरामी बढिरहेका छन् । विश्व क्यान्सर दिवसको सन्दर्भमा कारोबारकर्मी मनोरञ्जन शर्माले भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापतिसँग गरेको कुराकानीको सम्पादित अंश ।

नेपालमा क्यान्सर रोगको अवस्था कस्तो छ ?
नेपालमा क्यान्सर रोगको कुरा गर्नु पर्दा यसै भन्न सकिने अवस्था छैन । तपाईंले अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप देखिहाल्नु भयो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी उपचारका लागि आउने गर्नु भएको छ । दिनहुँ यो रोगका बिरामी बढिरहेका छन् । बालबच्चादेखि वृद्धवृद्धासम्मका बिरामीमा यो रोग देखापर्ने गरेको छ । अब पनि समयमै सतर्कता अपनाइएन भने क्यान्सरले भयावह स्थिति आउन सक्छ ।

नेपालका अन्य कुन कुन अस्पतालमा क्यान्सरको उपचार हुन्छ ?
नेपालमा अहिले विशुद्ध क्यान्सरको उपचार हुने सरकारी अस्पतालमा भक्तपुर क्यान्सर अस्पताल भइहाल्यो । त्यसका साथै वीपी कोइराला क्यान्सर अस्पताल भरतपुर तथा निजी अस्पतालहरूमा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर, काठमाडौं क्यान्सर अस्पताल र झापामा समेत क्यान्सर अस्पताल सञ्चालनमा छ । काठमाडौं उपत्यकाका अन्य सरकारी अस्पताल, सामुदायिक अस्पताल र निजी अस्पतालमा पनि क्यान्सरको उपचार हुने गरेको छ । तर क्यान्सरको उपचारमात्र हुने दुई सरकारी र तीन निजी अस्पताल छन् ।

नेपालमा अहिले कस्ता प्रकृतिका क्यान्सर बिरामी बढी छन् ?
खासगरी महिलातर्फ भन्ने हो भने स्तन क्यान्सर र पुरुषमा फोक्सोको क्यान्सर बढी भएको पाइएको छ । भक्तपुर अस्पतालमा पनि यो यही दुई भागमा क्यान्सर भएका महिला पुरुष उपचारका लागि बढी आउने गर्नु भएको छ ।

नेपालमा क्यान्सरको उपचार सम्भव छैन भन्छन् नि ?
क्यान्सरका बिरामी र अभिभावकले विश्वास मान्नु हुन्न होला । पहिला पहिला नेपालमा उपचार सम्भव थिएन । देशमै क्यान्सर रोगको उपचार सम्भव छ । यो रोग देखिएपछि बिरामी आतिएर धेरै भारत जाने गर्नु हुन्छ । तर म भन्छु स्वदेशमै क्यान्सरको उपचार सम्भव छ ।

क्यान्सरको मुख्य उपचार विधि भनेको किमोथेरापी, रेडियोथेरापी तथा सर्जरी (शल्यक्रिया) हो, यो सबै विधि हाम्रै देशमा छ, हाम्रो अस्पतालमा पनि सर्जरीसहित किमो, रेडियोथेरापीको सेवा उपलब्ध छ । विदेशमा गए पनि उपचारको मुख्य विधि भनेकै यिनै हुन् । अन्य थेरापी पनि प्रयोगमा छन् तर बढी प्रयोग हुने यही नै हुन् । यो हाम्रो देशमा उपलब्ध छ । अहिले क्यान्सर रोगमा विज्ञता हासिल गरेका चिकित्सक, सर्जन हुनुहुन्छ त्यसैले म फेरि पनि भन्छु हाम्रो देशमा क्यान्सर रोगको उपचार सम्भव छ ।

क्यान्सरका बिरामी बढ्नुको कारण के होला ?
मुख्य कारण हाम्रो दैनिक जीवनशैली तथा अस्वाभाविक खानपान, हरियो तरकारीमा विषादीको प्रयोग बढी हो । हाम्रो जीवनशैली र खानपानका कारण क्यान्सरका बिरामी बढ्दै गएका छन् । त्यसैले हाम्रो जीवनशैली परिवर्तन गर्न खानपिनमा ध्यान दिनु जरुरी छ । तरकारी उत्पादनमा बढ्दो विषादी प्रयोग पनि एक हो । धुम्रपान, मध्यपान, मदिरापान अर्को पाटो हो । वातावरण प्रदूषण पनि हो । अर्को कुरा वंशाणुगत कारण पनि यो रोग हुनेगर्छ ।

खानपिनकै कारण भन्नाले ?
हामी मसालेदार, बढी चिल्लो, भुटेको, पोलेको मासु बढी प्रयोग गर्छौं । एउटै तेल कति पटक माछा मासु तार्न प्रयोग गर्छांै, मासु पोलेर, डढाएर खान्छौं, त्यो मात्रै नभई चुरोट बिँडी, अहिले हुक्काको प्रचलन अझ बढेको छ । मदिरापन पनि एक अंग भएको छ । विलाशिता जीवनशैली परिवर्तन गर्न जरुरी छ । खानपिन एक कारण हो ।

क्यान्सर न्यूनीकरणका लागि के गर्नुपर्छ ?
पहलो कुरा आफैंमा सचेत हुनु पर्‍यो । समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । महिला दिदीबहिनीले रोग व्यथा लुकाउने गर्नु हुन्छ । त्यसैले शंका लागेमा वा अस्वाभाविक परिवर्तन देखिए चिकित्सकको सम्पर्कमा जानुपर्छ । अहिले विभिन्न संघसंस्थाले बेलाबेलामा नि:शुल्क शिविर सञ्चालन गर्नु हुन्छ । त्यसमा स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

सबैभन्दा ठूलो कुरो आफैंमा सचेत हुनुपर्छ । अर्को कुरा रोग लागिहाले आतिनु हुँदैन, आत्मविश्वास, हिम्मत र मनोबल कायम राख्दै उपचारमा लागि आफ्नो दैनिकी अघि बढाउनुपर्छ । रोग लागिहाल्यो भनेर हिम्मत हार्नु हुँदैन, सुरुवाति अवस्थाको भए सहजै उपचार हुन्छ ।

सरकारी अस्पतालमा सरकारले के कस्तो सेवा सुविधा दिएको छ ?
सरकारी अस्पतालमा सरकारीस्तरबाट सुविधा बिरामीका लागि छ । विपन्न बिरामीका लागि संघीय सरकारले एक लाख रुपैयाँका साथै प्रदेश सरकारले ५० हजारदेखि दुई लाखसम्म उपचार खर्च उपलब्ध गराउने गरेका छन् । त्यसका साथै स्वास्थ्य बीमाको पनि सेवा उपलब्ध छ ।

तर बिरामी अस्पतालमा औषधि पाइँदैन भन्ने गुनासो गर्छन् नि ?
बिरामी तथा अभिभावकको गुनासो जायज हो । डाक्टर साब औषधि नै पाइएन भन्दै आउनु हुन्छ । राज्यले अस्पताललाई भुक्तान गर्नुपर्ने औषधिवापतको खर्च लामो समयदेखि रोकिँदा समस्या देखिएको हो । हाम्रो अस्पतालमा पनि ६–७ महिना भयो विपन्न कोष तथा स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचारमा आएका बिरामीले प्रयोग गरेको सेवा सुविधाको पैसा राज्यले दिएकै छैन । सरकारले नदिँदा अस्पतालले औषधि आयातकर्तालाई समयमा पैसा दिन सकेको छैन ।

त्यसैले अस्पतालमा औषधि नपाइने मुख्य कारण हो । सरकार अझ बढी जिम्मेवार हुनुपर्‍यो । अस्पतालमा उपचारका लागि आएका बिरामी औषधि खरिद गर्न बाहिर जानुपर्छ, बाहिर महँगो पर्छ । त्यसैमा यो रोगको औषधि महँगो छ । अझ बाहिर जानुपर्दा बिरामीका अभिभावक पनि निराश हुने गरेका छन् । सरकारले सरकारी अस्पतालबाट प्रवाह हुने सेवा सुविधा प्रभावकारी बनाउन यस्ता कुरामा बढी ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्