कोशी प्रदेशमा लगानी गर्न आह्वान
![](https://www.karobardaily.com/wp-content/uploads/2024/02/CNI-ko-photo-1.jpeg)
विराटनगर– नेपाल उद्योग परिसंघ (सिएनआई) राष्ट्रिय परिषद्को बैठकले कोशी प्रदेशमा लगानी गर्न आह्वान गर्ने निर्णय गरेको छ । राष्ट्रिय परिषद्को बैठकपछि पत्रकार सम्मेलनमार्फत लगानी गर्न आह्वान गरेको निर्णय सार्वजनिक गरिएको हो । सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले कोशी प्रदेशमा लगानीका लागि आह्वान गर्ने निर्णय गरेको जानकारी दिँदै लगानीका लागि प्रचुर सम्भावना भएको बताए ।
‘विश्वको सर्वोच्च शिखर सगरमाथामात्रै नभइ कञ्चनजंघा र मकालु हिमाल पनि यही प्रदेशमा अवस्थित छन्,’उनले भने,‘धार्मिक, सांस्कृतिक प्राकृतिकका साथै एग्रो टुरिजमको पनि धेरै सम्भावना छ ।’ उनले पहिलो पटक कोशी प्रदेशमा आयोजित राष्ट्रिय परिषद्को बैठकले देशको आर्थिक अवस्था, सरकार र नियामक निकायका नीति, आगामी बजेटमा संशोधन हुनुपर्ने विषयहरूका बारेमा पनि छलफल गरेको बताए ।
सिएनआई उपाध्यक्ष भीम घिमिरेले कालाबजारी, चोरी राष्ट्रघात गर्नेको पक्षमा सिएनआई नरहेको स्पष्ट पारे । तर, उनले अनुसन्धानै नगरी हठात् ढंगले उद्योगी व्यवसायीलाई पक्राउ गरे त्यसविरुद्वमा सिएनआई उत्रने चेतावनी दिए । उनले भने,‘गलत क्रियाकलापमा संलग्न उद्योगी व्यवसायीको संरक्षणमा सिएनआई लाग्दैन । तर पूर्वाग्रह राखेर कसैलाई फसाइन्छ भने हामी चुप लागेर बस्दैनौं ।’
सिएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले देशको आर्थिक अवस्था सुधारका लागि निजी क्षेत्रले प्रयास गरिरहेको भए पनि सरकारले निजी क्षेत्रलाई हतोत्साहित गरिरहेको आरोप लगाए । बिना प्रमाण आशंकाकै भरमा ठूला उद्योगीलाई थुन्ने काम सरकारले गरिरहेको सारडाको भनाइ थियो । सारडाले मिडियाबाजी गरेर वाहावाही कमाउनकै लागि सरकारले उद्योगी अरुण चौधरीलाई पक्राउ गरेको बताए ।
‘सरकारले सुन काण्डलगायत थुप्रै तस्करी, भ्रष्टाचार, अनियमितताका मुद्दालाई बेवास्ता गरेको छ,’ सारडाले भने,‘अनुसन्धान पूरा भएपछि दोषी भएमा पक्राउ गर्दा हुन्छ । तर पक्राउ गर्ने पछि निर्दोष साबित भएपछि छाड्ने प्रवृत्ति छ । यसले उद्योगी व्यवसायीलाई हतोत्साहित बनाएको छ ।’
स्टार्टअप इनोभेसनमा युवा आकर्षित
उद्योग संगठन मोरङले विगत तीन वर्षदेखि युवा उद्यमशीलता प्रवर्द्धनअन्तर्गत तेस्रो चरणमा सहभागी स्टार्टअपहरूसँग छलफल गरेको छ । युवा उद्यमशीलता प्रवर्द्धनको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा योगदान पुर्याउने उद्देश्यले उद्योग संगठनले सञ्चालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमअन्तर्गतका तेस्रो चरणमा सहभागी स्टार्टअपहरूले आफ्नो आइडियाको प्रस्तुति गरेका छन् ।
संगठनले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालनमा ल्याएको स्टार्टअप कार्यक्रमको माध्यमबाट युवालाई स्वदेशमै उद्यमशीलता विकासतर्फ अभिप्रेरित गर्नु रहेको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । नवीन व्यावसायिक अवधारणा भएका युवाहरूलाई लक्षित गरी सञ्चालित कार्यक्रमले उद्यमशीलता रुपान्तरणका लागि आवश्यक प्राविधिक एवं व्यावसायिक विकास सेवाहरू उपलब्ध गराइ वित्तीय व्यवस्थापनका लागि सहजीकरण गर्ने अध्यक्ष सुरानाले स्पष्ट पारे । उनले वर्तमान समयमा युवा पलायन सबै क्षेत्रका लागि चिन्ताको विषय भएको बताउँदै आर्थिक विकासका संवाहकका रूपमा रहेको यस वर्गलाई स्वदेशमै व्यावसायिक विकासको अवसर प्रदान गर्नु सबैको दायित्व भएको धारणा राखे ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले युवा उद्यमशीलता विकासका सन्दर्भमा महानगरपालिका सदैव हातेमालो गर्न तत्पर रहेको बताए । स्र्टाटअप कार्यक्रमअन्तर्गत तेस्रो चरणमा सहभागी भएका १८ स्टार्टअपमध्ये उत्कृष्ट तीनलाई महानगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले शून्यबाट सुरु गरेर शिखरसम्म पुग्न सफल विश्वका स्टार्टअपहरूको उदाहरण दिँदै युवाहरूलाई आफूमा निहित सीपको व्यावसायिक विकासका लागि सदैव दत्तचित भएर लाग्न सुझाव दिए ।
संगठनको स्टार्टअप कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले विश्वका उदीयमान स्टार्टअपहरूमा युवा वर्गको वर्चस्व रहेको बताए । उनले देशको आर्थिक समृद्धिमा युवा वर्गले नै अग्रसरता लिनुपर्ने धारणा राखे । उनले संगठनले युवा उद्यमशीलता विकासका लागि गरेको पहललाई सफल बनाउन सबैलाई आग्रह गरे । तेस्रो चरणमा सहभागी स्टार्टअपहरूलाई व्यावसायिक मोडलका रुपमा विकास गर्न बजार व्यवस्थापन, कर प्रशासन, मानव संशाधन व्यवस्थापनलगायतका विषयमा परामर्श प्रदान गरी वित्तीय स्रोत व्यवस्थापनका लागि एन्जल इन्भेष्टरमार्फत लगानी व्यवस्थापनमा सहयोग गरिने उनले बताए ।