सौर्यऊर्जाबाट १० मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडियो

बिर्तामोड– देशकै सबैभन्दा ठूलो सौर्य परियोजनाको रूपमा रहेको झापा इनर्जी प्रालिले १० मेगावाट सौर्यऊर्जा उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । झापाको पहिलो विद्युत उत्पादनगृह तथा निजी क्षेत्रको सबैभन्दा बढी क्षमताको सौर्यऊर्जा परियोजना झापा इनर्जी प्रालिले सोलार प्यानलमार्फत उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको शिवसताक्षी–४ मा रहेको बोलोचोक सबस्टेसनबाट नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।
उनले सोलार प्यानलमार्फत फुलफेजमा उत्पादित विद्युतको नमुना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइसकेको बताउँदै आगामी माघ २३ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सौर्य परियोजनाको रूपमा रहेको झापा इनर्जी प्रालिको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । ‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए ।
झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवासहितको सक्रियतामा झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बोलोचोकमा सञ्चालित परियोजना झापा इनर्जीको चार वर्षअघि २०७८ साल मंसिर २७ गते संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शिलान्यास गरेका थिए । झापा इनर्जीका अध्यक्ष लालप्रसाद साँवाले सौर्यऊर्जा परियोजनाका लागि झापा इनर्जी प्रालिले २१ बिगा १३ कठ्ठा जमिन खरिद र करिब ६ बिगा लिजमा लिएर २७ बिगा जमिनमा ८३ करोड लगानीमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको जानकारी दिए ।
माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीयको सेयर रहेको झापा इनर्जी प्रालिले सोलार प्यानलमार्फत उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडेको बताउँदै नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिने जानकारी दिए । आगामी १५ दिनसम्म सोलार प्यानलमार्फत विद्युत उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा जोडिरहने र परीक्षणकाल भएकाले सो अवधिमा निजी कम्पनीले उत्पादन गरेको विद्युतको कुनै शुल्क प्राधिकरणले तिर्नु नपर्ने जनाए ।
झापा इनर्जी प्रालि र नेपाल विद्युत प्राधिकरणबीच २०७८ मंसिर १२ गते विद्युत खरिद सम्झौता भएको र सम्झौताअनुसार झापा इनर्जी प्रालि परियोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा खरिद गर्ने उनको भनाइ छ । नेपालमा सौर्यऊर्जा उत्पादनको ११४ वर्षमा तीन हजार मेगावाटमात्र विद्युत उत्पादन भइरहेको बताउँदै उनले झापाको पहिलो विद्युत उत्पादनगृह तथा निजी क्षेत्रको सबैभन्दा बढी क्षमताको सौर्यऊर्जा परियोजना झापा इनर्जी प्रालिले नेपालको ऊर्जा क्षेत्रमा एउटा नयाँ आयाम थपेको दाबी गरे ।
नागरिकलाई उत्पादनसँग जोड्ने उद्देश्यले झापामा सौर्यऊर्जा परियोजना सञ्चालन गरिएको र ऊर्जालाई पर्यटनसँग जोड्नका लागि सौन्दर्यकरणको काम सुरु गरिएको उनले बताए । उनले झापा इनर्जी प्रालिले स्थापना गरेको सोलार प्यानलको १२ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको र हाल १० मेगावट विद्युत प्राधिकरणमा जोडिएको जानकारी दिए । झापा इनर्जी प्रालिले स्थापना गरेको सोलार प्यानलबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन गर्ने उनले दाबी गरे ।
नेपाल विद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले झापा इनर्जी प्रालिले १० मेगावाट सौर्यऊर्जा उत्पादन परीक्षण प्रसारणको ३५ दिनमा आठ लाख वाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनाए । उनले हाल ६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थप भए पनि मौषम सफा भएको समयमा १० मेगावाट उत्पादन हुने बताए । झापामा सौर्यऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला परियोजना सफलतापूर्वक सञ्चालन भइरहेको देखेपछि झापा इनर्जी प्रालि स्थापना गरी १० मेगावाट सौर्यऊर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको सञ्चालक रामचन्द्र उप्रेतीले बताए ।
सौर्य परियोजना रहेको झापा इनर्जी प्रालिको परियोजनास्थलबाट नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसन एक किलोमिटरको दूरीमा र उक्त सबस्टेसनसम्म विद्युत पुर्याउन झापा इनर्जी प्रालिले ९६० मिटर प्रसारणलाइन निर्माण गरेको झापा इनर्जी प्रालिका सञ्चालक नारायणप्रसाद पोखरेलले जानकारी दिए । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं, शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) लगायतले देशकै सबैभन्दा ठूलो सौर्य परियोजनाको रूपमा रहेको झापा इनर्जी प्रालिले १० मेगावाट सौर्यऊर्जा उत्पादन गरेकोमा खुशी व्यक्त गर्दै यसले झापाको गौरव बढाएको बताए ।