सुन्तला उत्पादनमा वृद्धि

दैलेख– दैलेखमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसम अनुकूलताको कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । यस वर्ष दैलेखमा ६ हजार ४ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा १ सय १५ मेट्रिक टन सुन्तला बढी उत्पादन भएको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले बताए । दैलेखका ११ वटै स्थानीय तहको ६१२ हेक्टर जमिनमा लगाइएको सुन्तलाले उत्पादन दिने गरेको पाण्डेको भनाइ छ । दैलेखमा हाल १ हजार ७ सय हेक्टर जमिनमा सुन्तला खेती गरिएको उनले जानकारी दिए ।
दैलेखमा पछिल्ला वर्षहरूमा सुन्तला उत्पादन बढ्दै गएकोले किसान आकर्षित हुन थालेका छन् । ‘मौसम अनुकूल र नयाँ बोटमा फल राम्रो लाग्ने गरेका कारण यस वर्ष सुन्तलाको उत्पादन बढेको सहजै अनुमान लगाउन सकिन्छ’ पाण्डेले भने, ‘आगामी वर्ष कृषकलाई थप प्रोत्साहन गर्दै सुन्तला उत्पादनमा थप वृद्धि गर्ने लक्ष्य रहेको छ ।’ जिल्लामा रहेका सुन्तला उत्पादन हुने पकेट क्षेत्रलाई व्यवस्थापन गरी कृषकलाई उत्पादनमूखी वनाउन यो वर्ष केही कार्यक्रम गर्ने योजना रहेको पाण्डे बताउँछन् ।
विगतमा सुन्तला खेतीमा रोग प्रकोपको कारण कृषकहरुको आकर्षण न्यून रहेको दुल्लु नगरपालिका– ६ का पुर्ना थापाले वताइन । ‘सुन्तलामा लाग्ने रोग पहिचान नहुँदा सुन्तला उत्पादनमा कमी आएको थियो,’ थापाले भनिन्, ‘अहिले प्राविधिक सहयोग तथा परामर्श गरी सुन्तला खेतीमा ध्यान दिँदा उत्पादन राम्रै भएको छ ।’ जिल्लाका दुई वटा स्थानीय तहमा सुन्तला जोन कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।
दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा सुन्तला जोन कार्यक्रम सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई सुर्खेतका कार्यालय प्रमुख पुष्पराज पौडेलले बताए । दुल्लु नगरपालिका भरी र भैरवीको ३ देखि ७ सम्म सुन्तला जोन कार्यक्रम सञ्चालनमा रहेको छ ।
मौसमले सुन्तलाको बजार बढ्यो
मौसम परिवर्तनका कारण यो वर्ष सुन्तलाको बजार बढेको छ । हिउँदमा पानी नपर्दा सुन्तला व्यापारीलाई राहत भएको छ । पानी नपरेर चिसो नबढ्दा सुन्तलाले विगतका वर्षमा भन्दा यो वर्ष बजार पाएको हो । गाउँबाट खरिद गरेर सदरमुकाममा बिक्रीका लागि ल्याइएका सुन्तला धमाधम बिक्री हुन थालेपछि गाउँमा खरिद गरेर ल्याउनेको सख्या बढेको छ ।
विगत वर्षहरुमा सुन्तलाले बजार नपाए पनि यो वर्ष भने बजार पाएको छ । दैनिक ४० देखि ५० जनासम्मले गाउँबाट सुन्तला डोकामा बोकेर दैलेख सदरमुकाममा बिक्री गर्न ल्याउने गरेका छन् । सदरमुकामबाट करिब ५ घन्टा टाढा छिउडिपुसाकोटबाट समेत दैनिक सुन्तला बिक्रीको लागि आउने गरेका छन् । दैलेखबाट सुर्खेत, नेपालगञ्ज, वर्दिया र बुटवललगायतका ठाउँहरुमा सुन्तला निर्यात हुने गर्छ ।