Logo

कर्णाली राजमार्ग सधैं धुलो र हिलो

जुम्ला– कर्णाली राजमार्ग दुई दशक बितिसक्दा पनि हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने अवस्थामै रहेको छ । सरकारको उपेक्षाको कारण कर्णाली राजमार्गको स्थितिमा सुधार आउन नसकेको हो । कर्णाली प्रदेशका पाँच हिमाली जिल्ला जुम्ला,हुम्ला, कालिकोट, डोल्पा र मुगुलाई प्रदेश राजधानीसँग जोड्ने एकमात्र राजमार्ग हो ।

२०६२ सालबाट सञ्चालनमा आएको कर्णाली राजमार्गमा नागरिकले ढुक्क भएर यात्रा गर्न सक्ने स्थिति रहेको छैन । साँघुरो एक लेनको सडक, साँघुरो मोड, खाल्डा खुल्डी, सडक निर्माण जस्ता कारणले ठूलो संख्यामा दुर्घटना हुन थालेपछि कर्णाली राजमार्ग मृत्यु मार्गका रूपमा परिणत हुन थालेको छ । राजमार्ग सञ्चालनको करिब दुई दशकको अवधिमा पाँच सय बढीको ज्यान गइसकेको छ भने एक हजार बढी घाइते भएका छन् ।

कहिले बाढी पहिरो, कहिले स्तरवृद्धिका नाममा नागरिकले यात्रामा सास्ती पाउँदै आएका छन् । सुर्खेतको बांगेसिमलदेखि जुम्ला खलंगाको जिरो प्वाइन्टसम्म २३२ किलोमिटर लामो कर्णाली राजमार्गमा भगवान भरोसामा यात्रा गर्नुपर्ने अवस्था छ । धेरै ढिलो भए पनि ६/७ घण्टामा पार गर्नु पर्ने दुरी १५/१६ घण्टा लगाएर मुस्किलले गन्तव्यमा पुग्नु पर्ने बाध्यता छ । यात्रु राजेन्द्र बुढाले हिउँदको धुलो र बर्खाको हिलोले कर्णालीमा यात्रा गर्न मुस्किल छ । हिउँदको धुलोले बिरामी नपर्ने मान्छे पनि बिरामी हुने गरेका छन् ।

त्यसमाथि थोत्रा गाडीको सास्ती उस्तै रहेको छ । जहिले यात्रा गरे पनि डोजर लगाइएको बाटो बनाएको भेटिन्छ । तर सुधार कहिले हुन सकेको छैन । आइतबार जुम्लादेखि नेपालगन्जसम्म यात्रा गरेका उनले बिहान ६ बजे गाडी चढेर साँझ ९ बजे नेपालगन्ज पुगेको बताए । कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्डको धेरै ठाउँमा साँघुरो सडकका कारण साइट दिने ठाउँसम्म नहुँदा चालकहरुको अडानले घण्टाैं रोकिने सम्मको अवस्था छ । धुलो धुवाँले गाडीको छतमा राखेका सामान मात्र नभइ मान्छे समेत नचिनिने अवस्था रहेको छ ।

उनले भने,‘कर्णाली राजमार्गमा यस्तो सास्तीपूर्ण यात्रा कहिले सम्म गर्ने ? किन राज्य अनुदार छ । हिउँदको समयमा सिमेन्टका काम गरेको देखिन्छ । त्यसको गुणस्तर र दिगो हुने नहुने के ग्यारेन्टी ? गुणस्तरमा ध्यान नदिँदा अघिल्लो वर्ष बनाउने पछिल्लो वर्ष भत्काउने परिपाटिको अन्त्य नभइ कर्णाली राजमार्गको सुधार हुन्न ।’

मृत्यु मार्गको परिचय पाएको कर्णाली राजमार्ग सुधारका लागि पहल र लगानी नभएको हैन । तर कनिका छराई बजेट अपेक्षित रुपमा राजमार्गको स्तरोन्नति हुन सकेको छैन । ०७९ असोज १९ देखि २५ सम्म भएको अविरल वर्षापछिको बाढी पहिरोले कर्णाली राजमार्ग पूर्ण रुपमा ध्वस्त भएको थियो । त्यतिबेला भएको क्षतिपछि राजमार्ग पुरानो अवस्थामा समेत आउन सकेको छैन ।

विभिन्न खण्डमा डबल कटिङ भइरहेकोले पनि धुलो धुवा बढी नै भइरहेको छ । कर्णाली राजमार्गको बर्सेनि मर्मत हुने गरे पनि हिउँदमा धुलो, बर्खामा हिलो, खाल्डा खुल्डि जस्ता सास्तीबाट मुक्ति पाउन नसकिएको चालक हर्क बुढाले बताए । विपरित दिशाबाट आएको गाडीलाई साईट दिनसम्म ठाउँ नहुँदा समस्या छ । उनले भने,‘कर्णाली राजमार्गमा गुड्ने गाडीको आम्दानीभन्दा खर्च बढी छ । ठाउँ ठाउँमा भएको खाल्डा खुल्डीको कारण गाडीको मोबिल पाइप फुट्ने गरी खोलामा हालिएका ढलान उक्किएर छड बाहिएर आएका छन् ।

योसँगै पट्टा भाचिने समस्या पनि कायमै रहेको छ । कर्णाली राजमार्गको सबैभन्दा धुलो र हिलो हुने क्षेत्र दैलेख खण्ड रहेको छ । दैलेखको पादुका खोला क्षेत्रको सडकमा धुलोले गुडिरहेका गाडी समेत देखिदैनन् । ‘दुई दशक वितिसक्दा पनि राजमार्गको हालतमा सुधार आएको छैन । राजमार्गअन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ ।

जुम्ला–कालिकोट खण्ड स्तरवृद्धि गरिने
कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्डको विभिन्न खण्डमा सडकको स्तरोन्नति भइरहेको छ । सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने दैखोलादेखि जुम्लासम्मको १०४ किमी दुरीको विभिन्न खण्डमा डबल कटिङ, नाला पर्खाला निर्माणलगायतका काम भइरहेका छन् । २०७९ असोज १९ देखि २५ सम्मको बाढी पहिरोले ध्वस्त भएको राजमार्गलाई व्यवस्थित बनाउन स्तरवृद्धिको काम थालिएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले कर्णाली राजमार्गको कालिकोट–जुम्ला खण्डको विभिन्न खण्डमा काम भइरहेको बताए । उनले भने,‘जुम्लाको तातोपानी, कुडारी, रारालिहि क्षेत्र तथा कालिकोटको पिलि, नयाँ बजारलगायतका ठाउँमा डबल कटिङको काम हुदैँ छ । बाढीले सडक क्षति ग्रष्त भएपछि स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ । तर प्रर्याप्त बजेट नहुँदा समस्या छ ।’

उनका अनुसार राजमार्गको सबैभन्दा अप्ठ्यारो तथा नागरिकलाई सास्ती दिने कालिकोटको सुनार खोलामा ढलान पिच भइरहेको छ । अन्य जोखिम युक्त ठाउँलाई मध्यनजर गर्दै स्तरवृद्धिको काम भइरहेको उनले बताए । नियमित आउने बजेटले दायित्व बाँकी रहेकै भुक्तानी दिन नपुग्ने, सांसदहरुले पहल गरे अनुसारको अतिरिक्त बजेट नआउँदा विकासे काम गर्न कठिनाइ भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र विष्टले कर्णाली राजमार्ग कर्णालीको लाइफ लाइन भनिए पनि राजमार्गको विस्तार र स्तरोन्नतिका लागि प्रर्याप्त बजेट नहुँदा काम गर्न समस्या भएको बताए । उनले भने,‘डिभिजन प्रमुखका हिसाबले मन्त्रालयदेखि विभाग धाइरहेको छु । कर्णाली राजमार्गसँगै अन्य ठूला सडक आयोजना पनि सञ्चालित छन् । भौगोलिक विकटता, मौसम प्रतिकुलता र स्रोत अभावबीच पनि काम गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्