आयात घट्दा वीरगन्ज भन्सारको लक्ष्य अपुग «

आयात घट्दा वीरगन्ज भन्सारको लक्ष्य अपुग

वीरगन्ज– चाडपर्व नजिकिँदै गर्दा आयातामा वृद्धि भएर भन्सार राजस्वमा पनि वृद्धि हुनुपर्नेमा नेपालको मुख्य प्रवेशद्वार वीरगन्ज नाकाबाट आयात घट्दा भन्सार राजस्व असुलीमा पनि कमी आएको छ । वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७६÷०७७ को दुई महिना साउन र भदौमा २५ अर्ब ७४ करोड १९ लाख ३३ हजार अर्थात ७५.५८ प्रतिशत राजस्व संकलन गरेको छ ।
चालू आर्थिक वर्षमा भन्सार विभागले १८ अर्ब ९१ करोड ८४ लाख ३१ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको छ । चालू आर्थिक वर्षको भदौसम्मका लागि भन्सार विभागले ३४ अर्ब ५ करोड ७१ लाख ६८ हजार रुपैयाँ संकलनको लक्ष्य दिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा भन्सार विभागले दिएको २५ अर्ब ७४ करोड ८ लाख ७६ हजार रुपैयाँको लक्ष्यमा वीरगन्ज भन्सार कार्यालयले २६ अर्ब ६४ करोड ५० लाख १४ हजार अर्थात १०३.५१ प्रतिशत राजस्व संकलन गरेको थियो ।
भन्सार राजस्वमा मुख्य योगदान दिने इन्धन, सवारी सधान, एमएस ब्लेट, औद्योगिक कच्चा पदार्थलगायतका सामानहरुको आयातमा कमी आएको र भन्सार विभागले दिएको लक्ष्यको वृद्धिदरले गर्दा राजस्व असुलीले लक्ष्य भेट्टाउन नसकेको भन्सार कार्यालयले जनाएको छ । राजस्व असुलीको लक्ष्यमा भएको वृद्धिले पनि यस वर्ष भन्सार कार्यालयले लक्ष्य अनुसारको असुली गर्न नसकेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले जानकारी दिए ।
वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको भदौ महिनामा लक्ष्यको ७८.१९ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको भदौ महिनामा भन्सार महशुल ५ अर्ब २७ करोड १८ लाख २४ हजार रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यको ६५.०८ प्रतिशत हो । त्यस्तै मुल्य अभिवृद्धि कर ७०.३० प्रतिशत अर्थात पाँच अर्ब ३८ करोड २३ लाख २४ हजार रुपैयाँ संकलन गरेको छ ।
अन्तःशुल्क दुईअर्ब ६५ करोड ११ लाख २६ हजार अर्थात लक्ष्यको ८३.८७ प्रतिशत र पूर्वाधार कर तथा स्वास्थ्य जोखिम कर गरी कूल १४ अर्ब ७९ करोड, १४ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले जानकारी दिए । वीरगन्ज भन्सार कार्यालयको राजस्व असुलीको अवस्था हेर्दा गत वर्षको लक्ष्य भन्दा पनि यस वर्ष भदौ महिनामा लक्ष्य अपुग भएको छ ।
गत वर्ष भदौ महिनाको सोही अवधिमा वीरगन्ज भन्सार कार्यालयले १०२.१७ प्रतिशत अर्थात १४ अर्ब २ करोड ६२ लाख २३ हजार राजस्व संकलन गरेको थियो । गत वर्ष विभागले वीरगन्ज भन्सार कार्यालयलाई एक खर्ब १३ अर्ब ७२ करोड ८४ लाख ६७ हजारको लक्ष्य दिएको थियो । आयात घट्नुमा सरकारले चालू आर्थिक वर्षदेखि ल्याएको नयाँ कर नीति पनि मुख्य कारण रहेको उद्योगी व्यवसायीहरुको भनाई छ । दुई तिहाइको सरकारले लिएको आर्थिक नीतिका कारणले उद्योगी व्यावसायीहरुमा व्यापार व्यावसाय गर्ने उत्साह कम हुँदा आयात घटेको र यसले भन्सार राजस्व असुलीमा पनि प्रभाव परेको उनीहरुको धारणा छ ।
सरकारले ल्याएको नयाँ श्रम ऐन, सामाजिक सुरक्षा ऐनले गर्दा उद्योग सञ्चालनमा अवरोध सृजना भई कच्चा पदार्थहरुको आयात घट्न गइ भन्सार राजस्व पनि घटेको हो । भन्सार राजस्वमा मुख्य योगदान दिने वस्तुहरुको आयात नै घटेपछि स्वभाविक रुपमा भन्सार राजस्व पनि घट्ने वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्